निसीखोलका बालबाविकास सहजकर्ताका लागि क्षमता विकास तालिम

आदर्श सञ्चार, बागलुङ
बागलुङको निसीखोलामा प्रारम्भिक तहका बालविकास सहजकर्ताका लागि दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । निसिखोला गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले बालविकास सहजकर्तालाई अब्बल बनाउनका लागि तालिम संचालन गरेको छ ।

तालिमको उद्घाटन गर्दै निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरि रहेको बताउनुभयो । समय सुहाउदो शिक्षा प्रदान गर्नका निम्ति सहजकर्ताले आफ्नो क्षमता अभिवृद्धि गर्नु पर्ने उहाँले बताउनुभयो । सहजकर्ता सक्षम भएपछि मात्रै बालबालिकाले सही रुपमा शिक्षा हाँसिल गर्न सक्ने उहाँको भनाइ थियो ।

गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले शैक्षिक गुणस्तर बढाउनका तल्लो तहबाटै सुरुवात गर्ने बताउनुभयो । बालबालिकाले तल्लो कक्षाहरुमा राम्रो शिक्षा ग्रहण गरेपछि माथिल्लो तहमा उनीहरुको क्षमताको विकास हुने उहाँको भनाइ छ ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले तालिममा सिकेका विषयलाई व्यवहारमा लागु गरेर बालबालिकालाई सिकाउनु पर्नेमा जोड दिनुभयो । आधुनिक प्रबिधिसँग नयाँ–नयाँ विषयवस्तुसँग बालविकास सहजकर्ताहरु अपडेट हुनु पर्ने उहाँको भनाइ थियो ।

शैक्षिक तालिम केन्द्र तनहुँका कालिका सापकोटा र निसीखोला गाउँपालिकाका शिक्षा प्रमुख विष्णु न्यौपानेले तालिमको सहजीकरण थर्नु भएको थियो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुविर विक,  ५२ जना बालविकास सहजकर्ता लगायतकाे सहभागिता रहेकाे थियाे । सामाजिक विकास समितिका संयोजक चन्द्रसिंह रामजालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिमका सहभागीहरुले सिकाई प्रभावकारी भएको भन्दै त्यसलाई व्यवहारमा लागु गरि प्रयोगात्मक सामग्री निर्माण गरेर बालबालिकाको मनोवैज्ञानिक बुझेर शिक्षण गर्ने प्रतिबद्धता जनाए ।

 

यो पनि पढ्नुहोस्