यसरी मनाइयो बागलुङमा प्रहरी दिवस (तस्बिर सहित)

–आदर्श अनलाइन
६४ औं प्रहरी दिवस बागलुङमा बिशेष समारोहका साथ मनाइएको छ ।

दिवसका अवसरमा अव्बल प्रहरीको रुपमा कार्यसम्पादन गरेका प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराई सहित २१ जना प्रहरी अधिकृत तथा जवानलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बर्दी बिनाको प्रहरीको रुपमा सामुदायिक प्रहरी सेवा केन्द्रका तर्फबाट उत्कृष्ट कार्य, सहयोग र समन्वय गर्ने सामुदायिक सेवा केन्द्र बानपा ३ गुठीका अध्यक्ष लिला खड्का र सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका–१ रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यलाई सम्मान गरिएको थियो ।

प्रहरी कार्यालय परिसरमा आयोजित बिशेष समारोहमा बोल्दै प्रमुख अतिथि संघीय सांसद मनकुमारी केसीले नेपाल प्रहरी एकाध घटना बाहेकको अनुसन्धानमा सफल रहेको बताउनुभयो । उहाँले सिमित स्रोत साधनका बीचमा पनि प्रहरीले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खेलेको भुमिका प्रशंसनीय भएको भन्दै आगामी दिनमा कमजोरीहरुलाई सुधार गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नेपाली कांग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नागरिक समाजका संयोजक काजीगाउँले श्रेष्ठ, पूर्व प्रहरी जिल्ला संगठन बागलुङका अध्यक्ष माधब श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयले लागु औषध दुव्र्यसन नियन्त्रणका लागि चालेको कदमको वक्ताहरुले प्रशंसा गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रमुख नवराज भट्टले प्रहरीको विकल्प सुधारिएको प्रहरी मात्र हुन सक्ने भएकाले आगामी दिनमा दुर्वल पक्ष कम गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजमा बिद्यमान चोरी, अपराधजन्य घटनाको प्रभावकारी अनुसन्धानका लागि प्रविधीमैत्री हुनुपर्नेमा जोड दिदै यसका लागि आवश्यक सिप, कला, कौशल सम्बन्धि तालिम समेत प्रदान गरिने बताउनुभयो । कार्यक्रममा एपसी भट्टले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले पठाएको सन्देश तथा जिल्ला प्रहरी कार्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी नायव उपरिक्षक झबिद्रप्रसाद भट्टराई स्वागत मन्तव्य र प्रहरी निरिक्षक नरेन्द्रजंग कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *