सहकारीको संस्थागत विकासमा सहकार्य गर्छौ : काठेखोला गाउँपालिका उपाध्यक्ष थापा


आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा (तिलक) ले पालिका भित्रका सहकारीहरुको संस्थागत विकासका लागि पालिकाले सहकारी संघ संस्थाहरुसंग समन्वय गरेर काम गर्ने बताउनु भएको हो ।

काठेखोला गाउँपालिका र जिल्ला सहकारी संघ बागलुङको आयोजना एवम् सूचना तथा सञ्चार सहकारी संघ बागलुङको संयोजनमा ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा काठेखोलामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम हो, तर केही सहकारीहरुले गरेको गलत कामका कारण यतिबेला सिंगो सहकारी अभियानका बारेमा नकरात्मक टिका टिप्पणी हुने गरेको भन्दै उहाँले सहकारीका सकारात्मक क्रियाकलापले नकरात्मक विषयलाई जित्न पर्नेमा जोड दिनुभयो । सहकारीको जग सदस्यहरु हुन्, सदस्यहरुलाई शिक्षा, तालिम र सचेतना प्रदान गर्न सकेमा सहकारी अभियानलाई दिगो रुपमा सञ्चालन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारी योगदान बढाउन स्थानीय पालिकाले र स्थानीय पालिकाका कार्यक्रमलाई लक्षित वर्गमा पुराउनका लागि सहकारीले योगदान गर्न सक्ने भएकाले सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले स्थानीय तहले सहकारीको प्रवद्र्धनमा गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराउदै सहकारीलाई स्थानीय जनताको आर्थिक सामाजिक रुपान्तरणमा जोड्न सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका सञ्चालक खिम बहादुर कार्कीले सहकारीहरुलाई सबल बनाउनका लागि आन्तरिक सुशासनमा ध्यान दिनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण पुनको अध्यक्षता, जिल्ला सहकारी संघका सञ्चालक तथा वडा नं. ६ का वडा अध्यक्ष बृहस्पती कंडेलको स्वागत र काठेखोला गाउँपालिकाका सहकारी शाखा प्रमुख प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागी सहकारीकर्मीहरु सूर्य प्रसाद कंडेल, टंक प्रसाद कंडेल, डिल प्रसाद कंडेल, गुरु प्रसाद कंडेल, टिका थापा, उजेली शर्मा, देवीमाया पुन लगायतले सहकारी सञ्चालनका क्रममा देखिएका समस्याहरु, असल अभ्यासहरु र उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन गर्न सकिने विषयमा सुझाव दिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *