बागलुङ जिल्ला फुटबल लिगको नकआउट चरणका खेल शुरु, संयुक्त चार सेमीफाइनल प्रवेश

आदर्श अनलाइन, बागलुङ

बागलुङको बाङे्चौर खेल मैदानमा जिल्ला फुटबल लिग अन्तर्गत बुधबारदेखि नकआउट चरणका खेल शुरु भएका छन् ।

खेलको उद्घाटन जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले गर्नुभएको थियो।

प्रतियोगिताको उद्घाटन खेलमा संयुक्त चार युवा क्लब विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आदर्श विद्यामन्दिर खेलकुद क्लबलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै संयुक्त चार युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको हो ।

संयुक्तले भोलि हुने दोस्रो खेलमा फाइनल प्रवेशका लागि तमान युवा क्लबको सामना गर्ने छ ।

निकै प्रतिष्पर्धात्मक खेल २–२ गोलको बराबरीमा सकिएपछि भएको ट्राइबेकरमा संयुक्त चार युवा क्लब विजेता बनेको हो ।

पहिलो हाफमा आदर्शका लागि विवेक सार्की र किरण केसीले गोल गरेतापनि दोर्सो हाफमा संयुक्त चार युवा क्लबका लागि रोहन जिसी र ब्रिजेश शाक्यले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

बिहिबार फाइनल प्रवेशका लागि बागलुङ एकता क्लब र अमर आदर्श स्पोटर्स क्लब तथा तमान युवा क्लब र संयुक्त चार युवा क्लबबीच प्रतिष्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष विकास थापाले जानकारी दिनुभयो ।

नकआउट चरणको विजेता टोली बढुवा भई आगामी वर्ष हुने जिल्ला लिगका लागि छनौट जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष राहुल बोहोराले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीको अध्यक्षता, महासचिव रेशम गोतामेको सञ्चालनमा सम्पन्न भएको थियो ।

बैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म संचालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बालजीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *