किन काटियो इन्टरनेट र केवुल टिभीको तार ? अब के हुन्छ ?

डम्मर बुढा मगर, बागलुङ
नेपाल विद्युत प्राधिकरणले देशभर इन्टरनेटको तार काट्न थालेसँगै बागलुङमा पनि पाँच इन्टरनेट तथा केबुल टिभीको तार काटिएको छ । प्राधिकरणले पोल भाडा नतिरको भन्दै बागलुङका विभिन्न पाँच सेवा प्रदायकको तार काटेको हो ।

केन्द्रीय निर्देशन अनुसार बागलुङमा पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक तथा केवुल टिभीको विभिन्न ठाउँमा तार काटिएको नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख इन्जिनियर दिलिप मरासिनीले जानकारी दिनुभयो । प्राधिकरणले बागलुङको मालिका, रमेटार, दारेगौडा लगायतका स्थानमा तार काटेको उहाँको भनाई छ ।

प्राधिकरणले सुरुवाती चरणमा वल्ड लिंक कम्युनिकेसन, बागलुङ केबल, सूर्य सञ्चार, पोखरा इन्टरनेट र टेकमाइन्ड नेटवर्क प्रालिको तार काटिएको प्रमुख मरासिनीको भनाई छ । ‘हामीले पटक–पटक पत्राचार गर्दा पनि सम्झौता गर्न नआएको र केही वर्षदेखि बक्यौता रकम भुक्तानी नगरेका कारण बागलुङमा सञ्चालित वल्ड लिंक कम्युनिकेसन, बागलुङ केबल, सूर्य सञ्चार, पोखरा इन्टरनेट र टेक माइन्ड नेटवर्क प्रालिको तार काटिएको छ,’ मरासिनीले भन्नुभयो ।

इन्टरनेट तथा टिभी केवल प्रदायकले २०७५ सालदेखि भाडा तिरेका छैनन् । जिल्लामा अहिले २१ इन्टरनेट तथा टिभी केवल प्रदायकले नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गर्दै आएका छन् । जस मध्ये अहिले सम्म नौँ वटा सेवा प्रदायकले मात्रै प्राधिकरणसँग सम्झौता गरेका छन् ।

सम्झौता भएका इन्टरनेट तथा टिभी प्रदायकले २०७५ सालदेखि पोल भाडा नतिरेको विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख मरासिनीले जानकारी दिनुभयो । सम्झौता भएका ८ सेवा प्रदायकले २०७५ सालदेखि हालसम्मको २८ लाख ४५ हजार ९६९ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सबै भन्दा बढी बागलुङ केवल टिभी प्रालि र सबै भन्दा कम पोखरा इन्टरनेट प्रालिले तिर्न बाँकी छ । बागलुङ केवल टिभी प्रालिको २ लाख २१ हजार ४०९ रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ भने पोखरा इन्टरनेट प्रालिले आठ हजार ४७५ रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

कुश्मी केवल प्रालिले ९१ हजार ९५३, बलेवा भैरव नेटवर्क प्रालिले एक लाख २३ हजार, वीपी केवल नेटवर्क प्रालिले ५६ हजार १३७, सिगाना केवल टिभी एक लाख १४ हजार ४१२, गलकोट मिलन केवल प्रालिले एक लाख १२ हजार २००, सूर्य सञ्चार प्रालिले ६३ हजार ९००, वल्डलिङ कम्युनिकेशन प्रालिले ६१ हजार ८०० रुपैँयाँ बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

टेकमाइन्ड नेटवर्क बलेवा, टेकमाइन्ड नेटवर्क गलकोट, पोखरा इन्टरनेट गलकोट, टेकमाइन्ड नेटवर्क गलकोट, सुविसु गलकोट, टेकमाइन्ड नेटवर्क राङखानी, टेकमाइन्ड नेटवर्क पोखरा–कुश्मिसेरा, इन्टरनेट म्याक्स कुश्मिसेरा, प्रभु बलेवा, वयव सरोवर बलेवा, म्याक्स बलेवा र टिप्लीङ्क बलेवाले भने अहिलेसम्म प्राधिकरणसँग सम्झौता बिनै सेवा बिस्तार गरेको वितरण केन्द्र प्रमुख मरासेनीको भनाई छ ।

आइतबार उर्जा मन्त्रीको संयोजकत्वमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चार मन्त्रालय र केवुलहरुको प्रतिनिधिहरु बिच भएको बैठकले बक्यौता रकम तिर्न रहेका केवल तथा इन्टरनेट सेवा प्रदायकलाई कात्तिक ३० गते सम्मका लागि समय दिएको र यस अवधीमा नयाँ लाइन बिस्तार गर्न नदिने निर्णय भएको मरासेनीले जानकारी दिनुभयो । उहाँले अहिले काटिएका लाइनहरु पनि जोड्न दिने र कात्तिक ३० पछि पनि बक्यौता रकम नतिरे अर्को विकल्प खोज्ने बताउनुभयो ।

वल्ड लिङ्क कम्युनिकेशन प्रालि बागलुङका प्रमुख विनोद केसीले सबै सम्झौता केन्द्रीय कार्यालयबाट भएको हुँदा प्राधिकरणले दिएको पत्रलाई केन्द्रमा पठाएको र बक्यौता रकम तिर्ने भन्दा पनि प्राधिकरणले केही ठाउँमा इन्टरनेटका तार काटेको बताउनुभयो । कम सेवाग्राही भएको ठाउँमा तार काटिँदा सेवाग्राहीलाई खासै समस्या नपरेको हुँदा गुनासो नभएको उहाँको बुझाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *