महले फेरिएको सोम बहादुरको जीवनी

आदर्श अनलाइन, तनहुँ
तनहुँ शुक्लागण्डकी नगरपालिका-२ एक्लेखेतका ३५ वर्षीय सोमबहादुर पुलामी शिक्षक बन्न चाहनुहुथ्यो । तर, उहाँ मौरीपालक किसान बन्नुभयो । उहाँलाई मौरीको गुलियो रस (मह)ले यसरी भुलाइदियो कि आफ्नो लक्ष्य नै बिर्सिनुभयो । लक्ष्य बिर्सिए पनि उहाँलाई कुनै गुनासो छैन । महले उहाँको जिन्दगी मह जस्तै गुलियो पारिदिएको छ । सोम बहादुरले आफू मात्रै होइन मौरी पाल्न चाहना राख्ने किसानलाई पनि सघाइरहनु भएको छ । मौरीको घार र मह बेच्दै आउनुभएका उहाँ आफ्नो आम्दानीबाट समेत सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मौरीपालनले मौरी जस्तै कर्मशील बन्न प्रेरित गरेको छ ।’ 

गुलियो मह भएको मौरीको चाका खुब मन पर्ने बताउनु हुने पुलामी छरछिमेकमा मह काट्दा चाका चाख्न पछि लाग्नुहुन्थ्यो । छिमेकीले कहिले दिन्थे, कहिलेकाहीँ दिँदैन थिए । छोराले मह असाध्यै रुचाउने भएपछि बुबा मनबहादुरले २०५८ सालमा घरमा एउटा मौरीको घार ल्याइदिनुभयो । त्यसपछि उहाँमा मौरीको महमा अझै चाख बढ्यो । कक्षा आठमा पढ्ने उहाँको ध्यान पढाइसँगै मौरीमा हुन्थ्यो । ‘त्यही एउटा मौरीको घारमा खेल्दाखेल्दै तीन वटा घार बनाए । के मिलेन सबै मासियो । फेरि अर्को घार ल्यायौँ । ज्ञान थिएन उतिखेर । आफैँले मौरीसँग खेल्दाखेल्दै सिकियो । त्यसपछि एउटाबाट दुई घार भयो । दुईबाट चार हुँदै अहिले सय घार छन्,’ पुलामीले भन्नुभयो । 

२०६५ सालसम्म आइपुग्दा उहाँसँग ३० वटा मौरीको घार भए । त्यतिबेलासम्म उहाँ मौरीको मह मात्र काट्नुहुन्थ्यो र धेरथोर आम्दानी लिन सफल हुनुहुन्थ्यो । गुलियो मौरीको महले गुलियो आम्दानी दिन थालेपछि उहाँले शिक्षक बन्ने सपनालाई थाती राख्दै अगाडि बढ्नुभयो । बनाइसकेको शिक्षण अध्यापन अनुमति पत्रलाई सिरानीमा थन्क्याउनुभयो । ‘मसँग ३० घार मौरी भएको थियो । २०६५ सालमा मौरीसहितको घार माग्नु भो एक जना सरले । उहाँलाई केही घार दिए । हातमा राम्रै पैसा प¥यो । किसानको हातमा पैसा परेपछि हौसला थपिने रहेछ ! मौरीपालनमा झन् चाख बढ्यो । अब निरन्तरता दिनुपर्छ भनेर झनै बेस्सरी लागे । महसँगै मौरीसहितको घार बेच्न थाले,’ उहाँ सुनाउनुहुन्छ । 

पुलामीको मौरीपालन उद्योगमा एक सय घार मौरी छन् अहिले । उहाँले श्रीमती शीतलको नाममा पुलामी मौरी पालन तथा घार उद्योग सञ्चालन गर्नुभएको छ । उहाँले पछिल्ला वर्षहरूमा मह कमै काढ्नुहुन्छ । मौरीसहितको घार बढी बिक्री हुने उहाँको भनाइ छ । मौरीपालनमा आकर्षण बढी भएकाले मौरीको चाकासहित घार बिक्री बढेको उहाँले बताउनुभयो । 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मौरीसहितको घारको माग बढेको पुलामी बताउनुहुन्छ । ‘सरकारी बजेटमा किसानलाई घार बाँड्नलाई धेरै माग आउने गर्छ,’ उहाँ अगाडि थप्दै भन्नुहुन्छ, ‘कहिलेकाहीँ घार बिकेन भने पनि सिजनको बेला मह काढेर बिक्री गर्छु । महको पनि घारको जस्तै बजार राम्रै छ । आम्दानी राम्रै हुन्छ ।’ बर्षमा १५० भन्दा बढी गोलासहितको घार बिक्री गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सानो घारको चाकासहित सात हजार पाँच सय रुपैयाँ मूल्यमा बिक्री हुन्छ । ठूलो घारको नौ हजार पाँच सय रुपैयाँमा बिक्री हुन्छ । मह र घार बिक्रीबाट १५ लाख रुपैयाँसम्म आम्दानी हुने पुलामीले जानकारी दिनुभयो । 

पुलामीले तयार पारेको मौरीसहितको घार तनहुँसँगै कास्की, पर्वत, लमजुङ, मनाङका गाउँगाउँमा छ । जहाँजहाँ उहाँको मौरीको घार देखिन्छ उहाँलाई खुसी र सन्तुष्टि मिल्छ रे । तर, कहिलेकाहीँ मौरीसम्बन्धी ज्ञान नभएकाले निराश बनाइदिने उहाँ बताउनुहुन्छ । ‘कसैले रहरले लान्छन् । कोहीले व्यावसायिक बन्नलाई घार लैजान्छन् । मौरी पाल्न तालिम लिनुपर्छ । तालिम नभएकाले लैजादा अपजस बढी पाइन्छ ।’ उहाँ भन्नुहुन्छ ।

मौरीको घारको माग बढेपछि उहाँले एक्लेखेतमा २०७१ सालदेखि फर्निचर उद्योग सञ्चालनमा ल्याउनुभएको छ । ‘ठूलोबाले बनाइदिनुहुन्थो सुरुमा घारहरू । त्यसपछि म सिक्दै गए । बाहिरबाट ल्याउँदा महँगो पर्ने भएकाले घार बनाउन थाले । र पछि फर्निचर उद्योग चलाउने सोच आयो । मौरीको घार निर्माणसहित काठसँग सम्बन्धित सबै काम उद्योगमा हुन्छ । गाउँतिरबाट काठको काम धेरै आउने भएकाले फर्निचरबाट कमाइ राम्रै छ ।’ उहाँले भन्नुभयो । फर्निचरमा चारजनाले रोजगारी पनि पाएका छन् । 

मौरीपालन अरू पेशाको तुलनामा निकै सहज रहेको उहाँको २० वर्षे अनुभवले बताउँछ । ‘अरू पेशामा जस्तो मौरीपालनमा घामपानी भन्न पर्दैन । दिनको एक घण्टा मात्र समय दिए पुग्छ । आक्रमण गर्ने जिवजन्तुबाट जोगाउन सक्यौँ र झरी परेको बेला अहाराको व्यवस्थापन गर्न सकियो भने राम्रै गर्न सकिन्छ,’ पुलामी आफ्नो अनुभव सुनाउनुहुन्छ । तालिम र आधारभूत ज्ञानविना हचुवाको भरमा मौरीपालनमा नलाग्न उहाँको सुझाव छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *