पोखरालाई ढोरपाटनसंग जोड्न साईकल यात्रा

आदर्श अनलाइन, बागलुङ
पोखरालाई बागलुङको ढोरपाटन संग जोड्नका लागि पर्यटन अभियान्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साईकल यात्रा थाल्नुभएको छ । पर्यटन प्रर्बद्धन गर्दै पोखराका पर्यटनहरुलाई ढोरपाटन ल्याउनका लागि उहाँले बिहीबार पोखराबाट साईकल यात्रा थाल्नुभएको छ ।

विभिन्न समयमा पर्यटन प्रर्बद्धनात्कम अभियान चलाउदै आउनुभएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्बद्धनका लागि साईकल यात्रा गरेको बताउनुभयो । विश्व पर्यटन दिवसको अवसरमा ६ दिने साइकल यात्रा थाल्नुभएको हो । साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ बजार आउनुभएका केसी म्याग्दी हुँदै ढोरपाटन पुग्ने योजना रहेको बताउनुभयो ।

धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा सांकेतिक भएको साईकल यात्री तथा पर्यटन अभियान्ता कृष्ण केसीले बताउनुभयो । केसीलाई शुक्रबार बिहान बागलुङ कालिका मन्दिर परिसरमा बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र कालिका भगवती गुठी व्यवस्थापन समितिले स्वागत समेत गर्नुभएको छ । बागलुङमा जन्मनुभएको केसीले पर्यटन अभियानलार्य निरन्तर रुपमा प्रर्बद्धन गर्दै आउनुभएको छ ।

“धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचार प्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित बनेको कुस्मा र बलेवा जोड्ने बन्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु” केसीले भन्नुभयो “११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिका देखि ढोरपाटन पुग्ने योजना छ ।”

पर्यटन प्रर्बद्धनका लागि एक्लै यात्रा गरेर सांकेतिक रुपमा शन्देस दिन खोजेको बताउदै निर्वाचन पछि पोखराका पर्यटन व्यवसायीहरुलाई ढोरपाटन उतार्ने योजना रहेको बताउनुभयो । साईकल यात्राका क्रममा पर्वत, बागलुङ र म्याग्दीका पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ तथा पर्यटन प्रर्बद्धन अभियान्तासंग भेटघाट गर्दै हिड्ने कार्यक्रम रहेको छ ।

जनयुद्धका विषयमा किताब समेत लेख्दै आउनुभएका केसीले लोलुफेरा प्रर्बद्धनमा ठूलो भुमिका निभाई सक्नुभएको छ । नेपालका ७७ जिल्ला भ्रमण गरिसक्नुभएका केसीले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजनाहरु ल्याउदै आउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा ११ गते ढोरपाटनमा घोडाजात्राको आयोजना गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *