मन कुमारी केसी, बागलुङ
जिल्ला समन्वय समिति बागलुङले जिल्ला सभाको चौँथो बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार सम्पन्न जिल्ला सभाले गरेका विभिन्न २४ वटा निर्णयहरु बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो ।
बैठकका निर्णयहरु सार्वजनिक गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले ढोरपाटन शिकार आरक्षबाट विभिन्न शिर्षकमा संकलन भैरहेको राजश्वको केही प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई उपलब्ध गराउनका लागि सम्बन्धीत निकायमा लेखि पठाउने निर्णय गरिएको बताउनु भयो ।
उहाँले अन्तर स्थानीय तह समन्वय बैठक, प्रदेश सरकारबाट हुने काज सरुवा, खानीजन्य पदार्थको उत्खनन्, संकलन र विक्रि वितरण, नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्रि वितरण, स्थानीय तहका आधारभुत अस्पताल सञ्चालन र व्यवस्थापन, उत्तरगंगा जलासयुक्त विद्युत आयोजना, काठेखोला अक्षते गलकोट सुरुङमार्ग, जिल्लामा सञ्चालित विभिन्न आयोजनामा भएको ढिलासुस्ती, वनसम्बन्धी कानुन, उपभोत्ता उपभोग करमा एकरुपता, विपद व्यवस्थापन, सडक सुचारु, विद्यालय सुधार, आन्तरिक आय वृद्धि, धार्मिक पर्यटन, सन्तुलन तथा समानुपातिक विकास, गैरकानुनी व्यापार बन्द, सिमा विवाद, यातायातको भाडादर कार्यान्वयन र स्थानीय तहलाई सहयोग र समन्वय गर्ने सम्बन्धमा गरिएका विविध निर्णयहरु गरिएको बताउनु भयो ।
गण्डकी प्रदेश सरकारले स्थानीय तहका कर्मचारीलाई साविक स्थानीय तहमा पदाधिकार रहने गरि काज सरुवा गर्दा साविक स्थानीय तहले स्थायी÷अस्थायी रुपमा पदपूर्ती गर्न नपाउदा कर्मचारी अभाव भएर कार्य सम्पादनमा बाधा पुगेको भन्दै थापाले आगामी दिनमा पद रिक्त रहने गरि मात्र कर्मचारी सरुवाको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको बताउनु भयो ।
पत्रकार सम्मेलन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्षता तथा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।