गोरखाका सहकारीकर्मीहरुको माग : राष्ट्रिय सहकारी बैंकको शाखा चाहियो


आदर्श अनलाइन, गोरखा

गोरखा जिल्लाका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि स्थापित राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा गोरखामा तत्काल स्थापना गर्न माग गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले शनिवार गोरखा बजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले गोरखामा सहकारी बैंकको शाखा स्थापना गर्न माग गरेका हुन् ।
गोरखाको सहकारी अभियानलाई सबल र सक्षम बनाउन तथा सहकारीमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी क्षेत्रको योगदान थप प्रभावकारी बनाउनका लागि सहकारी बैंकको शाखा आवश्यक रहेको बताएका थिए ।

गोरखामा करिव ४ सय सहकारी संघ संस्थाहरु रहेका छन्, ति सहकारीहरुले राख्नु पर्ने तरलताको रकम सहकारी बाहेकका बैंक तथा वित्तीय संस्थामा राख्न पर्ने वाध्यताको अन्त्य गरी सहकारीको रकम सहकारी क्षेत्रमा परिचालन गर्न सहयोग पुग्ने सहकारीकर्मीहरुको भनाइ थियो । बैंकको शाखा टाढा भएका कारण नियमित कारोबार गर्न नपाएको र सहकारी बैंकसंग कारोबार गर्न नपाउदा सहकारी बैंकले प्रदान गर्ने संरक्षित पूँजि फिर्ताकोषको रकम समेत सहकारीहरुले पाउन नसकेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले जनतालाई सहज रुपमा वित्तीय सेवा दिनुका साथै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपर्ण भूमिका खेलेको सहकारी क्षेत्रलाई सबल र सक्षम बनाउन सहकार्य गर्ने प्रवितद्धता व्यक्त गर्नु भएको थियो ।

गोरखामा सहकारी बैंकको शाखा स्थापना र सञ्चालनमा पालिकाको सक्रिय र प्रभावकारी भूमिका रहने भन्दै उहाँले सहकारी क्षेत्रमा रहेको स्रोत र साधनलाई उत्पादनशिल क्षेत्रमा केन्द्रीत गर्न सुझाव दिन भएको छ ।

कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकर (सपना पुन) ले सहकारीहरुको प्रवद्र्धनका लागि सहकारी बैंकको स्थापना र सञ्चालनमा सहकार्य गरेर अगाडि बढ्ने भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ गोखराका उपाध्यक्ष रामबाबु श्रेष्ठ, महासचिव सरोज देवकोटा लगायतले गोरखा जिल्लामा सहकारीको अवस्था, सञ्चालन प्रक्रिया तथा सहकारीहरुको प्रवद्र्धनका लागि सहकारी बैंकको आवश्यता लगायतका विषयमा धारणा राख्न भएको थियो ।

सहकारीकर्मीहरु शरद बाबु पटेल, रविन अधिकारी, प्रेम श्रेष्ठ, भीम बहादुर खत्री, तुलसी देवकोटा, यदु अधिकारी, सुशिल अर्याल लगायतले सहकारी बैंकको शाखा सञ्चालन गर्न र शाखा सञ्चालनमा गोरखाका सहकारीहरुको सहकार्य र समन्वय हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासाहरुको बारेमा जानकारी गराउदै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीको वित्तीय व्यवस्थापन, संस्थागत विकास, बहस पैरवी र प्रविधिको अधिक उपयोगमा जोड दिनु भएको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी बैंकको विगत, वर्तमान अवस्था र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो । बैंकका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बैंकका सञ्चालक तथा लैगिक समनता उपसमितिका संयोजक पार्वती थापाको स्वागत र बैंकको दमौली शाखाका प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गोरखा र तनहुँ जिल्लाका विभिन्न सहकारी संघ संस्थाका १ सय जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *