आदर्श सञ्चार, म्याग्दी
बेनीमा एक कार्यक्रमका बीच सात दिनसम्म विविध कार्यक्रमका साथ मनाइएको ट्राफिक सप्ताहको समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा गत २५ जेठदेखि सुरु भएको ट्राफिक सप्ताह शनिबार सम्पन्न भएको हो ।
ट्राफिक सप्ताहको समिक्षा तथा समापन समारोहमा सहभागीहरुले ट्राफिकको काम तथा उनीहरुले सुधार गर्नुपर्ने विषय वस्तु जानकारी गराएका थिए । ट्राफिक सप्ताहको अवसरमा सात दिनसम्म विविध कार्यक्रमहरुको अयोजना गरेको ट्राफिक प्रहरीका वरिष्ठ सइ राजकुमार केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सप्ताहकै अवसरमा चालक तथा सहचालकको स्वास्थ्य परिक्षण, रक्तदान तथा जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
समापन समारोहमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, नेपाली कांग्रेसका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, एमाले अध्यक्ष बालकृष्ण सुवेदी, नेकपा माओवादीका शेरबहादुर केसी, नेकपा एकीकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा, राप्रपाका सचिव देवेन्द्र घिमिरे लगायतले बोल्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी सूर्यबहादुर थापालगायतले आफ्नो धारणा राख्नु भएको थियो ।