स्याङ्जाको चापाकोटमा सहकारी अभिमुखीकरण गोष्ठी

आदर्श सञ्चार, बागलुङ
सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा स्याङ्जाको चापाकोट नगरपालिकामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयक एकदिने अभिमुखीकरण गोष्ठी हालै सम्पन्न भएको छ । चापाकोट नगरपालिका र जिल्ला सहकारी संघ लिमिटेड स्याङ्जाको समन्वयमा सम्पन्न भएको गोष्ठीको उद्घाटन चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाडले गर्नु भएको थियो ।

गोष्ठी उद्घाटन पछि बोल्दै प्रमुख अतिथि खाडले प्रचलित सहकारी सम्बन्धी नियम कानुन बमोजिम सहकारी संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख खाडले नगरपालिका क्षेत्राधिकारिभत्र सहकारी क्षेत्रमा कुनै समस्या आएमा समाधानका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले सहकारीमा संलग्न शेयर सदस्य देखि सञ्चालक, कर्मचारी सक्रिय भएर काम गर्नुपर्ने बताउनुभयो ।

चापाकोट नगरपालिका, वडा नं.१ का वडाअध्यक्ष भूपराज वस्तीले सहकारी संस्था नियम कानुन र विनियम अनुसार सञ्चालन भएमा सहकारीको उद्देश्यका साथै शेयर सदस्यको आकांक्षा र आवश्यकता पूरा हुनसक्ने बताउनुभयो ।

सहकारीका सञ्चालक सबै भन्दा बढी जिम्मेवार हुनु पर्दछ, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले भन्नुभयो– अहिलेको अवस्थामा सहकारीले सहकारी संस्कार विकास गर्दै संस्थागत कमजोरी हटाउने, सुधार गर्ने र अगाडि बढ्ने हो न कि आत्तिने, भाग्ने र जिम्मेबारीबाट पन्छिने होइन । स्याङ्जा जिल्लाभर विभिन्न प्रकृतिका ४८४ वटा सहकारी संघ संस्था रहेकोमा निष्क्रिय सहकारीको संख्या धेरै रहेकाले अद्यावधिक गरी सञ्चालन गर्न अनुरोध गर्दै अध्यक्ष पौडेलले नियमनकारी निकायले पनि राम्ररी नियमन अनुगमन गर्नुपर्ने र सहकारीलाई निर्देशन दिई सुधार र सुदृढीकरण गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

सहकारी रजिष्ट्रारको कार्यालय, पोखराका रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको गोष्ठीमा स्याङ्जा जिल्लाका चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाका विभिन्न सहकारी संस्थाका ८० जना पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

रजिष्ट्रार रिजाल र शाखा अधिकृत चोलाकान्त वाग्लेले सहकारी सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८१, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट हालै जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन शाखा अधिकृत ईश्वरी ढकालले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापकीय सहजीकरण नायब सुब्बा सूर्य तिवारीले गर्नुभएको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको नियमन क्षेत्राधिकार अन्तर्गत ९०८ वटा सहकारी संघ संस्था कायम रहेकोमा हालसम्म ५६७ वटा सहकारी संघ संस्था कार्यालयमा अद्यावधिक भएका छन् भने निष्क्रिय सहकारी ३४१ रहेका छन् । कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानमा १५ वटा तालिम र १९ वटा अन्तक्र्रिया अभिमुखीकरण गोष्ठी सम्पन्न गरिसकेको छ भने ९४ वटा सहकारी संस्थाको नियमन अनुगमन र ८ वटा सहकारी संस्थाको प्रारम्भिक छानबिन समेत गरिसकेको छ ।

यो पनि पढ्नुहोस्