सहकारीलाई जोगाउन सदस्य सचेत हुनुपर्छ : जि.सी

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले सहकारी अभियानलाई बलियो बनाउनका लागि सहकारीका सदस्यहरु सचेत हुनु पर्नेमा जोड दिनु भएको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा सञ्चालित सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै जिसीले यस्तो बताउनु भएको हो ।

सहकारीको मुख्य काम सदस्यको आर्थिक सामाजिक रुपान्तरण हो, सहकारीले सदस्यको हित अनुकुलका कामलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ, जिसीले भन्नुभयो–‘सहकारीहरु सदस्यको चाहना र आवश्यकता पहिचान गरेर अगाडि बढ्ने हो भने सहकारीमा समस्या आउदैन ।’

सहकारीमा समस्या आउनुमा सहकारीका सञ्चालक र कर्मचारीको भूमिकासंगै सदस्यहरुको सक्रियता नहुनु पनि समस्या रहेको उहाँको भनाइ थियो । सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारीका सदस्यहरु सचेत हुनु पर्छ र सदस्यहरुलाई सचेत बनाउने काम सहकारीका सञ्चालकहरुको हो जिसीले भन्नुभयो ।

कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालनका लागि गाउँपालिकाले सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीमार्फत सदस्यलाई सचेत र सम्पन्न बनाउने अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीका सदस्यहरुलाई सहकारीमै कारोबार गर्ने, सहकारीको हित हुने कार्यमा योगदान गर्न सक्ने बनाउन सकियो भने सहकारीमा समस्या नआउने बताउनुभयो ।

कार्यक्रममा बिरुवा गाउँपालिका वडा नं. १ का अध्यक्ष राजेन्द्र केसी, हरिनास वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लोकन्द्र बहादुर शाही, शेयर सदस्य तारा कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभा उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कल्याण कुमार पोखरेलको अध्यक्षता, उपाध्यक्ष ओमनाथ शर्माको स्वागत र सचिव हिमालजंग केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाले अध्यक्ष पोरखेलको प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बम बहादुर रानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक चिन्तामणी रेग्मीले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, व्यवस्थापक शिव वाग्लेले प्रस्तुत गरेको वित्तीय प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाले ओमनाथ शर्माको अध्यक्ष रहेको सञ्चालक समिति र सुशिल कुमार उपाध्याय संयोजक रहेको लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा हिमालजंग केसी, सचिवमा बम बहादुर राना, कोषाध्यक्षमा चिन्तामणी रेग्मी तथा सदस्यहरुमा निवर्तमान अध्यक्ष कल्याण कुमार पोखरेल, कमल बहादुर खड्का, तारा कार्की, भिमेश्वरी पोखरेल र तिल बहादुर खड्का रहनु भएको छ ।

लेखा समितिका सदस्यहरुमा गोगनसिंह थापा र खडानन्द वाग्ले चयन भएको संस्थाका व्यवस्थापक शिवराज वाग्लेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *