आय आर्जनको माध्यम बन्यो ‘विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’


खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ सिरुवारेका मुना सुनारको घरमा अहिले तीन वटा बाख्राका पाठा छन् । सुनार मात्रै हैन उक्त गाउँका अधिकांशको घरमा अहिले वाख्राका उन्नत जातका पाठा भेटिन्छन् । विपन्न बस्तीको रुपमा रहेको उक्त गाउँमा विपन्न बस्तीमा मुख्य मन्त्री कार्यक्रम मार्फत स्थानीयहरुलाई आयआर्जनमा सघाउनका लागि बाख्राका पाठा, बोयर बोका, भैसीको पाडी र राँगो वितरण गरिएको छ ।

“आय आर्जनका लागि बाख्रा पाल्ने सोचमा थियौ, तर पूँजी थिएन, अहिले गाउँमा विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम आएको रहिछ, अहिले तीन वटा बाख्राका पाठी पाएको छु,” सुनारले भन्नुभयो “अब यिनै तीन वाख्राका पाठालाई पूँजीको रुपमा लिएर बाख्रापालनलाई बढाउदै लैजाने छु ।”

सुनारले विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमले यहाँका विपन्न दलित समुदायहरुलाई राहत पुगेको बताउनुभयो । झमे दर्जीले विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम मार्फत तीन वटा पाठी पाउदा निकै खुसी भएको बताउनुभयो । उहाँले पाठीलाई हुर्काएर व्यवसायीक बाख्रापालन गर्ने बताउनुभयो ।

“तीन वटा पाठी पाएको छु, बाख्रा पालनका लागि खोर बनाउने तयारीमा छु, यहाँका विपन्न दलित समुदायलाई आय आर्जनको माध्यम बन्ने छ यो विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम” दर्जीले भन्नुभयो “पाठी पालेर हुर्काउन सके एक वर्षमा ६ वटा पाठापाठी बढ्नेछन्, हार्मीलाई आर्थिक उपार्जनको माध्यम बन्नेछ ।”

गण्डकी प्रदेशको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा छनौट भएको मल्मको सिरुवारे गाउँका सुनार र दर्जी जस्तै अहिले ५४ परिवारले उक्त कार्यक्रम मार्फत लाभान्वित भएपछि विपन्न बस्तीका स्थानीयलाई राहत भएको छ ।

नमूना कृषि समूह गठन गरिएको उक्त गाउँमा हालै मात्र ५० वाख्राका पाठी, १० वटा भैसीका पाडी, दुईवटा बोयर बोका र एक राँगो बितरण गरिएको हो । स्थानीयहरुलाई आय आर्जनसंग जोड्नका लागि गाउँमै कुटनीपिसनीको लागि मिलको व्यवस्था समेत मिलाइएको छ ।

गण्डकी प्रदेश मार्फत कृषि ज्ञान केन्द्र बागलुङको रु. १७ लाख ९५ हजार र स्थानीयको १० प्रतिशत लागत साझेदारी गरी जम्मा रु. १९ लाख ९४ हजार लागतमा विपन्न बस्तीमा बाख्राका पाठी, भैसीका पाडी, बोयर बोका र राँगो वितरण गरिएको हो ।

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्र्तगत सिरुवारेमा १० टन बेसारको बिउँ लिएर बेसार खेती थालिएको स्थानीय तेज बहादुर दमैले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिरुवारे गाउँमा दुई वटा सुन्तलाको बगैचा र सिचाईका लागि ५४ घरलाई नै पाइप वितरण गरिएको छ । दुई वटा सुन्तला बगैचा निर्माणका लागि ५०÷५० विरुवा रोपण गरिएको दमैले बताउनुभयो । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमले दलित समुदायको आय–आर्जनमा वृद्धि हुने नमूना कृषि समूहका अध्यक्ष तिले बहादुर दर्जीले बताउनुभयो ।

“दलित समुदाय रहेको सिरुवारे गाउँलाई विपन्न गाउँका रुपमा गण्डकी प्रदेशले छनौट गरेको थियो, अहिले कार्यक्रम लागु भइसकेपछि स्थानीय खुसी भएका छन्, समूह मार्फत आवश्यकताका आधारमा पाठी, बोका, राँगो र पाडी बितरण गरेका हौं” दर्जीले भन्नुभयो “आय आर्जनको दीगो माध्यम बनाउन सहयोग मात्रै हो, बाँकी मेहनत समूहका सदस्यहरुले गर्न आवश्यक छ, अनुदानलाई आम्दानीमा बदल्न आवश्यक छ ।”

दलित बस्ती रहेको मल्मको सिरुवारेलाई आर्थिक उपार्जनसंग जोड्नका लागि विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमले राहत पु¥याउने गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयो । अनुदानमा दिएको बस्तुलाई राम्रो पालन पोषण गर्न सकेमा दलित बस्तीको आर्थिक अवस्थामा सुधार आउने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताउनुभयो ।

उहाँले विपन्न नागरिकलाई विउँ पूँजीका रुपमा मात्रै राज्यले अनुदान दिएको बताउदै पूँजीको संरक्षण र विस्तार स्थानीयलेनै गर्न आवश्यक रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *