पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जी जम्प’

डम्मर बुढा मगर, बागलुङ
हेटौडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरि कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पमा तीन पटक घुम्न आउनु भयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धीत अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मा मै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइकिलिङको अवलोकन गरि राख्नु भएको छ ।

दुई पटक त उहाँ बञ्जी जम्प गरि सक्नु भयो । परिवारसहित घुम्न आउनु भएका घिमिरेको अझै केही दिन यहाँ रमाउने योजनामा हुनुहुन्छ । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यमहरु धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरेले बताउनुहुन्छ । हेटौडाको कोलाहालबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उहाँको भनाई छ ।

घिमिरे भन्नुहुन्छ–“म अहिलेसम्म तीन पटक बञ्जीमा आएँ, दुई पटक त बञ्जी जम्प पनि गरे तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसी रहुँ, घुमिरहुँ लाख्छ, हेटौडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रेसमेन्ट भएको छ, यो हाम्रो पारिवारीक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँहरु अवलोकन गरेर फर्किने छौँ ।”

चितवनदेखि बञ्जी जम्प गर्न बागलुङ आउनु भएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताउनुभयो । टिकटक र फेसबुकमा धेरैले बञ्जी जम्प गरेको देखेपछि आफू पनि आएको बताउनुहुन्छ । ढकालले भन्नुभयो–“बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदो रहेछ, फेरि एक पटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्को पटक आउने मन छ ।”

उहाँले योभन्दा होँचो स्थानमा रहेका बञ्जीहरुमा आफूले यसभन्दा अगाडी पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताउनुभयो । “यो ठाउँ निकै रमाइलो रहेछ, यसभन्दा अगाडी पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन, सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो” उहाँले भन्नुभयो ।

बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धौलागिरी हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताउनुभयो । उहाँले यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउनुहुन्छ । उहाँले आफू प्राकृतिक सौन्दर्यमा घुम्न र रमाउन चाहने भन्दै यो क्षेत्र धुम्नका लागि निकै उपयोगी रहेको बताउनुभयो ।

“यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जी जम्पको तल पट्टी पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धोलागिरी हिमाल देखिदो रहेछ, यो ठाउँमा साँच्चीकै स्वर्ग जस्तै छ,” उहाँले भन्नुभयो– “यो ठाउँले धेरैलाई आकर्षित गर्छ, हामी नेपालीलाई त यति मोहित बनाउँछ भने विदेशीहरु त झन् लोभिन्छन् होला ।”

पोखरादेखि घुम्न आउनु भएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताउनुभयो । घिमिरे भन्नुहुन्छ–“नाती केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ, मत बुढाबुढी मान्छे आज हो की भोली, यो देख्न पाउँदा खुसी लाग्यो, यो बनाउनेलाई धन्यबाद छ ।”

बञ्जी जम्प द क्लिप प्रा.लि मार्फत संचालनमा आएको हो । बञ्जी जम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका संचालक प्रकाश प्रधानले बताउनुभयो । उहाँले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताउनुभयो । पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाई छ ।

“बिदाको दिन बढी पर्यटक आउनुहुन्छ, अहिले पर्यटन सिजन चलेको हुँदा दैनिक तीन÷चार सय पर्यटकहरु यहाँ घुम्न आउनुहुन्छ, तर थोरैले मात्रै बञ्जी जम्प गर्नुहुन्छ, हामीले सुरु गर्दा पर्यटकको आगमन निकै कम थियो, अहिले बढ्दै गएको छ” प्रधानले भन्नुभयो ।

बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइकलिङ लगायत आधा दर्जन बढी संरचनाहरु निर्माण भएका छन् । ति संरचनामा पनि पर्यटकहरुको घुइँचो लाग्न थालेको प्रधानको भनाई छ । अहिले स्वङ, स्काइ साइकलिङ र बज्ञी गर्नेहरुको संख्या बढ्दै गएको उहाँको भनाई छ । उहाँका अनुसार भारत, बङ्गलादेश लगायतका देशबाट पनि बाह्य पर्यटक आउन थालेका छन् ।

बञ्जी जम्प निर्माण गर्दा सुरुमा २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको र पनि लागत बढ्दै गएपछि अहिलेसम्म ५० करोडको हाराहारीमा खर्च भइसकेको उहाँको भनाई छ । यहाँ बञ्जीसँगै अन्य धेरै संरचनाहरु निर्माण गर्दा बढी लागत लागेको उहाँ बताउनुहुन्छ ।

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सालसम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो । ५२५ मिटर लामो छ । खोलादेखि पुलको उचाई २२८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । बञ्जी जम्पका कारण बलेवा र कुश्मामा व्यापारसमेत बढ्दै गएको स्थानीय व्यापारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *