अल्लोको कपडा बनाउने सीपले जगायो उत्साह

आदर्श अनलाइन, लमजुङ
कुनै समय रोजगारीको खोजीमा भौतारिएकी बेसीशहर नगरपालिका-९ शीतलपाटीकी सन्तोषी विक अहिले खुसी हुनुहुन्छ । माघको दोस्रो साताअघि बेसीशहरका कार्यालय तथा संघसंस्थामा काम खोज्दै भौतारिइरहनु भएकी सन्तोषीलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उहाँ अचेल आफ्नो सीप देखाएर राम्रो कमाइ गर्ने अवसरको खोजीमा हुनुुहुन्छ ।

उहाँ जस्तै मौसमी काम गरेर दैनिकी चलाउँदै आउनुभएकी बेसीशहर दुलालटोलकी रुपिना दुलाल पनि कसले काम देला भन्ने पिरलोमा हुनुहुन्न, उहाँमा पनि यतिबेला सीप बेच्न सकियो भने चाहेजति कमाउन सकिन्छ भन्ने विश्वास भरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङबाट अल्लो प्रशोधन र कपडा उत्पादनसम्बन्धी दुई महिना अवधिको तालिम पाएपछि उहाँहरू रोजगारीको चिन्तामुक्त भएको हो ।

सन्तोषी, रुपिना मात्र होइनन् उक्त तालिम पाएपछि उहाँहरू सँगैका ११ जनालाई यतिबेला काम खोज्दै हिँड्नुपर्ने बाध्यता टरेको छ । आफ्नो घरायसी कामकाज सकेर फुर्सदको समयमा अल्लोको कपडा बनाएर समयको सदुपयोग र आम्दानी गर्न सकिने भएकाले सीपमूलक तालिम लिएको बेसीशहरकी गंगा भण्डारी थापा बताउनुहुन्छ ।

तालिममा उहाँहरूले अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्सलगायत पोसाक र सामान बनाउने सीप सिक्नुभएको छ । तालिममा अल्लो प्रशोधन गर्ने प्रक्रिया, धागो बनाउने, अल्लोको थान कपडा बनाउने र तानमा उनीको कपडा बनाउने सीप सिकाइएको घरेलु कार्यालय प्रमुख मिताकुमारी थापाले बताउनुभयो ।

तालिममा अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हाते ब्याग, पर्स लगायतका पोसाक र सामान बनाउने सीप दिइएको थियो । यस्तै तालिममा ऊनीको सल, पछ्यौरा जस्ता कपडा बनाउने सीप पनि दिइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय र लमजुङ एग्रिगेट प्रालिले बेरोजगारलाई रोजगार वा स्वरोजगार बनाउने उद्देश्यका साथ विभिन्न ठाउँबाट बेसीशहरमा बसोबास गर्दै आएका इच्छुकहरूलाई तालिम दिइएको हो । सीप सिकौँ स्वरोजगार बनौँ, समृद्ध नेपाल निर्माण गरौँ भन्ने नाराका साथ १७ माघदेखि दुई महिना अवधिको अल्लो प्रशोधन र कपडा उत्पादन तालिम दिइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *