संकटमा समस्या मात्र होइन,सम्भावना पनि खोजौ

सम्पादकीय
अहिले कोरोना संकटले मानव जीवन सकसपूर्ण छ । अहिले तत्कालका लागि कोरोना भाइरस (कोभिड १९) बाट कसरी जोगिने भन्नेमा चिन्ता र ध्यान केन्द्रित छ । यदी यो समस्या या जोखिम रोकियो या अन्त्य भयो भने पनि हाम्रा लागि तत्काल सुखद समय शुरु हुने छैन । अहिलेको कोरोना जोखिमबाट जोगिए पनि यसका कारण उत्पन्न संकट र असरहरुले हामीलाई पछ्याइरहनेछ । कोरोना आतंक सँगै अस्तव्यस्त बनेको दैनिकी, पेशा, व्यापार, व्यवसाय र अनेक योजनाका काम पुरानै लय, गति र अवस्थामा फर्काउन निकै समय लाग्ने निश्चित छ । अझै पनि कोरोना यसको संक्रमण, रोकथाम, उपचार र नियन्त्रणको अनिश्चितता जारी छ । अहिले सम्म कुनै खोप औषधि पत्ता लाग्न सकेको छैन । यदी पत्ता लागिहाल्यो भने पनि त्यो हाम्रो जस्तो विकासोन्मुख देशमा आउन कति बर्ष समय लाग्ला ? यस्ता कैयन प्रश्न आजको दिन सम्म अनुत्तरित छन् ।

अवस्था अहिले कठिन, भोलीका दिन थप जटिल भए पनि हामीसँग समस्या र संकटका बारेमा मात्र चिन्ता गरेर बस्ने छुट छैन । कोरोनाले निम्ताएका अनेक समस्या र असरमा गुनासो गरेर या धिक्कारेर मात्र बस्ने अवस्था पनि हुने छैन । त्यसैले चिन्ता र निराश होइन, विकल्प र अवसरमा ध्यान केन्द्रित गरौ । अहिले बागलुङ बजारमै पनि केहि युवाले संकटमा समस्या मात्र होइन, सम्भावना र अवसर पनि खोज्नुपर्छ र त्यो सम्भव छ भन्ने सन्देश सहित नयाँ समय सापेक्ष व्यवसाय शुरु गरिसकेका पनि छन् । बागलुङ नगरपालिका—२ का सुवास श्रेष्ठले गण्डकी प्रदेशमै पृथक सोच र साहसका साथ व्यावसायिक सोच राखेर पोखरा सम्म पनि व्यवसाय सञ्चालन गरिरहेका थिए । तर, १० करोड बढि लगानी गरेर सञ्चालन गरेको ब्राउन आइज पार्टी प्यालेस, रेष्टो, फिल्म हल सबै ठप्प हुँदा पनि उनले चिन्ता मात्र गरेनन् । यस संकटका बीचमा धेरै चिन्तन पनि गरे । र अहिले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले धेरै व्यापार व्यवसायको भविष्य अन्योलमा देखिए पनि संकटमै सम्भावनाको खोजी गर्दै बागलुङ बजारमै सबै भन्दा ठूलो ‘ब्राउन आइज मार्ट’ शुरु गरे । यो अहिलेको कठिन अवस्थामा सम्भावना र अवसरको खोजी गर्ने एक राम्रो प्रयास र उदाहरण हो ।

नेपालमा लकडाउन खुकुलो बन्दै गएको छ । तर अझै पनि थुप्रै व्यवसाय कहिले खुल्ने भन्ने निश्चित छैन । फेरी खुलिहाले भने पनि तत्काल पहिलेकै जस्तो चहल पहलका साथ चल्ने अवस्था छैन । यसले खासगरी व्यवसायिक क्षेत्रमा अलि बढि संकट र जोखिम भोलीका दिनमा अझ बढि देखिएको छ । त्यसैले अब सबैले अहिलेको नयाँ संकट र यसका कारण उपत्न भएका र हुन सक्ने समस्या जोखिम आँकलन गरेर सोही मुताबिकको योजना बनाउन जरुरी छ । पहिले जे जसरी चलेको थियो, अब त्यही हिसावले नचल्ने, लगानी डुब्ने, उठिबास नै हुने जोखिमका अनेक परिदृश्य पनि यसबीचमा कतिपय घटनाक्रमले देखिइसकेको छ । अतः कोरोना संकटमा संकट र समस्यामा मात्र नभुलौ । यस भित्रै नयाँ सम्भावना, साँेच र अवसरको पनि यथासम्भव खोजी गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *