जैमिनीमा राष्ट्रिय दलित संग्राहलय तथा अनुसन्धान केन्द्र निर्माण हुने

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्राहलय तथा अनुसन्धान केन्द्र निर्माण हुने भएको । संग्राहलय निर्माणका लागि जैमिनी नगरपालिकाले जिल्ला स्थित पालिकाहरुका प्रमुख तथा उपप्रमुखहरुको सहभागितामा सम्बन्धमा अन्तरक्रिया गरेको थियो ।

नगरपालिको वडा नम्बर ७ जैदीमा संग्राहलय निर्माण गर्नका लागि सुझाव संकलन लगायतको काम भइरहेको छ । वडा अध्यक्ष केन्द्रबहादुर रसाइलीको पहलकदमीमा संग्राहलय निर्माणको प्रक्रिया थालिएकोे हो । संग्राहलयमा दलित समुदायका संस्कृति, रितिरिवाज, बाजा लगायतका सामाग्री संग्रहित गरिने छ ।

दलित समुदायको सिप, कौशल, संस्कृति, परम्परा, बाजागाजा बारे आम समुदायले जान्ने र बुझ्ने अवसर पाउने हुँदा दलित समुदायप्रतिको नकरात्मक धारणामा परिवर्तन ल्याई विभेद न्यूनिकरणमा केन्द्रले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले संग्राहलय जिल्लाकै सम्पत्ति हुने बताउँदै निर्माणको लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो । उहाँले नेपालमा काम गर्ने व्यक्तिको सम्मान हुन नसक्दा दलित समुदाय पछि परेको भन्दै दलितको अर्थ र यसको अवधारणा नै गलत रहेको उल्लेख गर्नु भयो ।

काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले दलित समुदायको उत्थानको लागि आफ्नो पालिकाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै संग्राहलय निर्माणको लागि पनि सहयोग गर्ने बताउनुभयो ।

निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले समाजमा रहेको जातिय विभेद अन्त्यको लागि सबै मिलेर लाग्नु पर्ने बताउनुभयो । नेपाल बहुजातिय, बहुभाषी र बहुसांस्कृतिक मुलुक रहेको उल्लेख गर्दै सबैको सम्मान गर्नु पर्ने उहाँको भनाइ छ ।

जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले संग्राहलय सबैको साझा सपना रहेको उल्लेख गर्दै साकार पार्न मिलेर लाग्ने बताउनुभयो । संग्राहलय जिल्लाकै सम्पति हुने बताउँदै शर्माले निर्मााणको लागि जिल्लाका सबै पालिका, विभिन्न कार्यालय प्रदेश र संघीय सरकारसँग समन्वय गरिने बताउनुभयो ।

कार्यक्रममा दलित अधिकारकर्मी सिताराम रसाइली र सज्जन कुमार सिँहले संग्राहलको अवधारणा पत्र प्रस्तुत गरेका थिए । जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेलले गरेका गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *