आदर्श सञ्चार, बागलुङ
कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले संस्थाको १९ औँ स्थापना दिवसका अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ स्थित सहिद स्मृति पार्कको सरसफाइ गरेर स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष हिरामणी उपाध्यायले जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा आयोजना गरिएको सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले सहकारीको उद्देश्य अनुरुप बहुउद्देश्यीय काम गर्दै आएको कमर्शियल सहकारीलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
देशकै सिंगो सहकारी अभियानमा आक्रमण भइरहेको समयमा कमर्शियल जस्ता सहकारीको नीति विधि र सिद्धान्त अनुसार चलेका सहकारीका कारण आम सर्वसाधारणमा आशा जगाउने उहाँको भनाई थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयबहादुर क्षत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्य मिलेर सहिद स्मृति पार्कको वरिपरि रहेका सिसा, पानीका बोत्तल, पलाष्टिक, घाँस, बुट्यान र पोखरीमा रहको फोहोर सफा गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षता तथा सचिव टेकबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।