बागलुङमा सुन्तला खेतीप्रति आकर्षण : यस वर्ष १८ करोडको विक्री

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल पनि बढ्दै गएको छ । बसाइँसराइले गाउँ रित्तिदै गएपछि पहिले कादो, मकै, गहुँ लगायतका अन्न बाली फल्ने बारीमा अचेल सुन्तला खेती गर्न थालिएको छ । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषकहरु सुन्तला खेतीप्रति आकर्षित भएका हुन् । कृषि ज्ञान केन्द्रका अनुसार वि.सं. २०७६ सालमा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा हालसम्म आउँदा बढेर ६१८ हेक्टर पुगेको छ । चार वर्षको अवधीमा ३३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती बिस्तार भएको छ ।

बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहज रुपमा पाउने हुँदा खेती बिस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताउनुभयो । जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बबढी सुन्तला उत्पादन हुने उहाँको भनाइ छ । भौगोलिक बनावट र हावापानी अनुसार १० वटै पालिकामा धेरै थोरै सुन्तला उत्पादन हुने गरेको पुनले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिक टन उत्पादन कम भएको छ ।

पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीन हजार ९८५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष तीन हजार ९४० मेट्रिक टन मात्रै उत्पादन भएको छ । पोहोर साल २० करोड बढीको सुन्तला विक्री भएकोमा यस वर्ष १८ करोडको मात्रै उत्पादन भएको उहाँको भनाइ छ । बागलुङमा सुन्तला व्यवस्थापनमा किसानले ध्यान नदिँदा उत्पादनमा ह्रास आएको पुन बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रले सुन्तला खेती गर्ने किसानलाई आवश्यक अनुदानसँगै बगैचा व्यवस्थापन र प्राबिधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ । मल, जल र बगैचा व्यवस्थापनम कृषकले ध्यान दिए बागलुङमा धेरै मात्रामा सुन्तला उत्पादन गर्न सकिने सूचना अधिकारी पुनले बताउनुभयो ।

“बागलुङमा सुन्तला उत्पादन राम्रो हुन्छ, यहाँका धेरै किसानले मेहनत पनि गर्नु भएको छ, तर यस वर्ष बगैचा व्यवस्थापन सही नहुँदा उत्पादन घटेको छ, तर खेती बिस्तार भने तीव्र रुपमा भइरहेको छ,” सूचना अधिकारी पुनले भन्नुभयो – “कृषि ज्ञान केन्द्रबाट कृषकलाई प्राबिधिक सहयोगसहित अनुदान र तालिम प्रदान गर्दै आउका छौँ, वर्षेनी खेती बिस्तार भएको छ, पहिले खाद्यबाली खेती हुने बारीमा अहिले सुन्तला लगाउन थालेका छन् ।”

बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले यस वर्ष ६ लाखको सुन्तला विक्री गरेको बताउनुभयो । आफ्नो बारीमा २०० बोट सुन्तला रहेको भन्दै आधाभन्दा बढीले उत्पादन दिन थालेको उहाँको भनाइ छ । यस वर्ष दुई प्रतिशतले उत्पादन बढेको खड्का बताउनुहुन्छ । सिगाना गाउँमा यो वर्ष करिब साढे दुई करोड रुपैयाँ भित्रिएको उहाँले बताउनुभयो । सिगाना गाउँमा मात्रै ४० हजार सुन्तलाको बोट रहेको खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो – “अन्य खेतीलाई जस्तो धेरै झण्झट गर्न नपर्ने, बेला–बेला गोडमेल र सिंचाइ गरे हुन्छ, उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ, सुन्तला खेती गरेपछि पछुताउनु पर्दैन, कहिलेकाहीँ विभिन्न रोग र प्रकोपले दुःख दिन्छ, नत्र सुन्तला खेती राम्रो हुन्छ, पहिले गाउँका थोरै मात्रै किसानले सुन्तला खेती गर्थे, अहिले प्रत्येक परिवार यसमा आबद्ध हुँदै गएका छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *