मापदण्ड विपरित आवासीय घरमा पेट्रोल पम्प

खेमराज गौतम, बागलुङ

बागलुङ नगरपलिकाको मापदण्ड विपरित बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प राखिएको छ । बागलुङ नगरपालिकाले आवासीय भनेर निर्माण गर्न अनुमति दिए पनि निर्माण सम्पन्न लिने समयमा पेट्रोल पम्प राखे पछि नगरपलिकाले घर सम्पन्नताको प्रमाणपत्र नदिएको जनाएको छ ।

बागलुङ बजारको न्यू धौलागिरी इन्टरप्राइजेजले केही साता अघि मात्रै आवासीय घरमा पेट्रोल पम्प स्थापना गरी विक्री वितरण थालेको छ । पेट्रोल पम्प माथि होटल पर्व समेत सञ्चालन गरिएको छ । पेट्रोल पम्प माथि होटल सञ्चालन आफैमा जोखिमपूर्ण हुने सरोकारवाला बताउँछन् ।

मापदण्ड अनुसारको घर निर्माण नगरेको र आवासीय घरमा पेट्रोल पम्प राखे पछि भवन पास नगरिएको बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले बताउनुभयो । ”आवासीय घर बनाउन अनुमति दिएका हौ, पछि पेट्रोल पम्प सञ्चालन प्रयोजनमा लाग्नुभयो, हामीले अनुमति नदिएर पटक–पटक पेट्रोल पम्प नराख्न आग्रह गरेका थियौं” इन्जिनियर शर्माले भन्नुभयो “पेट्रोल पम्पको मापदण्ड के हो ? त्यो आयल निगमले हेर्ला तर आवासीय भनेर निर्माण गरेको घरमा पेट्रोल पम्प राख्न पाइदैन, अझ होटलनै सञ्चालनमा आएको समेत सुनेका छौं ।”

नगरपालिकालाई समेत घर पास गर्नका लागि पेट्रोल पम्पका सञ्चालक हरिबाबु सापकोटाले पटक पटक दबाब समेत दिएको प्राविधिक कर्मचारीको गुनासो छ । नगरपालिका भित्रका केही जनप्रतिनिधिलाई आफ्नो पक्षमा पार्न खोजे पनि अहिले सम्म नगरपालिकाले भवन पास गरेको भने छैन ।

नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ विक्रेता, विनियमावली, २०७५ अनुसार विक्री केन्द्रमा स्थापनाका लागि आवश्यक मापदण्ड अनुसार उक्त पेट्रोल पम्प नरहेको पाइएको छ । नियमावलीमा नगरपालिका भित्र जुनसुकै सडक भए पनि ३० मिटर मोहोडा र कम्तिमा दुई रोपनी जग्गा हुनुपर्ने, अण्डरग्राउड ट्याङ्की खुल्ला स्थानमा रहनुपर्ने, ट्याङ्की माथि कुनै किसिमको घर, टहरा निर्माण गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

यस व्यवस्थालाई ठाडो चुनौती दिँदै सञ्चालक सापकोटाले पेट्रोल पम्प र होटल एउटै भवनबाट सञ्चालनमा ल्याउनुभएको छ । तर, यसको नियमन गर्ने निकाय मुकदर्शक छन् । पेट्रोल पम्पहरुलाई आयल निगमले बेला बेलामा अनुगमन गर्ने, मापदण्डमा ल्याउने गर्नुको साटो बेवास्ता गर्दै आएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँले पेट्रोल पम्प राखेको भवन नगरपालिकाले पास गर्न नसक्ने बताउनुहुन्छ ।

विक्री केन्द्रको छेउछाउमा पर्खाल लगाएको हुनुपर्ने, विक्री स्थलमा महिला पुरुष शौचालय र पार्किङ लगायतको सुविधा हुनु पर्नेमा उक्त पूर्वाधारको समेत पेट्रोल पम्पमा अभाव रहेको पाइएको छ । नगरपालिकाले आवासीय घर भनेर पाँच तलाको अनुमति दिए पनि अहिले उक्त भवन छ तला निर्माण समेत गरिएको छ ।

तर, यस विषयमा पेट्रोल पम्पका सञ्चालक हरिबाबु सापकोटाले आफ्नो पेट्रोल पम्प मापदण्ड अनुसारकै रहेको जिकिर गर्नुभयो । २०५१ सालमा लाइसेन्स ल्याएका कारण आफ्नो पेट्रोल पम्प सोही मापदण्ड अनुसारको भएको उहाँको दाबी छ । आफ्नो दुई रोपनी जग्गा भएको र मोहोडाको समेत मापदण्ड पुग्ने उहाँले बताउनुभयो । उहाँले बजार भित्रै भएको अर्को पेट्रोल पम्प समेत हटाएर देखाउनका लागि उहाँले चूनौति समेत दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *