‘कैंची’काे परिचर्चा

आदर्श अनलाइन, बागलुङ
कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथी मंगलवार पोर्चुगलको लिजवनमा परिचर्चा भएको छ । प्रकाशन भएको केही समयमै राम्रो चर्चा बटुलेको कविता संग्रहमा पींधका मान्छेका कथा ब्यथाका साथै मुक्तिका आवाजहरु कवि परियारले समेटेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली समाज, अनेसास पोर्तुगल र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा परिचर्चा कार्यक्रम भएको हो । कविता कृतिलाई बेला प्रकाशनले प्रकाशित गरेको हो ।

‘कैंची’माथी परिचर्चा गर्दै कवि तथा अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव अर्जुन श्रीले नेपाली समाजमा विभेद र उत्पीडनमा पारिएका समुदायका अनेकन विषय र प्रसंगलाई बडो शालिन, सरल र मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।

‘यो ‘कैंची’ एउटा कविताकृती मात्र नभएर नयाँ विचार दृष्टिकोण हो । विभेद र दमन विरुद्धको भद्र आन्दोलन पनि हो । हामीले हिड्न ढिला गर्न नहुने मार्गको मार्गनिर्देशन हो ।’ श्रीले भने, ‘समाजको चक्रलाई सहि ठाउँमा ल्याउन अनेकौं हरिशरणहरू जन्मिनुपर्छ, ‘कैँची’ जस्ता अनेकन कृति लेखिनुपर्छ र यसलाई पढ्नेरसुन्ने र गहन मनन गर्ने हामी लाखौं पाठक तयार हुनुपर्छ ।’

अर्का वक्ता तथा अनेसास पोर्तुगलका अध्यक्ष शवी श्रेष्ठले लेख्नै पर्ने र बोल्नै पर्ने भुँईंमान्छेहरुका सवाल ‘कैंची’मा समेटिएको भन्दै नेपाली समाजका कुरुप संस्कार तोडिनु पर्ने आवश्यकता औंल्याइन् ।

‘नेपाली समाजमा एक मान्छेले अर्कोलाई जसरी विभेद गर्ने र सानो देख्ने जुन कुचलन छ यस्ता सवालहरु यो किताबमा कविता बनेर आएका छन्, अब यस्ताका विरुद्ध सचेतहरु सबै बोल्नै पर्छ ।’ श्रेष्ठले भनिन् ।

सामाजिक अभियन्ता तथा लेखक प्रकाश गजमेरले नेपाली समाजको सामाजिक कुरुती विरुद्ध कविता संग्रह ‘कैंची’ले बुलन्द आवाज उठाएको बताए । ‘हामीहरु २१ औं शताब्दीमा छौं तर, नेपाली समाज पुरानै ढर्रामा छ । जहाँ नेपाली पुगेका छन् त्यहाँ विभेद पुगेको छ । अब लेखेर वा बोलेर सबैले दिमाग हल्लाउने गरी आवाज उठाउनु पर्छ ।’

कवि हरिशरण परियारले आफु र आफ्नो समुदायमाथी भएको विभेद विरुद्ध कविता मार्फ़त विद्रोह गरेको र यसलाई सबैले रुचाई दिएको बताउँदै सचेतहरु सबैले कुरुतीको विपक्षमा बोल्नै पर्ने बताए । ‘हामिले जे भोगेका छौं त्यसैलाई कविता मार्फ़त बोल्ने प्रयास हो र सबैले यो असमानता विरुद्ध आवाज़ उठाउनै पर्छ ।’ कवि परियारले भने ।

उन्मुक्त पुस्ता मार्फत जोडिएर ७० को दशकदेखि निरन्तर कविता साधनामा लागेका युवा कवि परियार लम्जुङका हुन् । हाल पोर्तुगलमा छन् ।

परिचर्चा कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, उपाध्यक्ष डा। स्वामी कृष्ण, प्रगतिशील नेपाली समाज युरोपका अध्यक्ष दीपेन्द्र गहतराज, नेपाली जनप्रगतिशील मोर्चा युरोपका नेता प्रदीप अधिकारी, कवि सोम अनुराग लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमको सन्चालन ऋतु लामाले गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *