कुश्मामा महिला सहकारीका पदाधिकारीलाई क्षमता विकास तालिम


आदर्श अनलाइन, पर्वत

कुश्मा नगरपालिकामा महिलाहरुद्वारा सञ्चालित सहकारीका पदाधिकारी तथा व्यवस्थापन प्रमुखहरुका लागि ३ दिने नेतृत्व तथा क्षमता विकास तालिम आइतवारदेखि शुरु भएको छ ।

कुश्मा नगरपालिकाको आयोजनामा सञ्चालन भएको तालिमको शुभारम्भ उपप्रमुख स्वस्थानी रिजालले गर्नु भएको थियो । उपप्रमुख रिजालले बजारका केही सहकारीमा समस्या आयो, आम मानिसहरुमा सबै सहकारीहरु समस्यामा परे भन्ने परेको छ, तर सदस्य केन्द्रीत सहकारीहरुले सदस्यको आर्थिक विकास र सामाजिक रुपान्तरणमा गरेको योगदानको चर्चा हुन नसक्नु दुखद भएको बताउनुभयो ।

खराव गर्नेहरुलाई कार्वाही गर्ने र राम्रो गर्नेहरुलाई संरक्षण गर्नका लागि पालिका, प्रदेश र संघीय सरकारले संयोजनकारी भूमिका निर्वाह गर्नु पर्नेमा रिजालको जोड थियो ।

वचत फिर्ता नगर्दा जसरी सञ्चालकहरुलाई कार्वाही गरिएको छ, सहकारीको ऋण लगेर नतिर्नेहरुलाई पनि कार्वाही गर्न सके सहकारीका धेरै समस्या समाधान हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष इश्वर गिरीले सहकारीमा देखिएको समस्याको पहिचान गरी कमजोरी सुधार गरेर अगाडि बढ्न तालिम सहयोगी हुने धारणा राख्नु भयो ।

सहकारी क्षेत्रमा देखिएको समस्याको पहिचान गरी सहकारीको संस्थागत विकास र साख वृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको कुश्मा नगरपालिका सामाजिक शाखा प्रमुख डिल कुमारी शर्माले जानकारी दिनुभयो ।

तालिममा सहकारी सञ्चालनका लागि ऐन कानुनको जानकारी, वित्तीय व्यवस्थापन, नेतृत्वको भूमिका, पदाधिकारी तथा व्यवस्थापन प्रमुखहरुको जिम्मेवारी लगायतका विषयमा सहजीकरण गरिने महिला विकास निरिक्षक चेत कुमारी शर्माले जानकारी दिनुभयो । तालिमको सहजीकरण राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *