सहकारी संस्थाहरुमा देखिएका समस्या समाधानको लागि सहकारी संघले अभिभावकिय भूमिका निर्वाह गर्नु पर्छ । सहकारी संस्थालाई अफ्ट्यारो पारेका ऐन नियम देखि लिएर समय समयमा उत्पन्न हुने अन्य समस्या समाधानको लागि जिल्ला सहकारी संघले के गर्न सक्छ ? सहकारी ऐनमा उल्लेख भएका प्रवधानहरुले अफ्ट्यारोमा परेका सहकारीको अवस्था कस्तो छ ? समस्याग्रस्त सहकारीको समस्या समधानको लागि संघले के कस्ता काम गरेको छ भन्ने विषयमा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालासँग आदर्शकर्मी साधना पन्तले गरेको सहकारी संवाद
जिल्ला सहकारी संघको नेतृत्व सम्हालेको कति समय भयो ? संघ कसरी चलाउनु भएको छ ?
२०७७ साल माघ ३ गते बाट जिल्ला सहकारी संघ कास्कीको नेतृत्वमा आएको हुँ । जब हाम्रो टिमले जिल्ला सहकारी संघ कास्कीको जिम्मेवारी पाएका थियौ, हामीले कास्कीका सहकारीमा कस्ता खालका समस्या छन्, कसरी काम भइरहेको छ भनेर अध्ययन गर्दा त्यति धेरै समस्या, अप्ठ्याराहरु हामीले पाएनौ । तर, हामीले काम गर्दै गर्दा समस्याहरु आउछन् नै ति समस्या समाधान पनि हामीले सहज रुपमा गरेका छौ । जिल्ला सहकारी संघ कास्की सहकारी ऐन नियमको कार्यान्वयन, नीति तथा कार्यविधिहरु बनाउने काम देखि लिएर सहकारी संस्थालाई काम गर्न सहज वातावरण बनाउने, महासंघ सम्म सहकारी संस्थाका राम्रा तथा सुधार गर्नु पर्ने विषयहरु पु¥याउनका लागि पुलको काम पनि गरेका छौ र ऐन विपतरीत काम गरेका सहकारीलाई सहि ट्रयाकमा ल्याउने काम समेत हामीले गरेका छौ ।
हामीले काम गर्दै जाँदा जब सदस्यलाई कर्जा दिदा धितो राख्नु पर्दछ, तब सहकारीको कार्यक्षेत्र भन्दा बाहिरको जग्गा धितो राख्दा मालपोत कार्यालयले आनाकानी गरिदिदा हामीलाई समस्या आएको थियो । हामी सहकारीकर्मीहरु मिलेर मालपोत कार्यालयमा डेलिकेसन गएका थियौ । त्यस पश्चात केही समस्या समाधान भए तर मालपोत कार्यालयका प्रमुख परिर्वतन हुदा साथ त्यो समस्या पटक पटक आएको छ । हामीले यो समस्या समाधान कसरी गर्ने भनेर अग्रज सहकारीकर्मीहरुसंग छलफल गरिरहेका छौ । यसको समाधान छिटै निस्कने अपेक्षा लिएका छौँ ।
संघले पछिल्लो समय के के कामहरु गरिरहेको छ ?
जिल्ला सहकारी संघ र सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघको सहकार्यमा हामीहरुले दुग्ध प्रसोधन तथा बजारीकरण गर्दै आएको छौ । जिल्ला सहकारी संघ, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ र नेपाल लाइभस्टक इनोभेसन आयोजनाको सहकार्यमा व्यवसाय विस्तार तथा कोसेली घर निर्माण कार्य हामीले अगाडी बढाई सकेका छौ । २ करोडको लागतमा बनाउन लागेको भवन बैशाख मसान्तभित्र सम्पन्न गर्ने हाम्रो तयारी छ ।
संघमा आवद्ध संघ संस्थाहरुलाई सहकारी ऐन, नियमावली अनुसार काम गर्नका लागि मार्गदर्शन गर्ने, नयाँ प्रविधिको प्रयोग गर्नुहोस, पारदर्शितामा ध्यानदिनुहोस, केही अप्ठ्यारो परे हामी छौ साथ दिने भनेर हामीहरुले भनेका छौ । सहकारी संस्थाको अवलोकन गर्ने, अवस्था बुझ्ने काम गरेका छौ ।
समस्याग्रस्त सहकारीहरुको विषय पनि उठ्ने गर्छ, कास्कीमा समस्याग्रस्त सहकारीहरु छन् कि छैन्न ?
कास्कीको हकमा त्यति धेरै समस्याग्रस्त सहकारी भएको हामीले पाएका छैनौ । कुनै कुनै सहकारीमा केही समस्या छन् । तर, ति समस्या समाधानका लागि हामीले सल्लाह सुझाव र समय समयमा अनुगमन गरिरहेका छौ । साना तिना समस्याहरु काम गर्ने क्रममा हुन्छन् ति समस्या समाधान गरेर अगाडी बढनु पर्दछ भन्ने मलाई लाग्दछ र कास्कीमा पनि केही सहकारीमा समस्या थिए हामीले ति समस्याको समाधानका लागि विभिन्न योजना बनाएर समस्या समाधान गर्दै अगाडि बढेका छौ ।
सहकारी ऐनमा मुख्य कारोबारमा ७० प्रतिशत लगानीको प्रावधानका कारण सहकारीहरुले विषय परिवर्तन गरेको सुनिन्छ ? कस्तो छ यहाँको अवस्था ?
खासगरि सहकारी ऐनमा ७०/३० को प्रावधानले अहिले कास्कीमा मात्र नभएर देशभरका सहकारी संस्थाहरु समस्यामा छन् । सहकारीको उद्देश्य अनुसार काम गर्नका लागि यो ऐनमा यो व्यवस्था गरिए पनि यसले सहकारीमा समस्यामा ल्याएको छ । बचत तथा ऋण बाहेकका अन्य उद्देश्य भएका सहकारीहरुले यही ऐनका कारण उद्देश्य परिर्वतन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ । कास्कीका पनि केही सहकारीले उद्देश्य पुरा गर्न नसकेर बचत तथा ऋणमा परिर्वतन भएका छन् ।
मुख्य कारोबारमा केन्द्रित गराउनका लागि ल्याइएको विषयले उद्देश्य नै परिवर्तन गराउने अवस्था कसरी सुधार गर्ने ?
पक्कै पनि यो समस्याको समाधान खोज्नु पर्दछ । ऐन परिमार्जन गर्नुपर्दछ भनेर हामीहरु पनि लागेका छौ । सहकारीको ऐन बनाउदा सहकारी मैत्री हुन अति नै आवश्यक छ । सहकारीलाई राज्यले अर्थतन्त्रको महत्वपूर्ण एक खम्बा भनेर परिभाषित गरेको छ । सहकारीको ऐन बनाउने क्रममा केही विषयहरुले सहकारीलाई अप्ठेरो बनाएका छन् । यस्ता समस्या समाधान हुन आवश्यक छ ।
सहकारीका सवल पक्षहरु के के हुन् ?
सहकारीको धेरै राम्रा पक्षहरु छन् । सहकारीले आफ्ना सदस्यहरुसंग सानो सानो पूँजिलाई संकलन गरेर त्यसले आफ्नै सदस्यलाई लगानी गर्ने, बचत गर्न प्रेरित गर्ने, व्यवसायिक हुन मद्दत गर्ने काम गरेको छ । सहकारीले सामाजिक कामसंगै युवाहरुलाई रोजगारी पनि प्रदान गरेको छ, विभिन्न खालका तालिमहरु गराउने काम पनि सहकारीले गरेको छ । महिलालाई आत्मनिर्भर गराउन मद्दत गरेको छ, बालबच्चालाई बचत गर्ने बानी बसालेको छ, आफ्नै देशमा केही व्यापार व्यवसाय गर्न खोज्नेलाई ऋण उपलब्ध गराएर व्यवसाय गर्न सहयोग गरेको छ । सहकारीले धेरै राम्रो काम गरेको छ ।
पछिल्लो समय वित्तीय क्षेत्रमा तरलताको समस्या देखिएको छ । यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
यो समस्या अहिलेको महत्वपूर्ण विषय हो । अहिले सम्पुर्ण वित्तीय क्षेत्रमा तरलताको समस्या छ र अझ बढी सहकारी संस्थामा देखा परेको छ । हामीले सहकारी संस्थालाई सम्पत्तिको ८० प्रतिशत भन्दा बढी लगानी नगर्नुहोस भनि पटक पटक भनेका छौ । सहकारीले सन्दर्भ व्याजदर तोकिन्छ र बैंकको सन्दर्भ व्याजदर तोकिदैन् त्यसकारणले सहकारीहरु आफ्नो ऐन कानुन मिचेर काम गर्न सक्दैनन् । हामीले सहकारी संस्थालाई पनि सदस्य केन्द्रीत भएर सदस्यलाई बढी भन्दा बढी बचतमा जोड दिन आग्रह गरेका छौ । भाखा नाघेका ऋणलाई असुली गर्नमा ध्यान दिने, संस्थाको संचालन खर्चलाई कम गर्न पनि आग्रह गरेका छौ । अहिले तरलता अभावको समयमा अति आवश्यक बाहेकका खर्च कम गर्दा पनि संस्थालाई केही हदसम्म राहत महशुस हुने छ । समग्रमा सहकारी अभियान्ता, सहकारीका छाता संगठन र सरकारले तरलताको समस्यालाई समाधान गर्नका लागि अन्य योजनाहरु बनाएर अगाडि बढनु पर्ने अहिलेको आवश्यकता हो ।
कुन संस्थाको प्रतिनिधित्व गरेर जिल्ला सहकारी संघको नेतृत्वमा आउनु भयो । हजुरको सहकारी यात्रा र अनुभव कस्तो छ ?
मेरो प्रारम्भिक संस्था नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था हो । म त्यही सहकारीको प्रतिनिधित्व गरेर सुरुमा संचालक समितिमा आएको थिए र मैले जिल्ला सहकारी संघमा चौथो कार्यकाल निभाउदै छु । म महिलाहरुले संचालन गरेको सहकारी संस्थाबाट संघमा आएको हुँ । महिला दिदीबहिनीलाई आत्मनिर्भर गराउनका लागि हामीले सहकारी दर्ता गरेका थियौ । सिद्धार्थ कलवबाट नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था संचालन गरेका हौ । निम्न वर्गका दिदीबहिनीहरुलाई संगठित गरेर हामीले सहकारी चलाएका छौ । सहकारीले महिलालाई आत्मनिर्भर मात्र बनाउने नभएर व्यक्तित्व विकास र महिला सशक्तिकरणको विषयमा पनि सहकारीले महत्वपुर्ण भुमिका खेलेको मैले पाएको छु । महिलालाई आर्थिक रुपमा सबल बनाउका लागि नेपाल जस्तो देशमा सहकारीले महत्वपुर्ण भुमिका खेलेको छ । अब हामी महिला दिदीबहिनीको सहकारीमा सहभागिता मात्र नभएर गुणस्तर र नेतृत्वमा पनि महिलाहरुको संख्या बढाउनका लागि अगाडी बढ्नु पर्ने मैले देखेको छु । अझै पनि महिलाहरुको क्षमता बृद्विका लागि ठोस कार्यक्रम बन्न नसक्नु, महिलाहरुको अर्थ परिचालनमा स्वयम् निर्णय हुदैन एउटा कुखुरा बेच्न प¥यो भने पनि श्रीमानलाई सोध्नुपर्छ भन्ने चलन छ । फेरि महिलाहरुलाई हेर्ने परंपरागत दृष्टिकोण, महिलाहरुलाइ विश्वास नगर्नु, शिक्षाको कमि, नेतृत्व क्षमताको बिकास नहुनु अवसर नपाउनु जस्ता कारणले गर्दा नेतृत्व तहमा महिलाहरु कमी छन् । अव यस्ता कुरामा पनि ध्यान दिएर अगाडि बढ्नु पर्ने छ । म महिला भएको नाताले पनि हामी महिलालाई सहकारीले अगाडी बढ्न धेरै कुरामा सहयोग गरेको मैले महशुस गरेको छु ।