खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्वत समाज कतारलाई

आदर्श सञ्चार, दोहा कतार
बक्र इद (इद–उल–अज्हा) को अवसरमा कतारमा आयोजना गरिएको ‘अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता’को उपाधि पर्वत समाज कतारले जितेको छ । रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारको आयोजना र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको समन्वयमा सम्पन्न प्रतियोगितामा आयोजक रोयल नेपाल युथलाई पराजित गर्दै पर्वत समाज कतारले उपाधि जितेको हो ।

योसँगै कतारमा आयोजना भएका दुई ठुला भलिवल प्रतियोगिताको उपाधि पवर्त समाज कतारले आफ्नो भागमा पारेको छ । २८ टिमको सहभागीता रहेको प्रतियोगितामा स्याङ्जा सहयोग समाज कतार तीतृय र कर्णाली प्रदेश समन्वय परिषद कतार सान्तवना भएका छन् । विजेताको उपाधी उचालेको पर्वत समाज कतारले करिब पौने २ लाख नेपाली रुपैयाँ (५ हजार कतारी रियाल) प्राप्त गरेको छ । तेसैगरी द्वितीय भएको आयोजक रोयल नेपाल यूथले ३ हजार रियल, तृतीय भएको स्याङ्जा सहयोग समाजले १५ सय रियल र सान्तवना भएको कर्णाली प्रदेश समन्वय परिषद कतारले ५ सय रियल सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजयी टिमलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट र नेपाल भलिवल संघका केन्द्रिय सदस्य आँचल सिंह ठकुरीले नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले अनाथ बालबालिकाको सहयोगका लागि आयोजना गरिएको भलिवल प्रतियोगिताले परदेशमा रहेका नेपालीको शिर सधै उचो रहने बताउनु भएको थियो । उहाँले समाजिक र रचनात्मक कार्यक्रमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले सधै सहयोग गर्ने बताउनु भयो ।

पवित्र समाज नेपालमा आश्रय लिएर बसेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यले भलिवल प्रतियोगिताको आयोजना गरिएको रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारका अध्यक्ष केशु मल्ल ठकुरीले जानकारी दिनुभयो ।

स्याङ्जा सहयोग समाजबाट सहभागी भएका गण्डकी प्रदेशका क्याप्टेन सन्जु विक्रम शाह प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । त्यसैगरी आयेजकका टिमका आशिष श्रेष्ठ उत्कृष्ट इस्पाइकर, महेन्द्र चौधरी उत्कृष्ट बलक्कर र पर्वत समाज कतारका अस्मित मल्ल उत्कृष्ट लिब्रो भएका छन् ।

यो पनि पढ्नुहोस्