अन्नपूर्ण गाउँपालिकाको विकास बजेट खर्च २० प्रतिशत मात्रै !

आदर्श सञ्चार, म्याग्दी
चालु आर्थिक वर्षको ११ महिनामा अन्नपूर्ण गाउँपालिकामा विकास बजेट २० प्रतिशत मात्रै खर्च भएको छ । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो, कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त जानकारी गराइएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा भएको सार्वजनिक सुनुवाइमा कुल ५४ करोड ८४ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा जेठ महिनासम्म २६ करोड २४ लाख ६४ हजार तीनसय ४७ रुपैयाँ ६७ पैसा अर्थात् ४७ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको छ । चालु आवमा विनियोजितमध्ये २८ करोड ५९ लाख ७८ हजार छ सय ५२ रुपैयाँ ३३ पैसा मौज्दात रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलका अनुसार चालुतर्फ ३४ करोड ९२ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २२ करोड २२ लाख ८९ हजार दुईसय ५० रुपैयाँ २२ पैसा अर्थात् ६३ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ कुल १९ करोड ९१ लाख ५३ हजार रुपैयाँमा हालसम्म चार करोड एकलाख ७५ हजार ९७ रुपैयाँ ४५ पैसा अर्थात् २० दशमलव १७ प्रतिशत खर्च भएको छ ।

चालु आवमा अन्नपूर्णमा जम्मा १ सय ४० वटा योजनाहरु रहेकोमा उपभोक्ता समितिबाट १ सय १० वटा र ठेक्कामार्फत १९ वटा योजनाहरुको काम भएकोमा ११ वटा योजनाको सम्झौता हुन बाँकी छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले खेतीयोग्य तर बाँझो जमिनमा कृषि, फलफुल, जडिबुटी र तरकारी खेतीका लागि कृषक समूहलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले जलविद्युत आयोजना निर्माणको क्रममा पानी सुकाउन नपाइने र स्थानीयलाई आयोजनामा शेयर हाल्ने वातावरण निर्माणका लागि गाउँपालिकामार्फत पहल गरिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्