आदर्श सञ्चार, पोखरा
क्षत्री समाज नेपाल कास्कीले विश्व बुबाआमा दिवसको अवसरमा २६ जना जेष्ठ नागरिकलाई सम्मान तथा घुम्ति बैठक सम्पन्न गरेको छ । समाजले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका८० वर्ष माथि जेष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो । मङकी हिल, लाहाचोक ४ मा आयोजना गरिएको कार्यक्रममा ८२ वर्षिय डम्बर बहादुर घर्तीलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । घर्ती समाजका सो गाउँपालिकाका पूर्व अध्यक्ष हुनुहुन्छ ।
घर्ती सहित २६ जना जेष्ठ नागरिकलाई समाजका केन्द्रिय महासचिव कृष्ण बहादुर थापा, प्रदेशका पदाधिकारी, कास्की अध्यक्ष दिल बहादुर क्षत्री लगायतले दोसल्ला ओढाई सम्मान प्रदान गरेर सम्मान गर्नु भएको थियो । कार्यक्रममा समाजका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाजको कास्की शाखाले गाउँपालिका आएर यहाँका जेष्ठ नागरिकलाई सम्मान गर्नु र आफ्नो घुम्ति बैठक आयोजना गर्नु एक सह्रानिय कार्य गरेको बताउनु भयो । प्रमुख अतिथिको चयन तथा जिउँदा भगवान स्वरुप जेष्ठ नागरिकलाई उहाँहरुकै थातथलोमा सम्मान गर्न पाउँदा हर्ष विभोर भएको बताउनु भयो ।
सो अवसरमा महासचिव थापाले समाज अहिले गाउँ, वडा, गाउँपालिका, जिल्ला, प्रदेश तथा प्रवासमा पनि संगठनका काममा लागिरहेको बताउनु भयो । उहाँले राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि क्षत्रीहरुको एकतामा जोड दिनुभयो । उहाँले सरकारसँगका ६ वटा मागहरु रहिरहेका र ती मागमा अडिग रहेको बताउनु भयो । राष्ट्रका माग भएकोले छिट्टै सरकारसंग कुराकानी गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश लेखा समिति अध्यक्ष गणेश बहादुर के.सी, चेत बहादुर कार्की, जिल्ला सचिवालय सदस्य तथा कार्यक्रमका व्यवस्थापक राम बहादुर क्षत्री, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष शंकर कार्की, महानगर अध्यक्ष कृष्ण थापा लगायतले गाउँ, टोल, जिल्ला, प्रदेश, केन्द्र तथा विदेशसम्म क्षत्रीहरुबीचको मजबुत एकतामा जोड दिन्भयो । समाजका कास्की अध्यक्ष दिल बहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सन्दिप थापाको स्वागत सहित योग अभ्यास र उपाध्यक्ष अर्चना बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।