आदर्श सञ्चार, मुस्ताङ
गण्डकी प्रदेशस्तरीय तीन दिने विपद् प्रतिकार्य अभ्यास ‘हातेमालो २०८२’ मुस्ताङमा सकिएको छ । विपद् प्रतिकार्य क्षमताको परीक्षण तथा सुदृढीकरण गर्ने उद्देश्य राखिएको उक्त अभ्यास गण्डकी प्रदेश सरकार, सुरक्षा निकाय, सरोकारवाला संघसंस्थाहरू तथा जनस्वास्थ्यका विज्ञहरूको समन्वयमा संचालन गरिएको थियो । जेठ १५ गते शुरु भएर १७ गते सकिएको उक्त प्रतिकार्य अभ्यासले मुस्ताङमा सकारात्मक प्रभार पारेको बताइएको छ ।
मुस्ताङको कठिन भौगोलिक क्षेत्रमा आयोजित यो कार्यक्रमले उच्च हिमाली क्षेत्रमा विपद् व्यवस्थापनको नयाँ आयाम स्थापित गरेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालको भनाइ छ । कार्यक्रमको पहिलो दिन नेपाली सेनाका स्वास्थ्य अधिकृत लेफ्टिनेन्ट डा.सन्देश अधिकारीले उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्यामाथि प्रकाश पार्नुभएको थियो । उहाँले एक्यूट माउन्टेन सिकनेस, हाई अल्टिच्युड सेरेब्रल एडिमा, हाई अल्टिच्युड पल्मोनरी एडिमा, स्नो ब्लाइन्डनेस, हाइपोथर्मिया जस्ता अवस्थाहरूको लक्षण, उपचार र रोकथामका उपायहरूबारे विस्तृत जानकारी दिनुभएको थियो ।
दोस्रो दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूले शारीरिक अभ्यास र विशेष डेमो प्रस्तुति गरेका थिए । बाढी, पहिरो र उच्च भू–भागमा हुने विपद् व्यवस्थापनका लागि उद्धार कार्यको अभ्यास प्रस्तुत गरिएको थियो । टोलीले पहिरो, हिमाली कठिनाइ र अप्ठ्यारो भूभागबाट उद्धार कसरी गर्ने भन्ने विषयमा प्रत्यक्ष अभ्यासका साथ रणनीति र आधुनिक उपकरणको प्रयोग गरिएको थियो ।
तेस्रो दिनमा विमान दुर्घटना र हिमपहिरो भएको खण्डमा उद्धार गर्ने अभ्यास गरिएको थियो । सुरक्षाकर्मीहरूले विमान दुर्घटनामा परेका यात्रुहरूको उद्धार कसरी गरिन्छ भन्ने वास्तविकतालाई झल्काउने अभ्यास प्रस्तुत गरेका थिए ।
जिल्ला प्रशासन कार्यलय मुस्ताङ, नेपाली सेना, प्रहरी, एपीएफ, रेडक्रस, स्वास्थ्यकर्मी र सम्बन्धित सरोकारवाला निकाएहरूको संयुक्त प्रयासले विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोण विकास गरेको स्थानीयको भनाइ छ ।
मुस्ताङको अनुभवलाई अन्य उच्च हिमाली क्षेत्रमा विस्तार गरेमा राम्रो हुने प्रजिअ भुसालको भनाइ छ । यस्तो अभ्यासे गण्डकी प्रदेशको विपद् व्यवस्थापन क्षेत्रमा लामो समयसम्म सहज हुने अपेक्षा लिइएको छ ।