एमाले म्याग्दीले थाल्यो पालिका अधिवेशन

आदर्श अनलाइन, म्याग्दी
नेकपा एमाले म्याग्दीले फागुन मसान्त भित्र पालिका अधिवेशन सम्पन्न गर्ने कार्यदिशा अनुसार स्थानियतहको अधिवेशन शुरु गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको दोश्रो अधिवेशनबाट प्रगति कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा गाउँपालिका कमिटी चयन गरेको हो । शुक्रबार भएको गाउँपालिका अधिवेशनले कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उप–सचिवमा केशव गर्बुजा र सुशील घर्तीलाई चयन गरेको एमाले म्याग्दीले जनाएको छ ।

त्यसैगरी अधिवेशनबाट सदस्यहरुमा मनबहादुर बिक, कुलमति बिक, तिलाराम बिक, भिममती शेरपुञ्जा, लालबहादु भण्डारी, तुलकुमारी जुगजाली, गंगा रसाइली, भिमबहादुर पाइजा, रामबहादुर कुमाई, भवि विश्वकर्मा, धनबहादुर बुढाथोकी, लोकबहादुर पुन, मनकुमारी लामगादे, तीलकुमारी केसी, कर्णबहादुर पुन चयन हुनुभएको छ । त्यस्तै गमबहादुर गुरुङ, बालकुमारी सुनार, दुरमति परियार, सुमन केसी, अनिश भण्डारी, नन्दकुमारी शर्मा र कमला केसी चयन हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत माक्र्सवादी लेनिनबादी)को मुल नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ सहित आयोजित अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अहिले नेकपा एमाले पार्टीको बाह्य तथा आन्तरिक सुदृढीकरणको अभियानमा अग्रसर रहेको बताउनुभयो । उहाँले आगामी विसं. २०८४ सालमा हुने स्थानीय तह प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउनका लागि नै हामी अगाडी बढेको हुनाले सङ्गठन विस्तार र सुदृढीकरण पार्टी लागिपरेको बताउनुभयो । उहाँले नेता, कार्यकर्तालाई आउँदो निर्वाचन एमालेको पक्षमा नतिजा ल्याउने गरी खट्न निर्देशन दिनुभयो । अहिलेकै अवस्थामा पनि लोकप्रिय मतका आधारमा एमाले नै मुलुकको पहिलो शक्ति हो त्यसैले हामी मजबुत छौं र अझै थप मजबुत हुनका लागि सबैले भूमिका खेल्नु पर्छ प्रदेश अध्यक्ष शर्माले भन्नुभयो ।

नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य एवम् पूर्वमन्त्री नरदेवी पुनले नेकपा एमाले सत्तामा रहँदा देश विकासका लागि गरेका कामहरुको प्रचार गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । धवलागिरी गाउँपालिकाकै कयौं विकास निर्माण र दिर्घकालिन योजनाहरुमा नेकपा एमालेको नेतृत्वमा भएको सरकारको पालामा बहुवर्षिय बजेट परेको भए पनि अहिले गठबन्धनले गलत प्रचार गर्दै आफ्नो पहल भन्ने गरेको तर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनको कारणले गर्दा देश अहिले चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउँदै देश विकासको प्रमुख बाधक वर्तमान सत्ता गठबन्धन रहेको आरोप लगाउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यद्वय हरिकृष्ण श्रेष्ठ, खरमाया बिटालु, जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन र उपसचिव सतप्रसाद रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम एमाले धवलागिरि गाउँपालिका कमिटीको कार्यवाहक अध्यक्ष राजाराम सुवेदीको अध्यक्षता, मुनाका वडा कमिटी अध्यक्ष विष्णु भण्डारीको स्वागत र प्रगति कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *