एमाले जिल्ला अधिवेशन र अपेक्षा

सम्पादकीय
नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन शुरु भएको छ । अधिवेशनको उद्घाटन एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले गरेका छन् । उसो त यस अधिवेशनमा केन्द्रीय नेताहरुको समेत बाक्लो उपस्थिति छ । केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि केन्द्रीय नेता तथा हालका नवनिर्वाचित मुख्यमन्त्री खगराज अधिकारी, एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट, पोलिटव्युरो सदस्य एवंम् बागलुङ इन्चार्ज जगत विश्वकर्मा लगायत अधिवेशन उद्घाटन समारोहमा सम्बोधनका लागि आए । केन्द्रमा केपी ओली निकट संस्थापन गुट भए पनि गण्डकी प्रदेशमा पूर्वमुख्यमन्त्री गुरुङ र वर्तमान मुख्यमन्त्री गुरुङका बिचमा छुट्टाछुट्टै गुटको अभ्यास छ । जुन गण्डकी प्रदेश अविधेशनदेखि कास्की लगायतको अधिवेशनमा पनि केही परिदृश्य देखिएको छ ।

बागलुङ बजारमा सञ्चालित अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष हिराबहादुर केसी सहित पूर्व अध्यक्ष तथा बागलुङ नगरपालिकाका निवर्तमान मेयर जनकराज पौडेल, जिल्ला सचिव बिष्णु भुसाल र प्रदेश कमिटी सदस्य हरिनारायण गौतमको नाम चर्चामा छ । जिल्ला अधिवेशनका लागि गाउँ र पालिका तहबाट चुनिएर आएका ६ सय ३७ प्रतिनिधिले अधिवेशनमा कस्तो नेतृत्व छान्छन् ? सैद्धान्तिक, बैचारिक बहसका साथ सक्षम नेतृत्व छान्छन् कि उही गुट उपगुटमै बिभाजित भएर केन्द्रीय नेताहरुको अनुग्रहबाट नेतृत्व चयन र अधिवेशन सकिन्छ ? अधिवेशन जारी रहँदा यी र यस्ता अनगिन्ती प्रश्न र सवाल बिद्यमान छन् ।

एमाले गत निर्वाचनबाट जिल्लाको सांसद, पालिकाको जनप्रतिनिधि निर्वाचित हुने सवालमा माओवादी कांग्रेस लगायतको फरक गठबन्धन भएका कारण ठुलै धक्का बेहोनुप¥यो । जिल्लाका दुई वटै निर्वाचन क्षेत्र, १० पालिका मध्ये एक पालिकामा मात्रै नेतृत्व जित्न सफल भयो । जनसंगठन, जनमतका हिसाबले अब्बल शक्तिको रुपमा एमाले जिल्लामा देखिए पनि गठबन्धनका कारण तेस्रो शक्तिमा सीमित हुन पुग्यो । अहिले फेरी समीकरण बदलिएको अवस्था छ । भलै आगामी निर्वाचन सम्म यही समीकरण रहन्छ रहन्न ? संशयको अवस्थामा छ । तर, एमालेले धेरै हद सम्म आफ्नो जनमतलाई सुरक्षित राखिरहेको छ । राष्ट्रिय राजनीतिमा उल्लेख्य बदलाव आउँदा पनि जिल्लामा एमालेले आफ्नो जनमत सुरक्षित राखेर मात्र अब पुग्ने छैन । जिल्लामा कुनै पनि क्षेत्र र पालिकामा एकल जित हासिल गर्न कठिन छ । अतः अहिले नेतृत्वका लागि रस्साकस्सी गरिरहेका नेताहरुले पार्टी संगठनलाई भोलिका दिनमा थप सशक्त, अब्बल, अरु इतरका वैचारिक, सैद्धान्तिक हिसाबले नजिक रहेका पार्टीहरुका बिचमा समेत समन्वय गर्ने नेतृत्व कौशल भएको, जिल्लाको समग्र विकासमा समेत नेतृत्व र खबरदारी गर्न सक्ने खोजिरहेको छ । यसमा सुझबुझपूर्ण हिसाबले नेतृत्व चयन गर्न सफलता मिलोस् । अधिवेशन सफलताको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *