बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का

आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले महिलालाई आत्मनिर्भर बनाउन, उद्यमी र व्यवसायी बनाउन नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताउनुु भएको छ ।  सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरण अन्तर्गत गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले महिलाको सुरक्षा, स्वास्थ्य, शिक्षा, आयआर्जन र जीवनयापनमा समेत सहज होस भनेर नगरपालिकाले नीति बनाएर योजना र कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताउनु भएको थियो ।

एडवान नेपाल, टेवा र युएन वूमेनको संयुक्त आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ दिदैं उपमेयर खड्काले महिलाका हरेक समस्या र माग प्रति आफु सधैँ सचेत र सकारात्मक रहेको भन्दै प्रश्न गर्न र अधिकारको माग गर्न तत्पर हुनु पर्ने बताउनु भएको थियो ।

टेवाले विभिन्न सरोकारवालाको सहयोगमा देशका २१ वटा जिल्लाका १ हजार भन्दा बढी महिलासँग ‘सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरण’ परियोजना मार्फत काम गरिरहेको छ । सोही परियोजनाले बागलुङ नगरपालिकाको वडा नम्बर ३ र ७ का दलित महिलासँग उनिहरुको क्षमता विकार, नेतृत्व विकास, सीप विकास, आयआर्जनसँगै उद्यमी बनाउनका लागि समेत काम गरिरहेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा टेवाका कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले परियोजना, परियोजनाको उद्देश्य र यसको प्रभावकारिताका बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा जालोमा आवद्ध मञ्जु परियार, राधा विक, सरिता किसान, तुुलसी विक, कल्पना परियार, नर बहादुर परियार र जेनिसा परियारले प्रश्न गर्नु भएको थियो । महिलाहरूलाई सशक्त बनाउन नगरपालिका र वडाले सञ्चालन गरेका कार्यक्रम, उद्यम गर्न चाहाने महिलाका लागि अनुदान र सहुलियत कर्जाको व्यवस्था भए नभएको, खानेपानी, सरसफाई, र सुरक्षित शौचालयको व्यवस्था भए नभएको र बालविवाह रोक्न नगरले गरेका प्रयास लगाएतका प्रश्न गरेका थिए ।

सहभागीका प्रश्नको जवाफ सहित उपप्रमुख खड्काले आगामी दिनमा समेत महिलाकै हकहितका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङको महिला तथा बालबालिका शाखाका अर्जुन विकले प्रहरीले चालु आर्थिक वर्षमा महिला तथा बालबालिकाको सुरक्षा, शान्ति र सुव्यवस्थाका लागि गरेका सचेतनामुलक कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले बलात्कार, बलात्कार प्रयास, घरेलु हिंसा, बालविवाह र बहुविवाहका उजुरी माथी कार्यालयले गरेको कानुनी कारबाही र प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा भूमी आयोजका सदस्य लक्ष्मी बोहरा, बागलुङ नगरपालिका वडा नम्बर ३ का सदस्य नगेन्द्र केसीले बोल्नु भएको थियो । एडवान नेपालका अध्यक्ष विन्दु थापा परियारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्