सहर, सार्वजनिक शौचालय र सकस

सम्पादकीय
यसपटकको स्थानीय तह निर्वाचनमा दुई पात्र मुख्यतः सर्वाधिक रुपमा चम्किए । एक काठमाडौं महानगरमा निर्वाचित बालेन्द्र शाह र अर्को धरान उपमहानगरपालिकामा निर्वाचित हर्क साम्पाङ । अरु स्वतन्त्र उम्मेदवार भन्दा भिन्न सोच र अभियानबाट चुनावी मैदानमा उत्रिएका शाह र साम्पाङले चामत्कारिक रुपमा जित हासिल गरे । राजनीतिक दलका शक्तिशाली नेताहरुलाई समेत पाखा लगाउदै जनताको अपार समर्थनमा जे जसरी जित हासिल गरे । त्यसले नेपाली राजनीति, राजनीतिज्ञ माथि गम्भीर प्रश्न उठाएको छ । जनता राजनीतिक दलहरुको मनोमानी शासन, बेथिति, विकृत अभ्यासबाट कति आजित रहेछन् र त्यसबाट उनीहरु मुक्ति चाहने मात्र होइन, त्यसका लागि जनता विकल्प खोज्न र रोज्न पनि सचेत सामथ्र्य राख्छन् भन्ने अहिलेको स्थानीय चुनावले पुष्टि गरेको छ ।

यस चुनावबाट निर्वाचित जनप्रतिनिधिका सामुन्ने अनेकन चुनौति छन् । जसमध्ये स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका देशकै राजधानी रहेको काठमाडौं महानगरका मेयर बालेन्द्र शाहका सामु तत्काल फोहोर व्यवस्थापन र सरसफाईको चुनौति खडा छ । पहिलो त काठमाडौंमा वर्षौदेखि फोहोर व्यवस्थापनको समस्या छ । जसको तत्काल र दीर्घकालीन रुपमा व्यवस्था गर्नुपर्ने छ । जसका लागि मेयर शाहको टिमले अहिले प्रयास सुरु गरिसकेको छ । अर्को काठमाण्डु लगायतका सरसफाईमा सार्वजनिक शौचालयको अभावमा नागरिकले पाइरहेको सकस हो । यसका लागि पनि महानगरले अभियान थालेको छ । र अहिले काठमाडौं महानगरपालिका क्षेत्रका होटल, रेष्टुरेन्टका शौचालय सार्वजनिक प्रयोजनका लागि खुला गर्ने गराउने निर्णय गरिएको छ । महानगरको नगर कार्यपालिकाको १६ जेठको बैठकले काठमाडौंभित्रका होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यवसायमा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेर आह्वान गरेपछि अभियानमा साथ दिने बढ्न थालेका छन् । यसअघि स्वघोषणा गरेर शौचालय सार्वजनिक प्रयोजनमा खुला गर्न थालिएकामा नबिल बैंकले बुधबार महानगरसँग सम्झौता नै गरेको छ । यो पहिलो सम्झौता हो । महानगरले सोमबार मात्र सार्वजनिक सूचना जारी गरेर शौचालय सार्वजनिक प्रयोजनमा ल्याउन इच्छुकलाई निवेदन दिन आह्वान गरेको थियो । ठमेलमा रहेको छायाँ सेन्टर, ज्योति ग्रुप लगायत एक दर्जन हाराहारीका रेष्टुरेन्ट, संघ संस्थाले शौचालय सार्वजनिक प्रयोजनका लागि खुला गर्ने उद्घोष गरेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाह यस्तो आइडल बनिरहेका छन् र भोलिका दिनमा थप आइकन बन्ने सम्भावना राखिरहेका छन् कि उनका लागि नागरिकले आफ्नो स्तरबाट हर प्रयासमा साथ दिन तयार देखिन्छन् । शाहले अभियानको घोषणा गरेसँगै काठमाडौं महानगरपालिका मात्र होइन, बाहिरी जिल्लामा पनि स्वघोषणाबाट सार्वजनिक प्रयोजनमा शौचालय प्रयोग गर्न थालिएको छ । स्वघोषणा गर्नेहरूमध्ये कतिपयले ‘बालेन फर अस, वी फर बालेन’को बोर्ड टाँगेर शौचालय सार्वजनिक प्रयोजनमा ल्याइरहेका छन् । यसले उनी काठमाण्डौं महानगर मात्र होइन, बालेनको क्रेज देशभर छ भन्ने प्रष्ट देखिन्छ । अतः बालेनले अहिले सुरु गरेको सरसफाई (फोहोर व्यवस्थापन र सार्वजनिक शौचालय) अपरिहार्य कदम हो । यसका लागि नागरिकको अभूतपूर्व साथ समर्थनकै बलमा सफल बनाउनुको उनीसँग विकल्प र छुट छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *