आदर्श सञ्चार, म्याग्दी
म्याग्दीमा चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ४१ प्रतिशत भएको छ । प्रदेश तथा संघतर्फको कुल विकास खर्च एक अर्ब नौ करोड ३५ लाख ११ हजार मध्ये ४५ करोड ७८ लाख ६१ हजार पाँच सय ९४ रुपैयाँ अर्थात् ४१ दशमलव ८७ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा संघ सरकार तर्फको विकास बजेट खर्च ४२ दशमलव ५८ प्रतिशत भएको छ । असारको २५ गते भन्दा पछाडी कुनै पनि सरकरी भुक्तानी हुँदैनन् त्यसैले त्यस दिन भित्र भुक्तानी गर्न मिल्ने गरी करिब २० दिन काम गरेर ६० प्रतिशत रकम खर्च गर्नु पर्ने अवस्था देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षमा म्याग्दी जिल्लाको विकास बजेट २८ करोड ४८ लाख ९६ हजार रहेको छ ।
उक्त रकम मध्ये हालसम्म १२ करोड १३ लाख १८ हजार नौ सय २३ रुपैयाँ अर्थात् ४२ दशमलव ५८ प्रतिशत रकम खर्च भएको छ । चालु खर्च भने हालसम्मको अवस्था हेर्दा सन्तोषजनक मान्न सकिने उहाँको भनाई छ । चालु तर्फ भने तीन अर्ब ३८ करोड ३ लाख ६० हजार छ सय पाँच रुपैयाँ मध्ये दुई अर्व ७८ करोड ८९ लाख ७६ हजार आठ सय ३१ रुपैयाँ अर्थात् ८२ दशमलव ५१ प्रतिशत खर्च भएको छ ।
संघ सरकारको मात्रै नभएर प्रदेश सरकार तर्फको बजेटको अवस्था पनि उस्तै देखिएको कोलेनिकाले उपलब्ध गराएको रेकर्डले देखाउँछ । चालु तर्फ प्रदेशको बजेट ४८ करोड ९९ लाख २२ हजार रहेकोमा २९ करोड ५८ लाख ६१ हजार तीन सय ३८ रुपैयाँ अर्थात् ६० दशमलव ३९ प्रतिशत खर्च भएको छ । जिल्लामा प्रदेशबाट आएको विकास बजेटको खर्च भने अहिले सम्म सन्तोषजनक हुन सकेको छैन ।
प्रदेशबाट जिल्लाको विकास बजेट ८० करोड ८६ लाख १५ हजार रुपैयाँ रहेकोमा हालसम्म ४१ दशमलव ६२ प्रतिशत रकम खर्च भएको छ । कोलेनिकाले दिएको तथ्य अनुसार म्याग्दीमा विकास बजेट ३३ करोड ६५ लाख ४२ हजार ६ सय ७१ रुपैयाँ खर्च भएको छ ।
म्याग्दी जिल्लाको समग्र प्रदेश तथा संघिय सरकारको बजेट चार अर्व ९६ करोड ३७ लाख ९३ हजार छ सय पाँच मध्ये ७१ प्रतिशत अर्थात् तीन अर्ब ५४ करोड २६ लाख ९९ हजार सात सय ६३ रुपैयाँ खर्च भएको छ । विकास खर्च तर्फ भने जिल्ला भरको प्रदेश तथा संघ तर्फको गर्दा पनि ४१ प्रतिशत हाराहारी मात्रै खर्च भएको प्रमुख कोष नियन्त्रक सुवेदीको भनाई छ ।