कोदोबाट बिस्कुट उत्पादन गर्दै लेखानीका श्रीस


खेमराज गौतम, बागलुङ

पुरानो खाद्य बालीको रुपमा रहेको कोदोलाई बागलुङमा ब्राण्डीङ गर्न थालिएको छ । बागलुङमा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योग मार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बजार पठाउनुभएको छ ।

गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धान पछि श्रीस कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गर्नुभएको हो ।
२०७७ सालमा स्थापना गरिएको उद्योगले अहिले बल्ल कोदोको बिस्कुट उत्पादन गरेर बजारमा पु¥याएको श्रीसको भनाई छ ।

गाउँमा उत्पादन भइरहेको कोदोको महत्व जगाउदै कोदोको स्वादमा जागा इन्टरनेशनल इन्भेष्टमेन्ट एण्ड रिसर्च सेन्टर प्रालिले कोदोको बिस्कुट बजारमा पु¥याइएको छ । लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययन पश्चात पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी चानसिंह श्रीसले जानकारी दिनुभयो । कोदो पछि आलुको बिस्कुट बजारमा पठाउने उहाँको योजना रहेको छ ।

“जागिरको मानसिकता थिएन, पाँच वर्ष काठमाण्डौमा रेष्टराँ व्यवसाय गरे, पढाईमा स्नातक सकेपनि जागरि खाइन, कोरोना कालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो, यही उद्योगमा लागे” श्रीसले भन्नुभयो “५० लाख लगानीमा कोदोको बिस्कुट बजारमा पु¥याएको छु, अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ, कोदोको बिस्कुटको निकै राम्रो संभावना देखेको छु ।”
कुनै समय गरिबको खानाको रुपमा चिनिएको कोदोको परिकारको महत्व पछिल्लो समय बढिरहेको सन्दर्भमा बागलुङका युवा व्यवसायी श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गर्नुभयो ।

आफूले सिए अध्ययन गर्ने क्रममा विभिन्न उद्योगहरुको अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेको बताउदै सिए बन्ने सपना पुरा नभएपनि उद्यमी बन्ने सपना पुरा गर्न तर्फ लागेको बताउनुभयो । अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई रु. २० मा बजार पठाएको बताउनुभयो ।

उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामिण साना घरेलु उद्योग स्थापना कार्यक्रम अन्र्तगत रु. १० लाख अनुदान पाएपछि आफूले उद्योग शुरु गरेको उहाँको भनाई छ । गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्राण्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उहाँको भनाई छ ।

“पछिल्लो समय कोदो खेति कम हुँदै आएको छ, संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको कोदोलाई गाउँमै उद्योग स्थापना गरि बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानहरु समेत उत्साहित हुन थालेका छन्” उहाँले भन्नुभयो “बजारमा गहुँ, जौ र मकैको बिस्कुट आएपनि कोदोको बिस्कुट आएको थिएन, कोदो, गहुँ, घिउ र तेलको समिश्रणमा उक्त बिस्कुट तयार हुन्छ, माग बढ्दै गएपछि उत्पादन बढाउने योजनामा छु ।”

बागलुङको बजारमा बिक्रिका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको मात्रै छैन नमूना बजारीकरणका लागि पोखरा र काठमाण्डौंको सुपर मार्केटमा समेत पठाएको उहाँको भनाई छ ।
आफुले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो । अर्गानिक गाउँको उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उहाँको भनाई छ ।

दैनिक ६० केजी बिस्कुट उत्पादन गर्ने क्षमता उद्योगको रहेको छ । उद्योगमा अहिले दुई जनालई प्रत्यक्ष रोजगारी समेत दिइएको छ । कोदोको बिस्कुटको प्याकेजीङमा कृषि ज्ञान केन्द्रले सघाउने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *