इमेज पीडित संघर्ष समितिले मैदान छोडेको छैन

शेखर खड्का
देशभर वित्तीय क्षेत्रमा समस्या देखियो, वित्तीय क्षेत्रमा आएको समस्याको असर सहकारी क्षेत्रमा पनि प¥यो । देशका मुख्य गरी ठुला शहरमा सञ्चालित केही सहकारीहरुले बचत फिर्ता नगरेका समाचारहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा भाइरल हुन थाले । केही सहकारीले पैसा फिर्ता गर्न नसकेको कुरा चर्चा भइरहदा भक्तपुर मुख्य कार्यालय रही बागलुङमा सेवा केन्द्र सञ्चालन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारीमा त्यसको असर प¥यो । सदस्य बचतकर्ताहरुबाट बचत संकलन गरी मार्ट लगायत सञ्चालकहरुको कम्पनीमा लगानी गरेको शिवशिखरमा बचतकर्ताहरु लाइन लागेर रकम फिर्ता गर्न गएपछि संस्थाले बचत फिर्ता गर्न सकेन । बचतकर्ताहरुले आन्दोलन गर्न थाले, सञ्चालक र कर्मचारीहरु भाग्ने अवस्था सिर्जना भयो ।

शिवशिखरको समस्या पछि बागलुङमा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली अध्यक्ष रहेर सञ्चालित इमेज बचत तथा ऋण सहकारीमा पनि समस्या आयो । बैशाख ७ गते सूचना प्रकाशित गरेरतरतला अभाव भएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द ग¥यो । इमेज सहकारीमा पैसा राखेका सदस्य बचतकर्ताहरु पनि आन्दोलित भए । आन्दोलन निकै चर्कने अवस्था थियो । बागलुङको सहकारी अभियानका अगुवाहरु, प्रहरी प्रशासनदेखि राजनीतिक दलहरुले समेत सहजीकरण गरेको र पीडितहरुले संयमता अपनाएका कारण आन्दोलन मत्थर हुने वातावरण बन्यो, मेयर जस्तो मान्छे, त्यो पनि जग्गा जमिन धेरै नै भएको देवकुमारले पैसा दिन्छन् नआत्तिनु भनेर धेरैले विश्वास दिलाए ।

देव कुमार नेपाली सहितका सञ्चालकहरुले चलाएको सहकारीमा मेरो परिवारको पनि पैसा रहेको थियो । सहकारी बन्द भएपछि पुनः सञ्चालनमा पनि आएको थियो । तर जेठ ५ गते देव कुमार नेपाली सहितका मुख्य सञ्चालकहरु सम्पर्क विहिन भएपछि भने निकै नै समस्या सिर्जना भयो । पीडितहरुका तर्फबाट बागलुङ र कास्कीमा मुद्दा दर्ता भयो । सहकारीका केही व्यक्तिहरु पक्राउ परे पनि मुख्य जिम्मेवार व्यक्तिहरु सम्पर्क विहिन भएका कारण हामी पीडितहरुलाई निकै नै तनावको वातावरण बन्यो । आन्दोलन गर्नका लागि संघर्ष समिति बन्यो । बागलुङ बजारमा मात्र होइन, गलकोट, बुर्तिबाङ र पोखरामा समेत छुट्टा छुट्टै संघर्ष समिति बने ।

संघर्ष समितिले आन्दोलनका विभिन्न चरणहरु पार ग¥यो । केन्द्रीय आन्दोलनमा सहभागी हुने लगायत धेरै संघर्षका कार्यक्रम गर्दा गर्दै पनि इमेज सहकारीको समस्या समाधान भएन र आज पनि भएको छैन । संघर्ष समितिले थालेको आन्दोलनमा सम्पूर्ण पीडितहरु, राजनीतिक दल, सहकारी अभियान लगायत धेरैको साथ र समर्थन रह्यो तर पनि न सम्पर्क विहिन भएका देव कुमार नेपाली फर्के, न पीडितले आफ्नो बचत फिर्ता पाए । यस्तो अवस्थाको अन्त्यका लागि सरोकारवालाहरु सबैसंग धेरै चरणमा छलफल, वार्ता, दवाव, धर्ना लगायतका कार्यक्रमहरु गरियो । आन्दोलन गर्दै जादा सहकारी अभियानका केही व्यक्तिहरुबाट विशेष साधारणसभाको चर्चा पनि भयो, संघर्ष समितिमा यो विषयमा छलफल पनि भयो तर यसै गर्ने भन्ने निधो हुन सकेन ।

इमेज सहकारीका नाममा बैंकबाट लिएको ऋण भुक्तानका लागि ३५ दिने सूचना प्रकाशित भएपछि संघर्ष समितिले आन्दोलनको रुप परिवर्तन गर्ने निधो ग¥यो, सहकारी संस्थाका नाममा ऋण रहेकोले मुख्य गरी राष्ट्रिय सहकारी बैंकको टिमसंग र अन्य बैकहरुसंग समेत छलफल गर्दै गर्दा बैंकमा रहेको देव कुमार नेपाली र उहाँको परिवारका नाममा रहेको घरजग्गा संस्थाको नाममा ल्याउनका लागि सहज हुने निष्कर्ष निष्कियो । इमेज बचत पीडित संघर्ष समितिले सहकारी विभाग, प्रदेशको विभागीय मन्त्रालयका मन्त्री, सचिव, सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार लगायत सहकारी अभियानकर्मीहरुसंगको परामर्शमा भेला गरेर सहकारी ब्यूताउने निर्णय ग¥यो । २०८० मंसिर ४ गते पीडित शेयर सदस्यहरुका तर्फबाट संस्था व्यूताउने निर्णय ग¥यो । पीडितहरुले गरेको निर्णयको समाचार भाइरल बन्यो, समाचारले तरंग ल्यायो । मंसिर ५ गते देव कुमार नेपाली सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुनुभयो । उहाँले मेरो सम्पत्ती बेचेर बचत फिर्ता गर्छु भन्ने प्रतिवद्धता पुनः दोहोराउनु भयो । हामीले ठान्यौ, हाम्रो निर्णयको असर देव कुमारलाई परेछ ।

त्यसपछि सहकारी ब्यूताउनका लागि सहजीकरण गरिदिन सहकारी रजिष्ट्रार कार्यालय पोखरालाई अनुरोध ग¥यौ । रजिष्ट्रार कार्यालयले मन्त्रालयलाई पत्राचार ग¥यो । मन्त्रालयले पनि लामो समय यस विषयमा निर्णय गर्न सकेन । संघर्ष समिति त्यसपछि पनि निरन्तर लागि रह्यो । मन्त्रालयले सहकारी व्यूताउनका लागि निर्णय नदिने छाट देखिएपछि फेरी संघर्ष समितिका तर्फबाट छलफल गरियो । धेरै चरणमा धेरै सरोकारवालाहरुसंगको छलफल पछि गण्डकी प्रदेशको सहकारी ऐन २०७५ को दफा ३६ को उपदफा ४ बमोजिम शेयर सदस्यहरुले नै विशेष साधारणसभा बोलाउन सक्ने भएकाले विभागीय मन्त्री महेन्द्रध्वज जिसी, सहकारी रजिष्ट्रार भेषराज रिजाल सहितको परामर्शमा विशेष साधारणसभा बोलाउने निष्कर्षमा पुगेका हौ ।

बागलुङमा माघ ६ गते शनिवार विशेष साधारणसभा सम्पन्न गरिएको छ । विशेष साधारणसभा बोलाउने विषयमा पनि कानुनी प्रावधानहरुलाई खोज्दै जादा इमेज सहकारीका शेयर सदस्यहरुको पहिचान गर्न थालियो । पहिचान गर्ने क्रममा संस्थाको गत वर्ष २०७९ पुस २३ गते सम्पन्न दशौ वार्षिक साधारणसभाको उपस्थितिलाई आधार मान्ने गरी अगाडि बढेका थियौ । ८ सय १२ जना शेयर सदस्यहरु उक्त साधारणसभामा उपस्थित भएको रेकर्डका आधारमा तिनै शेयर सदस्यहरुलाई आधिकारीक सदस्य मानेर यो विशेष साधारणसभा बोलाइएको हो । इमेजमा बचत गर्ने अरु थुप्रै बचतकर्ताहरु शेयर सदस्य भएको वा नभएको रेकर्ड कतै भेटिएन, संस्थाले राखेका शेयर सदस्यहरुका रेकर्ड फेला नपरेको र पीडित संघर्ष समितिलाई प्राप्त गत वर्षको साधारणसभामा उपस्थित सदस्यहरुको रेकर्डलाई नै आधार मान्नु पर्ने वाध्यता भएकाले गत वर्षको साधारणसभामा उपस्थित नभएका तथा रेकर्ड नभेटिएका कारण सदस्य मान्न नसकिएको अवस्था रहेको छ ।

विशेष साधारणसभा सम्पन्न भएपछि बजारमा नयाँ बनेको सञ्चालक समिति र संघर्ष समितिको विषयलाई लिएर चर्चा परिचर्चा हुन थालेका छन् । संघर्ष समितिले आन्दोलन सफल हुन नसकेपछि सेफल्याण्डिङका लागि विशेष साधारणसभा बोलाएको र आफु पन्छिएको भन्ने चर्चा पनि सुनियो, संघर्ष समितिमा रहेकाहरुले देव कुमार नेपालीबाट आफ्नो पैसा फिर्ता लिइसके, त्यही भएर उनीहरु बाहिरिए भन्ने पनि चर्चा सुनियो । अरु धेरै खालका टिका टिप्पणीहरु बजारमा चलेका छन् । हामीले यस्ता चर्चा परिचर्चाहरुलाई सामान्य रुपमै लिएका छौ ।

बजारमा चल्ने चर्चा र वास्तविकतामा भने आकाश पातालको फरक छ । संघर्ष समितिका जिम्मेवार मान्छेहरु सहकारीको सञ्चालक समितिमा किन बसेनन् ? भन्ने प्रसंगमा थोरै प्रस्ट्याउन चाहन्छु । पहिलो कुरा त हामीले इमेज सहकारीको विशेष साधारणसभाका लागि सदस्यहरुको पहिचान नै समस्या देखियो । इमेज सहकारीले आफ्ना सदस्यहरुको रेकर्ड प्रदेश कार्यालयमा नपठाएको, शेयर सदस्यहरु सबैलाई प्रमाणपत्र नदिएको, कार्यालय बन्द भएका कारण हामीले पनि सबै सदस्यहरुको यथार्थ पत्ता लगाउन नसकेपछि गत वर्षको वार्षिक साधारणसभाको उपस्थितिलाई नै आधिकारीक मान्नु पर्ने अवस्था आयो । गत वर्षको साधारणसभामा उपस्थित नभएका शेयर सदस्यहरु विशेष साधारणसभाको सदस्य बन्न सक्नु भएन । गत वर्ष विभिन्न कारणले उपस्थित हुन नसक्नु भएका सदस्यहरु छुट्नु पर्ने भएपछि संघर्ष समितिका साथीहरु सञ्चालक समितिमा बस्न मिलेन । अर्को कुरा संघर्ष समितिमा रहनु भएका कतिपय पदाधिकारीहरु अर्को सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा रहनु भएको पाइयो । गण्डकी प्रदेशको सहकारी ऐन २०७५ को दफा ३८ को उपदफा २ मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने छ भन्ने व्यवस्था भएका कारण पनि संघर्ष समितिमा रहेका व्यक्तिहरु सञ्चालक समितिमा बस्न नमिलेको हो ।

सञ्चालक समितिमा रहनु भएका व्यक्तिहरु सहकारीको भूमिका नभएका वा आन्दोलनको नेतृत्व गर्ने व्यक्तिहरु नभएको भन्ने जुन चर्चा छ, त्यो भन्दा पनि सदस्यहरु मध्येबाट सक्रिय व्यक्तिहरुलाई सञ्चालक समितिमा छनोट गरिएको छ । उहाहरु आन्दोलनमा पनि नियमित र अग्रमोर्चामै रहनु भएको थियो यद्यपी पदीय जिम्मेवारीमा रहनु भएको थिएन । संघर्ष समितिकै केही जिम्मेवार सदस्यहरु पनि सञ्चालक समितिमा रहनु भएको छ ।
जहाँसम्म संघर्ष समिति अब जिम्मेवारीबाट हट्यो, उनीहरुले आफ्नो पैसा लिइसके भन्ने खालका चर्चा छन् । इमेजको समस्या समाधान नहोस् भन्ने कामना गर्नेहरु, इमेजको समस्यामा खेलेर आफ्नो भविष्य देख्ने कमजोर मानसिकता भएका व्यक्तिहरुले यस्ता विषयमा चर्चा परिचर्चा गर्ने गर्छन । इमेज सहकारीबाट ऋण लिएका व्यक्तिहरु पनि इमेज बिग्र हुन्थ्यो भन्ने कामना गरेर बसेका छन् । सहकारीमा खराव ऋणी भएका व्यक्तिहरु पनि सहकारीहरु सबै बिग्र हुन्थ्यो भनेर यस्ता खाले प्रचारमा लागेका छन् । सहकारीमा जम्मा भएको बचत रकम देव कुमारहरुले फिर्ता गर्नै पर्छ र सहकारीबाट ऋण लगेकाहरुले जसरी पनि आफुले लगेको ऋण तिर्नु पर्छ भन्ने विषयमा पनि इमेज संघर्ष समिति र नयाँ सञ्चालक समिति प्रष्ट छ ।

पहिलो कुरा त इमेजको समस्या समाधान नभएसम्म संघर्ष समिति क्रियाशिल हुन्छ, यसले नियमित रुपमा आफ्नो जिम्मेवारी अनुसार काम गर्छ । संघर्ष समिति र सञ्चालक समिति मिलेर आन्दोलनको कार्यक्रमलाई थप शसक्त बनाउछौ । सञ्चालक समितिले वैधानिक मोर्चा सम्हाल्छ भने संघर्ष समितिले दवावमुलक अभियान सञ्चालन गर्छ । देव कुमार नेपाली र उहाँको परिवार लगायत जिम्मेवार सञ्चालकहरुबाट पीडितको बचत फिर्ता नगराउदासम्म संघर्ष समिति र सञ्चालक समिति संगसंगै अगाडि बढ्ने कुरा सबैले बुझ्दा राम्रो हुन्छ । पीडितहरुलाई विभाजित गर्नका लागि यस्ता खालका प्रचारहरु हुने गरेका छन् । पीडित सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुलाई यस्ता प्रचारबाट विचलित नहुन पनि हामी आग्रह गर्दछौ ।

जहाँसम्म संघर्ष समितिका मान्छेहरुले आफ्नो पैसा लिइसके भन्ने चर्चा गरिएको छ, त्यो पनि सामाजिक चेत नभएका, स्वार्थी मान्छेले सबैलाई आफु जस्तै देख्ने प्रवृतिका कारण भएको हो । हामी यही समाजमा बस्छौ, यही समाजमा हाम्रो पहिचान छ, पैसा सबै कुरा होइन, इमेजमा करोडौ रकम संकटमा पर्दा पनि हामी ढुक्क भएरै आन्दोलनमा छौ भने हाम्रा सामाजिक अभियान, राजनीतिक अभियानहरुमा पनि हामी निरन्तर लागि रहेकै छौ । हामीलाई व्यक्तिगत रुपमा हाम्रो पैसा आउछ कि आउदैन भन्ने कुरा अब गौण बन्दै गएको छ, संघर्षको मैदानमा उत्रेका हामीलाई अब सबै पीडितले न्याय पाउनु पर्छ भन्नेमा कुनै दुविधा छैन । भन्नेले जे भन्लान्, भोली देखिन्छ, र हामी देखाउछौ ।

अदालतमा भएको विषय, प्रहरीमा भएको विषय, आम नागरिकलाई जानकारी भएको विषयमा संघर्ष समितिले आफ्नो पैसा बुझेर पीडितलाई अलपत्र पार्न थाले भन्ने प्रचार गर्नेहरुलाई हाम्रो भन्नु केही छैन, जसले जे जानेको छ, त्यही गर्ने हो, जस्को जस्तो सोच, विचार छ उसले त्यस्तै भन्ने हो । हामीलाई भन्नेहरुप्रति गुनासो छैन, तर इमेज पीडितहरुलाई न्याय दिने पक्षमा सहयोग, समन्वय र सहकार्य गर्नेहरुप्रति हाम्रो सम्मान छ, कसले इमान्दारिताका साथ यो अभियानमा साथ दिएको छ भन्ने पनि हामीले हेक्का राखेका छौ । इमेज पीडितहरुले न्याय पाएनन् भने त्यसको दोष राज्यका निकायहरु, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, सहकारी अभियान लगायत सबै सरोकारवालाहरुले लिनु पर्नेछ र यो अभियानमा साथ नदिनेहरुलाई पीडितहरुले पनि उचित मूल्यांकन अवस्य गर्नेछन् ।

कानुनी रुपमा के हुन्छ भन्ने पनि प्रश्न छ । हामीले सहकारीलाई विधिवत रुपमा सञ्चालनका लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्दैछौ । कार्यालयले अनुमति दिएपछि हामी सहकारीलाई अगाडि बढाउछौ । कतिपयले अब सञ्चालक समिति फस्यो, विगतको सबै पैसा यो सञ्चालक समितिले जिम्मा लिनु पर्छ भनेर नयाँ सञ्चालक समितिलाई हतोत्साहित बनाउन खोजेको पनि पाएका छौ । हामी सम्पूर्ण रुपमा सूचनामा छौ भन्ने कुरा बजारमा यस्ता प्रचार गर्नेहरुले बुझ्न जरुरी छ । हामीले विशेष साधारणसभाबाट बन्ने सञ्चालक समितिले विगतको दायित्वको जिम्मेवारी लिएर रकम भुक्तान गर्न सक्दैन, देव कुमार नेपाली लगायत मुख्य जिम्मेवार व्यक्तिहरुबाट असुल उपर गर्ने कुरामा आवश्यक पर्ने कानुनी जटिलताहरु समाधान गर्नका लागि सहकारी संस्था नियमित हुनु पर्ने र सञ्चालक समितिआवश्यक पर्ने भएकाले विगतमा बचत गरेका सदस्यहरुलाई बचत फिर्ताका लागि सहजीकरण गर्न, आवश्यक कानुनी जटिलताहरु समाधान गर्नका लागि सञ्चालक समिति बनाएको निर्णय गरेका छौ । र पीडितहरुले मेरो बचत फिर्ता गर भनेर अहिले बनेको सञ्चालक समितिसंग माग गर्ने होइन भन्ने कुरा निर्णय गरेका छौ र सबै पीडित बचतकर्ताहरु यो विषयमा जानकार हुनुहुन्छ । पीडितहरुलाई उचालेर आफ्नो गोर्खे धन्दा चलाउने केही नकारात्मक प्रवृति भएकाहरु यतिबेला इमेजको समस्या समाधान नगर्न उद्दत रहेको देखेका छौ, बुझेका छौ र उचित समयमा त्यस्ता पीडित विरोधीहरुलाई जवाफ दिनेछौ भन्ने कुरा पनि सार्वजनिक रुपमा भन्न चाहन्छौ ।

संघर्ष समितिले मैदान छोडेको छैन, छोड्दैन र छोड्दैनौ भन्ने कुुरा पनि सबैले बुझ्ने गरी भन्न चाहन्छौ । संघर्ष समितिलाई सहयोग गर्नका लागि सञ्चालक समिति बनेको छ, सञ्चालक समितिलाई सहयोग गर्नका लागि संघर्ष समिति छ । सहकारी रजिष्ट्रारको कार्यालयबाट कानुनी मान्यता प्राप्त भएपछि हामीले सल्लाहकार बनाउछौ, बचतकर्ता सबैलाई शेयर सदस्य बनाउछौ । कानुनी प्रक्रिया र आन्दोलन संगसंगै लैजान्छौ । कानुनी प्रक्रियामा आउने समस्यामा सञ्चालक समिति बढी क्रियाशिल हुन्छ, दवावमुलक अभियान सञ्चालन गर्नका लागि संघर्ष समिति क्रियाशिल हुन्छ । दुवै संगसंगै अगाडि बढ्छौ र पीडितको बचत फिर्ता गराउछौ भन्ने हाम्रो प्रतिवद्धतामा कुनै कमी आएको छैन र आउने छैन, भ्रम र चर्चा परिचर्चाबाट कत्ति पनि नआत्तिन, हतास नहुन र इमेज पीडितको संघर्षमा नियमित रुपमा साथ दिन सबै पीडितहरुलाई आव्हान गर्दछौ । साथै पीडितको यो अभियानमा सहकार्य गर्नका लागि समेत सबै सरोकारवालाहरुमा अनुरोध गर्दछौ ।
(लेखक इमेज बचत पीडित संघर्ष समिति बागलुङका सदस्य हुनुहुन्छ ।)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *