मुस्ताङ जिल्ला अस्पतालमा सल्यक्रिया अझै शुरु भएन


अमृत बास्कुने, म्याग्दी

जिल्ला अस्पताल मुस्ताङमा गएको भदौ महिना देखि पछि सामान्य सम्मको सल्यक्रिया हुन नसक्दा सर्वसाधारणहरुलाई सास्ती भएको छ । पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण जिल्ला मुस्ताङमा आन्तरीक तथा बाह्य पर्यटक समेतको घुइचो हुने गरेको भए पनि दक्ष चिकित्सकको समेत अभाव झेल्न बाध्य भएको छ जिल्ला अस्पतालले ।

पर्यटकलाई हाईअल्टिच्युट(लेक लाग्ने) तथा सामान्य दुर्घटना भएमा पनि सल्यक्रियाका लागि चार जिल्ला पार गरेर पोखरा पुग्नु पर्ने बाध्यता मुस्ताङका सर्वसाधारणको रहेको छ । संघीयता कार्यान्वयन सँगै मुस्ताङ अस्पताललाई २०७७ सालमा १५ शैया बाट २५ शैयामा स्तरोन्नती गरिएको छ । जिल्लामा रहेको संरचनामै प्रयोग गर्न मिल्ने गरी ल्याब, युएसजीलगायतका संरचना निर्माण गरेको भए पनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नहुँदा उपलब्ध भएका सामग्रीहरु पनि जिर्ण बन्दै गएको जोमसोमका व्यवसायी अमृत सुवेदीको भनाई छ । नेपाली तथा विदेशीहरु कुनै जटिल समस्या भएको खण्डमा तत्काल उपचार गर्न सकिएन भने के गर्ने भभन्ने तनाबले सताउने उहाँको भनाई छ । सामान्य मात्रै सल्यक्रिया गर्नु पर्ने भएको खण्डमा कि बेनी कि पोखरा पु¥याउनु पर्छ– पर्यटन व्यवसायी सुवेदीको तर्क छ ।

मुस्ताङ अस्पतालमा अहिले पछिल्लो ६ महिनादेखि एमडिजिपी चिकित्सक नहुँदा सल्यक्रिया तथा सामान्य चिरफारका लागि पनि मुस्ताङले माथिल्लो अस्पतालका लागि रिफर गर्नु पर्ने बाध्यता रहेको छ । २५ शैयाको मुस्ताङ जिल्ला अस्पतालमा एक जना नवौ तहका चिकित्सक सहित जम्मा १८ जनाको दरबन्दी सृजना गरिएको छ । तर नवौं तहको चिकित्सक नै व्यवस्थापन गर्न सकेको छैन । हाल मुस्ताङ जिल्ला अस्पतालमा आठौं तहको स्थाीय चिकित्सकसहित अरु दुई जना करारका एमबीबीएस चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट तेजस नेपालले जानकारी दिनुभयो । हाल भएको जनशक्तिले प्रसुती तथा अप्रेसन सेवा दिन अलिक जोखिम हुन्छ तर जोखिम रहीत भएको खण्डमा भने हामीले सेवा दिने गरेका छौं उहाँले भन्नुभयो ।

२०७८ सालमा अस्पताल व्यवस्थापन समिति र जिल्लाका ५ स्थानीय तहका जनप्रतिनिधिले अस्पतालमा एमडिजिपी चिकित्सक भर्ना गर्ने र सबै स्थानीय तहले मासिक २० हजार अस्पताललाई उपलब्ध गराउने सहमती गरेका थिए । त्यही सहमती अनुसार अस्पतालले पहिलो पटक एमडिजिपी चिकित्सक कुन्दन कर्णलाई मुस्ताङ अस्पतालमा करारमा ल्याइएको थियो । कर्ण २०७९ भदौ ४ गते अस्पतालबाट बिदा हुनुभयो । त्यसको छ महिना पछि तत्कालिन मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. बिशाल तिवारीलेको पहलमा अर्का एमडिजिपी चिकित्सक मुखिया घलेलाई मुस्ताङ अस्पताल ल्याइएको थियो । डा.घले २०८० भदौ १७ गते अस्पतालबाट गए पछि हाल सम्म अर्को व्यक्ति ल्याउन नसकिएको डा.नेपालको भनाई छ । अहिले पनि प्रयास गरी रहेको छु कुरा पोजिटिभ देखिएको छ हेरौं के हुन्छ/उहाँले सुनाउनुभयो ।

मुस्ताङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले अस्पतालका लागि एमडिजिपी चिकित्सकको व्यवस्थापन गरिदिन सम्बन्धीत निकायमा धेरै पटक अनुरोध गरेको बताउनुहुन्छ । अस्पतालका लागि एमडिजिपी चिकित्सक माग गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीसुशिला सिंखडासंग समस्या राखेको र उहाँले पनि काम हुन्छ चिकित्सिक पठाउँछु भन्नु भएको भए पनि हाल सम्म सुनुवाइ नभएको उहाँको तर्क छ । स्वास्थ्य मन्त्री मात्रै होइन मुख्यमन्त्रीलाई पनि कुरा गर्ने र संघिय स्वास्थ्य मन्त्रालय सम्म पनि पहलका लागि आवश्यक समन्वय भएको भए पनि काम हुन सकेको छैन गुरुङले भन्नुभयो ।

२५ शैयाको मुस्ताङ अस्पताल १८ जनाको स्वकृत दरवन्दी भए पनि हाल एक जना आठौ तहका निमित्त मेडिकल सुपरीटेण्डेन्ट सहित दरवन्दीको ८ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *