निष्क्रिय सदस्यलाई सक्रिय बनाउन नसके बिदा गरौँ : अध्यक्ष गौतम

निम्न आयस्तर भएका जनताको जीवनस्तर उकास्न महत्पवूर्ण भूमिका खेलेको सहकारी अभियान पछिल्लो समय केही खराब सहकारीका कारण बदनाम भएको छ । एकाध सहकारीमा देखिएका खराबिका कारणले देशभरका सहकारी संस्थाहरुमा बचत कम र फिर्ता बढी हुन थालेको छ । तरलता अवभावलाई न्यूनिकरण गर्नका लागि सहकारीहरुले विभिन्न योजनाहरु पनि बनाई रहेका पनि छन् । म्याग्दीको बेनी नगरपालिका–८ मा कार्यालय रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु गौतम सापकोटासँग धौलागिरी जागरणका लागि अमृत बास्कुनेले गरेको कुराकानी सम्पादीत अंश :

अहिले तरलताको के कस्तो रहेको छ ? अरुमा देखिएको जस्तो समस्याले असर गरेको छ कि छैन ?
सहकारीको नियम अनुसार कुल पुँजीको १५ प्रतिशत तरलता रहनुपर्ने भनिएको भए पनि हाम्रो संस्थामा त्यो भन्दा बढी नै तरलताको व्यवस्था गरेका छौं । अहिले दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको तरलता १७ प्रतिशत रहेको छ । आर्थिक मन्दिका कारण विश्वभर नै समस्या भयो र त्यसको प्रभाव नेपालमा पनि नपर्ने कुरै भएन । त्यसैले कुनै केही असहज अवस्था आउँछ कि जस्तो लागेको भए पनि अहिलेको अवस्थामा हामीले त्यसलाई सहज तबरले व्यवस्थापन गरेका छौं । हालको अवस्थामा भन्ने हो भने बचत फिर्ता गर्नैका लागि कुनै समस्या आएको जस्तो लाग्दैन ।

ऋण लगानिका गर्न निर्णय भै सकेको ऋण पनि स्थगित गर्ने सम्मको अवस्थामा सहकारीहरु पुगेका छन् भन्ने छ हाम्रो सहकारीमा अवस्था के छ ?
ऋण लगानी गर्ने कार्य अहिलेसम्म रोकिएको छैन । आवश्यकताको आधारमा हामीले अहिले पनि ऋण प्रवाह गर्ने गरेका छौँ । संस्थाका शेयर सदस्यले माग गरेको ऋण संस्थाको नियम भित्र रहेर पाउनु पर्नेले पाएकै छन् । हामीले मुख्य रुपमा प्रवाह गर्दै आएको बचत धितो राखेर लगानी गर्ने गर्दछौं त्यो रोकिने कुरै भएन । अन्य ऋणपनि प्रकृया पुरा भएको र आवश्यकताको वर्गिकरण तथा लगानी उठ्ने ग्यारेन्टी भएको खण्डमा लगानी गरेकै छौं । संस्थाको पूँजी र आवश्यकता अनि तिर्ने अवस्था पनि मुल्याङ्कन गरेर अगाडी बढेका छौं । अहिलेसम्मको अवस्था हेर्ने हो भने नियम अनुसार हुने ऋण लगानिमा कुनै पनि कमि गरिएको छैन । तर अहिले मुख्य भनेको बचत फिर्ताको काम सबै तिर भएकै छ त्यो हाम्रोमा पनि हुने नै भयो । उठाउन पर्ने ऋण उठाउने र माग बमोजिमको बचत फिर्ताले प्राथमिकता पाएकै छ ।

सहकारी संस्थाहरुमा तरलताको समस्या हुने र त्यसबाट बाहिर निस्कन नसक्ने भन्ने हल्ला छ, तरलताको अभाव भएको हो भने त्यसबाट बाहिर निस्कन के गर्न सकिएला ?
संस्थामा तरलताको अभाब कती बेला हुन्छ भने जब सदस्यले आफ्नो सेयर भएको सहकारीमा करोबार गर्दैन र लगेको कर्जा समयमा फिर्ता गर्दैन । संस्थामा पैसाको फ्लो भएन भने करोबार कसरी गर्ने त ? त्यो भएर सदस्यलाई सहकारी शिक्षा दिनु एकदम आबस्यक छ । सहकारीका सदस्यलाई शहकारी शिक्षा बुझाउनु आवश्यक नै हो । सहकारीका शेयर सदस्यहरुलाई उनीहरुले गरेको बचत तथा लिएको ऋणको अवस्था के भन्ने थाहा पाउनु पर्छ । बचत भोली फिर्ता हुन्छ भन्ने थाहा पाउनु पर्छ भने ऋण समयमै तिर्नु पर्छ भन्ने पनि उनीहरुलाई बुझाउन आवश्यक छ । ऋण नबुझाउँदा अर्को व्यक्तिले समयमै पैसा फिर्ता पाउँदैन भने आफ्नो पनि नाम ऋण नतिर्नेको सूचीमा पर्ने हुन्छ । सहकारीमा राखिएको पैसा दिन दिनै ज्याला मजदुरी गर्ने, भारी बोक्ने, डोकामा तरकारी बेच्ने, आफ्नो भबिश्य आफ्नो सन्तानको भबिस्यको लागि भनेर दैनिक पैसा जम्मा गर्ने तथा पसलमा दिन भर सामान बेचेर पैसा कमाउने सामान्य सदस्यको पैसा हो । त्यो कुरा पनि शहकारीका सबै सदस्यले बुझ्नु जरुरी छ । सहकारीलाई सहकारीकै रुपमा बुझ्न र बुझाउनु पर्छ । हामीले सञ्चालन गरेको सहकारी हो कुनै बैंक वा वित्तीय संस्था होइन भन्ने कुरा सदस्यलाई बुझाउन र उनीहरुलाई सहकारी मेरै हो भन्ने अपनत्व गराउन सकियो भने सहकारीमा कुनै पनि प्रकारको समस्या कहिल्यै आउनै सक्दैन ।

लगानी भै सकेको ऋणको ब्याजदर हेरफेर गर्ने गर्नुभएको छ कि जुन दरमा लगानि भएको हो त्यही दरमै असुली गर्ने गर्नुभएको छ?
राज्यको निकायले गर्ने निर्देशन भन्दा बाहेक हामीले कहिल्यै पनि व्याजदरमा फेरबदल गर्ने गरेका छैनौं । सहकारीले आफ्नो मनोमानी तबरले ब्याजदर परिवर्तन गर्ने कुरै आउँदैन त्यसमाथि पनि हाम्रो सहकारीमा अधिकांश महिला दिदीबहीनिहरु नै सदस्य भएको हुनाले पनि यस सन्दर्भमा हामी निकै क्लियर छौं । यदी बिभागले तोकेर बढाउन भन्यो वा घटाउन भन्यो भने हामी त्यो मान्छौं नत्र भने आफ्नो तरिकाले ब्याजर परिवर्तन गर्दैनौं ।

अन्त्यमा सहकारी क्षेत्रको सुधारका लागि भन्नुपर्ने केही छ कि ?
हामीले के कस्तो बुझ्ने भन्दा पनि आम तबरले बुझ्नु पर्ने भनेको सहकारी भनेको नै सहकार्य हो । संस्थामा जसको जती सेयर रकम भएपनि सबै सदस्यको भूमिका तथा जिम्मेवारी समान हुन्छ भन्ने कुरा सबै सदस्यलाई ज्ञान हुनु पर्दछ । संगसंगै मिलेर काम गर्ने भन्ने उद्देश्य सहित सुरुवात भएको सहकारीलाई मुनाफा कमाउने मात्र ध्याउन्न राखियो भने त्यो पक्कै पनि गलत हुन्छ । सहकारीमा शेयर हालेर सकियो बाँकी संस्थाले गर्ने हो भन्ने खालको मानसीकता भयो भने सहकारीमा समस्या आउन सक्छ । सहकारीलाई व्यवस्थित तबरले सञ्चालन गर्ने हो भने सदस्यलाई शहकारी शिक्षा दिने कार्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । शेयर सदस्य मात्र नभएर सञ्चालक तथा कर्मचारीको कार्य कुशलतामा बृद्धी गर्न विभिन्न किसिमका कार्यक्रम गर्ने गर्नु पर्छ । साथै सदस्यलाई सबै किसिमका कारोबारमा समावेश गर्ने, निस्कृय सदस्यलाई सके सम्म सकृय बनाउने नसके आवश्यक प्रकृया पु¥याएर संस्थाबाट बिदाई गर्ने सम्मको काम पनि गर्नु पर्ने हुन्छ सहकारीको हितका लागि । साच्ची भन्नु पर्दा मान्छेलाई बचत गर्न सहकारीले नै सिकाएको हो ।

सहकारीलाई बैंक ठान्ने र बैंकले जस्तै कारोवार गर्छु भन्ने सोच्नु हुदैन । सहकारीलाई सहकारी जस्तै बनाउने र त्यही अनुसार सञ्चालन गर्ने हो । सहकारी आर्थिक कारोबारमा मात्र नभएर समाजिक कार्यमा पनी सम्लग्न हुनुपर्छ । त्यसले सहकारीलाई समाज सँग जोड्ने काम गर्दछ । सहकारी समाज समाज बीचको मिलन बनाउने पुलको रुपमा पनि अगाडी बढ्नु पर्दछ । त्यसैले सहकारीको विकास हुनु आजको आवश्यकता हो । सहकारीको बिकास हुनु भनेको सम्पूर्ण समाजको बिकास हुनु हो । साथै हाम्रो सहकारीका बारेमा केही कुरा राख्ने मौका दिनुभएकोमा आदर्श अनलाइन टिमलाइ हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *