सहकारीमा महिलाको नेतृत्व स्वीकार्य बनाउनु पर्छ : मल्ल

आदर्श अनलाइन, स्याङ्जा

राष्ट्रिय सहकारी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यहरुको सहभागिता महिलाको बढी भए पनि मुल नेतृत्वमा महिलालाई अझै स्थापित गर्न नसकिएको बताउनु भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको ११ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सहकारीमा महिलाको सहभागिता हेर्दा सिंगो सहकारी अभियानमै महिलाको नेतृत्व बढी हुनु पर्ने हो, ५६ प्रतिशत सदस्य महिला भएको सहकारीमा ३३ प्रतिशत नेतृत्व स्थापित गर्न पनि निकै गाह्रो छ, वरिष्ठ उपाध्यक्ष मल्लले भन्नुभयो,–‘अझै पनि महिलालाई मुल नेतृत्वमा स्वीकार गर्ने अवस्था नदेखिनु दुखद पक्ष हो ।’

महिलाले सञ्चालन गरेका सहकारीहरु तुलनात्मक रुपमा सक्षम छन्, महिलाले नेतृत्व गरेका सहकारीहरुले समुदायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्, तर हाम्रो सोच, व्यवहार र कार्यशैलीमा अझै महिलालाई नेतृत्व दिने कुरामा परिवर्तन हुन सकेको छैन ।

राष्ट्रिय सहकारी महासंघले यसपटकदेखि महिलाको ३३ प्रतिशत सहभागिताको ग्यारेण्टी गरेको चर्चा गर्दै उहाँले महिलाहरुलाई समान रुपमा सहभागि गराउनका लागि आफुहरु निरन्तर लागि परेको बताउनुभयो ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको केही गलत कामका कारण सबै सहकारीहरु खराव हुन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै मल्लले विषयगत सहकारी संघहरु, जिल्ला सहकारी संघहरुको सक्रियता यस्तो समयमा बढी हुनु पर्नेमा जोड दिनुभयो ।

सहकारीका समस्या समाधानका लागि सबैका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको भन्दै उहाँले राज्यलाई सहकारीमैत्री बनाउन अभियानको ऐक्यवद्धतामा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक समेत रहेकी मल्लले सहकारी क्षेत्रले हाम्रो देशमा मात्र नभएर संसारभर सामाजिक रुपान्तरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला वचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष अनन्त कुमार श्रेष्ठ, नेकपा एमाले स्याङ्जाका उपसचिव तारा शर्मा, राष्ट्रिय सहकारी बैंक वालिङ शाखाका प्रमुख टिकाराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पुतली बजार नगरपालिका सहकारी शाखाका पूर्व प्रमुख विष्णु प्रसाद ढकाललाई सहकारीको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेकोले सम्मान गरिएको थियो । संघमा नियमित कारोबार गर्ने, समता वचत तथा ऋण सहकारी संस्था, निवृत वचत तथा ऋण सहकारी संस्था, सामुदायिक वचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम जिल्ला वचत तथा ऋण सहकारी संस्था स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष …को स्वागत र सचिव अच्युत प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *