सेनाले निर्माण गरेको संरचना हस्तान्तरण

अमृत बास्कुने, म्याग्दी
मुत्तिनाथ मन्दिर परिषरमा नेपाली सेनाले निर्माण गरेको संरचना हस्तान्तरण गरिएको छ । प्रारम्भिक स्वास्थ्य परिक्षण कक्ष र शौचालय सहितको दर्शनार्थीमैत्री विश्रामस्थलको उद्घाटनसंगै हस्तान्तरण गरिएको हो । ४६ लाख भन्दा बढी लागतमा निर्माण भएको संरचना हस्तान्तरको अवसर पारेर नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर तथा भोजन समेत गराएकोे छ ।

नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरको जिम्मेवारी क्षेत्र भित्र पर्ने हिमालपारीको जिल्ला मुस्ताङको ब्रारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा–१ मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले ‘शीघ्रप्रवाही योजना’ को रुपमा निर्माण सम्पन्न गरेको प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष तथा शौचालय सहितको दर्शनार्थी मैत्री विश्रामस्थलको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । पश्चिम पृतनाका पृतनापति उपरथी दिपक कुमार बानियाँले उक्त संरचनाको उद्घाटन गर्नु भएको हो । उद्घाटनसंगै गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङ तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई संरचना हस्तान्तरण गरिएको थियो ।

संरचना हस्तान्तरण गर्दै पृतनापती बानियाँले मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको लागि बहुउपयोगी संरचनाको स्याहार सम्भार, दिगोपन र नागरिक–सैनिक सम्बन्धको स्मरणीय नमुनाका रुपमा यसलाई लिनु पर्ने बताउनुभयो । उहाँले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तथा मुक्तिनाथ विकास समितिलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

विश्वकै हिन्दूहरुको एक महत्वपूर्ण पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्र मुक्तिक्षेत्रमा वर्षेनी लाखौ संख्यामा आउने आन्तरिक तथा बाह्य धार्मिक तिर्थाटन तथा पर्यटकलाई प्रत्यक्ष रुपमा लाभ पु¥याउने उद्देश्यले विश्रामस्थल निर्माण गरिएको पृतनापती बानियाँको भनाई थियो । समुन्द्र सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको मुक्तिनाथ मन्दिरसम्म जाने बाटोमा मन्दिर दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई उकालो भ¥याङ्ग उक्लदा कठिनाई हुने र स्वास्थ्य समस्या देखिने भएकोले दर्शनार्थीमैत्री विश्रामस्थल प्राथमिक उपचार प्रदान गर्न तथा आराम गर्नको लागि निकै उपयोगी हुने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।

एक रोपनी क्षेत्रफलमा रहेको बहुउपयोगी संरचनामा पार्केटिङ्ग सहितको मेडिकल कक्ष जसमा २ वटा अक्सिजन सिलिण्डर सहित २ वटा मेडिकल वेड एवम् विभिन्न किसिमका अवश्यक मेडिकल ईक्यूपमेन्ट तथा औषधी, पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामको लागि १९ वटा बेन्च लगायतका संरचना रहेको र यसको संरक्षण एवम् सम्बद्र्धन गाउँपालिकाले गर्ने उपाध्यक्ष गुरुङको भनाई छ ।

दर्शनार्थीमैत्री विश्रामस्थलको निर्माणमा स्थानीय निकायबीचको आपसी समन्वय तथा नेपाली सेनाबाट बजेट बिनियोजन भई आवश्यक जनशक्ति खटेका थिए । गएको बैशाख ३ गतेबाट सुरु भएको संरचना निर्माणका लागि पश्चिम पृतना आठ लाख ६७ हजार, सामाजिक विकास कार्यालय, मुस्ताङबाट आठ लाख तथा नेपाली सेनाले ४७ लाख ६० हजार बराबरको श्रमदान गरी कुल ६४ लाख २७ हजारमा निर्माण सम्पन्न भएको जनाइएको छ ।

संरचनाको उद्घाटन तथा हस्तान्तरण पश्चातसैनिक अस्पताल पोखरा, नं.२३ फिल्ड एम्बुलेन्स गुल्म, नारायणदल गण, वारागुङ्ग मुक्तिक्षेत्र गाँउपालिका तथा स्वास्थ्य कार्यालय मुस्ताङ्गको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ५० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सोही अवसरमा नारायणदल गणले मुक्तिनाथ दर्शनका लागि आउनुभएका श्रद्धालु भक्तजन तथा स्थानीयहरुलाई निःशुल्क भोजन गराएको थियो ।

उक्त कार्यक्रममा पश्चिम पृतनापति उपरथी दिपक कुमार बानियाँ, जिल्ला समन्वय समितिका उपप्रमुख आईतलाल थकाली, घरपझोङ गाँउपालिकाका अध्यक्ष मोहन सिंह लालचन, जिल्ला न्यायधीश ईश्वर पराजुली, नं २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन खड्का, सैनिक उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महासेनानीसुनिल सिंह राठौर, नं.३ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी बिजितराज रेग्मी, सैनिक अस्पताल पोखराका निमित्त कमाण्डाण्ट अजयराज भण्डारी, नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवाल लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी पश्चिम पृतना अन्तर्गत युनिटका युनिटपतिहरु, स्थानीय जनप्रतिनिधिहरु, जिल्लास्थित सरकारी तथा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ–सस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, बुद्धिजिवीहरु, श्रद्धालु भक्तजनहरु तथा स्थानीयहरु गरी करिव चार सय भन्दा धेरैको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाद्वारा वार्षिक रुपमा संचालन गरिने जनहितका कार्यहरुले सामाजिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक, रणनैतिक महत्वका स्थानहरुको संरक्षण र सम्बद्र्धन गर्न थप टेवा पु¥याउने जनाइएको छ । त्यस्तै नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्न तथा स्वदेशी तथा विदेशीहरु बीच नेपाली सेनाको छवि उच्च राख्न महत्वपूर्ण भूमिका समेत निर्वाह गर्ने सेनाको अपेक्षा छ ।

नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेशनहरुलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्न, बिकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमले प्रत्येक बर्ष उपयुक्त जनहित कार्यहरुको छनौट गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको नीति अनुरुप नै यस्ता संरचनाहरु निर्माण हुने गरेको नेपाली सेनाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *