इमेजका संस्थापक अध्यक्ष नेपाली सम्पर्कविहीन, बचतकर्ताको रकम डुब्न नदिन पहल गर्छौ : रजिष्ट्रार अर्याल


आदर्श अनलाइन, बागलुङ
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष देव कुमार नेपाली सम्पर्कविहीनभएपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

इमेज सहकारीका बचतकर्ताले आइतबार रजिष्ट्रार कार्यालयमा बचत जोखिममा पर्न लागेको भन्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निवेदन दिएपछि रजिष्ट्रार कार्यालयले तत्काल आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

इमेज सहकारीको समस्याका बारेमा औपचारिक रुपमा आइतबार मात्र बचतकर्ताहरुको निवेदन आएको छ, सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रोशन अर्यालले भन्नुभयो,–‘निवेदन आउदा साथ हामीले इमेजको समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि आजै एउटा टिमलाई जिम्मेवारी दिइसेका छौ, भोलीदेखि नै टिमले कानुनी प्रक्रिया अगाडि बढाउछ ।’

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सहकारी संघ लगायत सरोकारवालाहरुसंग समन्वय गरेर सहकारीका बचतकर्ताहरुको रकम डुब्न नदिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने रजिष्ट्रार अर्यालले बताउनुभयो ।
संस्थाको सम्पत्ती दायित्वको अवस्था पहिचान गरी संस्थापक अध्यक्ष देव कुमार नेपाली, वर्तमान सञ्चालक समितिका पदाधिकारी सदस्यहरुको सम्पत्ती तत्काल रोक्का गर्ने र बचत फिर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने अर्यालले जानकारी दिनुभयो ।

सहकारीका बचतकर्ताहरुको रकम जोखिममा नपरोस भनेर हामी सचेत छौ, हामीलाई निवेदन आएको एकाध घण्टामा नै यसको समाधानको उपायका बारेमा अध्ययन गर्न तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिइएको भन्दै उहाँले सरोकारवाला सबैको सहयोगको अपेक्षा समेत गर्नु भएको छ ।

इमेज सहकारीका बचतकर्ताहरुले संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपालीले ६ महिना भित्र रकम फिर्ता गर्ने प्रतिवद्धता गरेको २ दिन पछि नै सम्पर्क विहिन भएकोले बचतकर्ताहरुको रकम जोखिममा पर्न नदिन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन भन्दै रजिष्ट्रार कार्यालयमा निवेदन दिएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाले संस्थामा तरलता अभाव भएको भन्दै गत बैशाख ७ गते एक्कासी कार्यालय वन्द गरेपछि बचतकर्ताहरु आक्रोशित भएर रकम फिर्ताका लागि दवाव दिएका थिए ।

जिल्ला सहकारी संघको समन्वयमा पटक पटकको छलफल पछि संस्थापक अध्यक्ष देव कुमार नेपालीले बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाउदै बैशाख १२ गतेदेखि साप्ताहिक रुपमा ५ हजार रुपैया फिर्ता गर्ने गरी कार्यालय सञ्चालनमा आएको थियो ।

यो बीचमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि पहल भैरहेको, आफ्नो जग्गा जमिन बेच्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको भन्दै नेपालीले बचतकर्ताहरुलाई आश्वस्त पार्दै आउनु भएको थियो ।

जेठ १ गते आइतवार इमेज सहकारीका तर्फबाट बचतकर्ताहरुको भेला आयोजना गरिएको थियो । भेलामा नेपालीले संस्थाको सम्पूर्ण हिसाव मिलान गर्नका लागि ६ महिनाको समय माग गर्नु भएको थियो । बचतकर्ताहरुले समय थप गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका र जिल्ला सहकारी संघसंग बसेर विश्वासनीय वातावरण बनाउन आग्रह गरेका थिए ।

हामीले बचत फिर्ता हुने ग्यारेण्टी सहित सरोकारवालाहरुसंग बसेर सहमति गर्न आग्रह गरेका थियौ, उहाँले एकहप्ता भित्र सरोकारवालाहरुसंग बसेर विश्वासको वातावरण बनाउछु भन्नु भएको थियो तर उहाँले हाम्रो भावना विपरित सम्पर्क विहिन भएपछि हामी कानुनी बाटो खोज्न वाध्य भयौ, बचतकर्ताहरुको भनाइ छ ।

बचतकर्ताहरुको आग्रह अनुसार १ हप्ताभित्र सबै सरोकारवालाहरुसंग बसेर विश्वासको वातावरण बनाउने भन्दै कार्यक्रम समापन गरेका नेपाली जेठ ४ गतेदेखि सम्पर्कविहीन रहनु भएको छ ।

आफुले गरेको प्रतिवद्धता विपरित सम्पर्कविहीनभएको भन्दै संस्थामा बचत गरेका बचतकर्ताहरु जेठ ७ गते आइतवार बिहानैदेखि कार्यालय घेर्नुका साथै जिल्ला प्रशासन र सहकारी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका छन् ।

नेपालीले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा उपचारका लागि जानु पर्ने भएकाले परिवारको सुरक्षाका लागि आग्रह गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । नेपाली सम्पर्कविहीन भएपछि बचतकर्ताहरुको उजुरी पछि गृहलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

बचतकर्ताहरुसंग ६ समय थपका लागि अनुरोध गरेको मान्छे एक्कासी सम्पर्क विहिन भएपछि बचतकर्ताहरु यतिबेला तनावमा छन् । बचतकर्ताहरुले नेपाली सहित संस्थासंग सम्बन्धित व्यक्तिहरुलाई कानुनी कार्वाही गर्न, बचतकर्ताको रकम सुरक्षित गर्नका लागि सरोकारवाला निकायहरुलाई आग्रह गरेका छन् ।

देवकुमार नेपाली अध्यक्ष भएर पोखरा, बागलुङ, गलकोट र बुर्तिबाङमा इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको थियो । बचतकर्ताहरुलाई मागेको बखत तत्कालै रकम फिर्ता गर्ने प्रतिवद्धता सहित संस्था सञ्चालन गरेका नेपालीले समस्या आउन थालेपछि डोर बहादुर परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु भएको थियो ।

कार्यवाहक अध्यक्ष परियारसहित नेपालीको सबै परिवार यतिबेला सम्पर्कविहीन छ । परिवार नै सम्पर्कविहीन भएपछि आफ्नो रकम डुब्ने आशंकामा बचतकर्ताहरु आन्दोलित भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *