शीतोष्ण हावापानीमा हुने फलफूल जोगाउने तर्फ ध्यान


अमृत बास्कुने, म्याग्दी

जलवायु परिवर्तनको कारणले गर्दा शीतोष्ण हावापानीमा हुने फलफूललाई जोगाउनै मुस्कील अवस्था सृजना हुन थालेको छ । फलफूल तथा तरकारीको उत्पादनमा गिरावट आउनुका साथै बोटैपनि नासिने अवस्था आउन थालेपछि त्यसलाई जोगाउनका लागि शीतोष्ण वागवानी विकास केन्द्र मार्फाले आफ्नो फर्म उपल्लो मुस्ताङ तर्फ बिस्तार गर्ने प्रकृया अगाडी बढाएको छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले स्याउ लगायतका शीतोष्ण हावापानीमा हुने फलफूलहरु तथा तरकारीका बीउ र विरुवाहरु उत्पादन गर्दै आइरहेको छ । शीतोष्ण हावापानीका कृषकहरुलाई फलफूल तथा तरकारी खेती गर्ने तौर तरिका सिकाउँदै आएको केन्द्रले मुल बीउ उत्पादन तथा बिरुवा उत्पादनलाइ विशेष प्राथमिकता दिँदै आएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको केन्द्रमा विभिन्न ४२ प्रजातिका स्याउ लगायत ओखर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम, अंगुर, स्वीट चेरी, नासपाती, हेजल नट जस्ता फलफूलको गुणस्तरीय बिरुवा र रायो, मुला, गाजर, बन्दा, सलगम, स्विस चार्डलगायतका तरकारीका मुल बीउ उत्पादन हुने गरेको भए पनि पछिल्लो समय समयमा हिउँ नपनर्,े पानी कहिले नपर्ने त कहिले बढि पर्ने र बेमौसममा पर्ने जस्ता कारणले उत्पादन गिरावट आउने गरेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अहिलेको जस्तै मौषम परिवर्तनको दर भएको खण्डमा अबको २५ देखि ३० वर्षको अवधिमा मार्फा र आसपासका क्षेत्रमा अहिलेनै उत्पादन दिइराखेका स्याउका बोटले फल सारै कम दिने र दिनै छाड्न सक्ने पनि प्रबल सम्भावना देखिन्छ । तर हामीले यो क्षेत्रमा अन्य उपयक्त फलफलहरु उत्पादन गर्न सकिन्छ ।

वर्तमान जलवायु परिवर्तनको अवस्थालाई ध्यानमा राख्दै उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका र वरपरको उपयक्त क्षेत्रमा सम्भाव्यता अध्ययन गरि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको शाखा कार्यालय क्षेत्र विस्तार गर्न प्रारम्भिक रुपमा केही प्रकृया समेत अगाडी बढाइएको आत्रेयले बताउनुभयो । मार्फामा रहेको कार्यालय र यहाँ उत्पादन हुने विरुवा तथा बीउ उत्पादनका साथै गुणस्तरमा समेत प्रतिकूल असर परिरहेको कारणले गर्दा क्षेत्र विस्तार गर्नका आवश्यक देखिएको उहाँको भनाई छ । समयमा हिउँ नपर्ने र बढी वर्षा हुने तथा अनावश्यक समयमा हिमपात हुँदै तापक्रममा समेत क्रमिक रुपमा भएको बृद्धिलाई ध्यानमा राख्दै उपल्लो मुस्ताङमा स्याउ तथा अन्य फलफूलहरुको कालान्तरसम्म संरक्षण गर्न शाखा विस्तार गरिनु पर्ने देखिएको हो ।

शीतोष्ण हावापानीमा हुने उत्पादनमा जोगाइ राख्नका लागि नेपाल सरकारको कृषि विभागका महानिर्देशक हरिबहादुर केसी सँग छलफल भएको र प्रकृया अगाडी बढाइने निर्णय भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल (राजु) बिष्टले बताउनुभयो । उक्त छलफल तथा बैठकमा विभागका उपमहानिर्देशक अरुण काफ्ले, र।ाष्ट्रिय फलफूल विकास केन्द्रकी प्रमुख शाान्ता कार्की, विभागका वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाई, राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल लगायतको बैठकमा सहभागिता रहेको शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख आत्रेयले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण संकटमा पर्न थालेको स्याउ खेती संरक्षण गर्न कृषि विभाग मातहतमा रहेको निकाय शीतोष्ण बागवानी विकास केन्द्र मार्फा कार्यालयको क्षेत्र विस्तार गरी लोघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थायी केन्द्र स्थापना गर्न महत्वपूर्ण निर्णय गरिएको उहाँले बताउनुभयो ।

निर्णय बमोजिम अब चाँडैनै उपल्लो मुस्ताङमा यसको सम्भाव्यता अध्ययन अनुसन्धान क्षेत्र पहिचान गरी विज्ञ टोली सो क्षेत्रमा खटाउने कृषि विकास विभागले लिखित सहमति जनाएको केन्द्रका निमित्त प्रमुख आत्रेयले जानकारी दिनुभयो । तापक्रम वृद्धि र अनुकूल मौसम नहुँदा शीतोष्ण हावापानीको फलफूल तथा तरकारी बालि नै संकटमा पर्ने अवस्था सृजना हुन सक्ने भएकाले उपल्लो मुस्ताङमा शाखा क्षेत्र विस्तारको आश्यकता महसुस गरिएको हो । अहिलेको प्रयास सफल भएको खण्डमा अबका सय बर्ष सम्म पनि मुस्ताङलाइ स्याउकै राजधानी भनेर चिनाउन सकिने उहाँको दावी छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहेकाले मुस्ताङमा स्याउको उत्पादनमा कमि हुँदै आएको मार्फाका अगुवा कृषक दिपक लालचनको भनाई छ । यही अवस्थामा समुन्द्री सतहदेखि ३ हजारदेखि ४ हजार मिटर उचाइमा स्याउ तथा हिउँदे तरकारीका लागि उपयुक्त हावापानी अनुकूल हुने केन्द्रका निमित्त प्रमुख आत्रेयको भनाइ छ । ‘हामीले उपल्लो भेगमा शाखा कार्यालय स्थापनाको प्रस्ताव गरेका छौ । कृषि विभागले त्यहाँको वस्तुगत भूगोलको अध्ययन गर्ने छ र अध्ययन प्रतिवेदनले गरेको निर्णय अनुसार शाखा कार्यालयका लागि जग्गा प्राप्ति प्रक्रियासँगै अन्य काम सुरु हुन्छ ।

छलफलमा बागवानीको क्षेत्र विस्तारका लागि विज्ञसहितको अध्ययन अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा फलफूल नर्सरी स्थापनाको प्रयोजनका लागि लोघेकरको सार्वजनिक जमिन आवश्यकता पर्ने भएकाले त्यसका लागि जग्गा प्राप्तिको प्रक्रियाअघि बढाइएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । हाम्रो तर्फबाट कुनै समस्या छैन माथिल्लो निकायले यसमा के कस्तो भूमिका खेल्छन् त्यसैमा भर पर्छ । यसका लागि स्थानीय जग्गा सिफारिस समिति, नापी, मालपोत लगायतका कार्यालयलाई समन्वय गर्न अनुरोध गर्ने निर्णय भएको अध्यक्ष बिष्टको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *