प्रधानमन्त्री, विश्वासको मत र संशय

सम्पादकीय
जीवनमा ठुला र महत्वपूर्ण कुरा त अनगिन्ती छन् । त्यसमध्ये पनि सबै भन्दा ठुलो कुरा विश्वास हो । यो व्यक्तिहरुमा त मान्छे पिच्छे भिन्न भिन्न सोच, स्तर अनुसार फरक फरक ढंगको हुन सक्छ । तर, नेपाल र नेपाली राजनीतिको कुरा गर्ने हो भने अविश्वासको जगजगी छ । यही अविश्वासका कारण मुलुक राजनीतिक दल र नेताहरुको क्रिडास्थल मात्र होइन, अस्थिरताको चरम मार खेप्न बिबश बनिरहेको छ । निर्वाचन भए यताको साढे एक वर्षकै अन्तरालमा पटक–पटक सरकार फेरबदल भइरहेको छ । राजनीतिक दलहरु बिचको गठबन्धन, सत्ता समीकरणमा अस्वभाविक बदलाव आइरहेको छ । निर्वाचनबाट तेस्रो दल बनेको तर सत्ता समीकरणमा निर्णायक रहेको नेकपा माओवादी र यसका अध्यक्ष प्रचण्डकै नेतृत्व र सेरोफेरोमा राष्ट्रिय राजनीति घुमिरहेको छ । यद्यपि, उनी प्रतिको अन्य राजनीतिक दल र जनताको विश्वास र भरोसा भने तेस्रो कार्यकाल सम्म आइपुग्दा धेरै ह्रास भइसकेको छ ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनै पात्र हुन्, जसले निर्वाचन लगत्तै बनेको सरकारको बेला नेपाली राजनीतिक इतिहासमा उल्लेख्य विश्वासको मत पाएका थिए । राजनीतिमा चतुर राजनीतिक खेलाडीका रुपमा अब्बल देखिएका प्रचण्ड प्रधानमन्त्री दिन राजी नभए पछि सँगै गठबन्धन बनाएर चुनाव लडेको नेपाली कांग्रेसलाई छोडेर चुनावी प्रतिस्पर्धा गरेको नेकपा एमालेको साथ समर्थनमा प्रधानमन्त्री बने । जुन समयमा सत्ता स्वार्थ र अराजनीतिक खेलका बिच विश्वासको मत लिने बेला कांग्रेस, एकीकृत समाजवादी लगायतले विश्वासको मत मात्र दिएनन्, माओवादी एमालेको सत्ता समीकरण भत्काएर पुनः पुरानै गठबन्धन ब्युँताए । जहाँ मुलुकको पहिलो दल नेपाली कांग्रेस, नेकपा एमाले, चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल लगायतले विश्वासको मत दिएका थिए । त्यसको केही समय पश्चात एमाले, रास्वपा सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुग्यो । अहिले फेरि सत्ता समीकरणमा चामत्कारिक रुपमा बदलाव आयो । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई पाखा लगाएर एमालेसँग साठगाठबाट सरकार बनाए । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो । समर्थन फिर्ता लिए पछि बुधवार प्रधानमन्त्रीका रुपमा प्रचण्डले संसदमा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रचण्डको पक्षमा एक सय ५७ मत प¥यो भने विपक्षमा एक सय १० मत प¥यो । एक सांसद तटस्थ रहे ।

प्रधानमन्त्रीले विश्वास मत लिने समय र संघारमै राजनीतिक दल र शीर्ष नेताहरुका बिच अनेकन आरोप प्रत्यारोप र संशय देखियो । नेपाली कांग्रेसले त प्रधानमन्त्री प्रचण्ड माथि गरेको विश्वासमा गम्भीर धोका दिएको जिकिर सहित धोकेबाज कै संज्ञा दियो । सरकारमै सामेल भएको एकीकृत समाजवादीका नेताहरुले पनि संसदमै प्रचण्ड प्रति नैतिकताको प्रश्न तेस्र्याए । सत्ता समीकरणमै रहेका नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीहरुका नेताहरुको पनि भिन्न भिन्न अभिव्यक्ति सार्वजनिक भइरहेको छ । त्यसै कारण वर्तमान सरकारको आयु कति र कहिले सम्म भन्ने प्रश्न अहिले नै उब्जिसकेको छ । जे होस् माओवादी अध्यक्ष प्रचण्डले अहिलेको संसदबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । यो विश्वासको मत पाउँदै गर्दा प्रचण्डले हेक्का राख्नुपर्छ कि प्रधानमन्त्री बनाएकै राजनीतिक दल र नेताहरुको मात्र उनी प्रति चर्को गुनासो, रोष र आक्रोश छैन, आम नागरिकमा पनि चरम निराशा र आक्रोश बढ्दो छ । सरकार मात्र फेरबदल गरिरहने तर जनताको दैननुदिनका जल्दाबल्दा समस्या समाधानमा गम्भीरता नदेखाउने, सुशासन, विकास, समृद्धिका काम अघि नबढाउने हो भने अहिलेको विश्वास धेरै बेर नटिक्न सक्छ । अरु राजनीतिक दल र आम नागरिकको साथ, समर्थन र विश्वास पनि टुट्न सक्छ । यदि यो परिस्थिति आयो भने सरकार, प्रधानमन्त्रीका रुपमा प्रचण्ड र सत्ताघटक दललाई नै महँगो पर्न सक्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *