किन घट्यो बागलुङ बजारको व्यापार ?

सरोजराज पन्त
अहिले बागलुङ बजारमा व्यवसाय गर्ने हरेक व्यक्तिले व्यापार कम भएको गुनासो गरेको पाइन्छ । एक अर्कामा आफ्नो व्यवसाय घटेको हुनाले अर्काको कस्तो होला भनेर सधै जसो जिज्ञासा र प्रश्न राखेको सुनिन्छ । पहिले सन्चो विसन्चो र अन्य व्यवाहारिक कुरा हुने गरेकोमा आजकाल व्यापार घटेको कुरा पहिले गरिन्छ । त्यसो त सबै स्थानका आआफना समस्या रहेका छन । काठमाडौंबासीमा पानीको समस्याले गर्दा पहिले तपाईको घरमा पानी आउँछ कि आउँदैन भनेर चर्चा गर्ने गर्दछन ।

धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा बिबिएमा अध्यनरत बिद्यार्थीहरुले स्थलगत अध्ययन गरी एक कार्यक्रम अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका थिए । गत बर्ष बिबिए पाचौँ सेमेष्टर र यस बर्ष चौथो सेमेष्टरका बिद्यार्र्थीहरुलाई यस बिषयमा अध्ययन गर्न पढाएर वास्तविकताको खोजी गर्न लगाइएको थियो । कुनै बेला बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र रहेको थियो । बागलुङका दूर दराजदेखि पर्वत, म्याग्दी र मुस्ताङका विभिन्न स्थानमा यहाँबाट सामानहरु पुग्दथ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकहरु सामानको लागि भीड लाग्ने गर्दथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक शहर बजार विस्तारै सुनसान बन्दै गएको निष्कर्ष निकालेका छन् ।

फरक ठाउँ फरक समस्या भए जस्तो बागलुङ बजारको व्यापार घट्नु सवैको चिन्ता र समस्या भएकाले गाउँबाट बजारमा आएर भाडामा बसी व्यवसाय चलाउनेहरु बढी प्रभावित भएको पाइन्छ । समग्र रुपमा यहाँको व्यापार घटेको सवैलाई महशुस भएपनि यो विषय सवैको सरोकार र सार्वजनिक बहसको विषय बन्न सकेन् । सार्वजनिक रुपमा यहाँ व्यापार किन घट्यो ? व्यापार बढाउन के कसरी सकिन्छ ? सवैलाई ढुक्क भएर व्यापार गर्ने बातावरण के कसरी बनाउन सकिन्छ ? भनेर सार्वजनिक रुपमा छलफल भएर नयाँ रणनीतिक कदमहरु चालिएको अवस्था देखिदैन ।

मोटरबाटोको विस्तार हुँदै गएपछि खुल्ला रुपमा व्यापार गर्न पाए । त्यस समयमा तराईबाट पहाडी जिल्लाका केही क्षेत्रमादमात्र मोटरले छोएको थियो । पहिला खच्चडबाट अनि टेक्टरले सामान बोकेर पु¥याउन थालियो । समतल र धेरै जनसख्या भएको स्थानमा खाद्यान्न विक्री गर्ने व्यापारीहरु छाप्रो बनाएर सामान राख्ने र विक्री गर्न थाले । यसैगरी गाडी अगाडी बढेपछि व्यापारीहरु पनि गाडीसँगै अनुकुलन हुर्दै गए । गाडीले खाद्यान्न नल्याउँदासम्म पहाडमा प्रत्येक वर्ष अनिकाल, भोकमारी हुन्थे । तराईबाट चामल आउन थालेपछि किनेर खान थालेको पाइन्छ । त्यसभन्दा पहिले पहाडको सवै जनसख्यालाई खाद्यान्न अपुग थियो । एउटा गाउँमा मुस्किलले ४÷५ जना मात्र खाद्यान्न बेच्ने गर्दथे । तिनीहरु नै गाउँका साहु कहलिन्थे । गाउँका केही मानिसले मात्र आफ्नो परिवारलाई वर्षैभरी खान पुग्ने अन्न भित्राउथे । केहिले जेनतेन गुजारा चलाउन सक्ने थिएभने अरु सवै किनेर खानुपर्ने हुन्थे । खानलाई किनेको अन्नलाई ‘बेसाहा’ भनिन्थ्यो भने काम गर्दा ज्यालाको रुपमा पाउने वा दिने अन्नलाई ‘निमेक’ भनिन्थ्यो । आफ्नो घरमा अन्न नपुगेर किन्नु परेमा इष्टमित्रको घरमा रातिमा बोरा वा कुम्लोमा पोको पारेर ल्याउनु पर्दथ्यो । अन्न किनेको अरुले देखेमा वा थाहा पाएमा फलानो ‘बेसौरे’ भनेर हेप्ने र गाली गर्ने नाम नै बेसौरे राखिदिन्थे । तर आज जसले किनेर खान्छ त्यो व्यतिmलाई धनी मानिन्छ ।

अहिले गाउँमा खान लाउनको दुःख कम भयो । पहिले पसलहरु धेरै टाढा हुन्थे । एउटा कपडालाई वर्षौसम्म सुरक्षित तरिकाले लगाउनु पथ्यो । नुन, तेल र अन्य खाध्यान्न लामो समयसम्म पुग्ने गरी अडकल गरेर खानु पथ्र्यो । अहिले घर–घरमा पसल खुलेकाले सहज भएको छ । अहिले जिल्लाको बस्ती बस्तीमा सडक पुगेकाले गाउँसम्म स–साना पसलहरु संचालनमा आएका छन् । अहिले स्थानीयको दैनिकीलाई सहज बनेको छ । स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । पहिले बागलुङ बजार, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिए । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराई तथा सहरमा ह्वात्तै बसाइँसराइ गर्न थाले । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ । तर पनि बजारमा व्यापार कम भएको छ ।

बागलुङमा पोखराबाट चिनको सहयोगमा बाटोको निर्माण भयो । त्यसपछि २०४९÷५० सालमा सामानहरु लिएर गाडी यहाँ आउन थाले । सामान सस्तो पाउन थाले पछि सवैलाई राहत भयो । त्यसभन्दा पहिले स्याङ्गजाको नागडाँडाबाट र पुतलीखेतबाट घोडा र खच्चडले सामान बोकेर ल्याउथे भने नुन तेल ल्याउनको लागि मानिसहरु आफै जान्थे । गाडिको आगमनसँगै यहाँको चहल पहल र व्यापार एक्कासी वृद्धि भयो । पुराना व्यापारीहरुले सवैले शुरुमै कमाउने मौका पाएभने नयाँले पनि व्यापारमा थोरैले मात्र हात हालेको हुँदा कमाउने मौका पाए । सवैले कमाएको देखेपछि अरु नयाँ व्यापारीहरु पनि गाउँबाट थपिदै गए । चहलपहल बढेपछि र मानिसको आवादी पनि बढेपछि जग्गाको मुल्यपनि दिन दुगुना र रात चौगुना भन्ने उखान जस्तै एक्कासी बढ्न थाल्यो ।

त्यसभन्दा पहिले यहाँका स्थानियहरुले बजारको जग्गा विक्रि गरेर नजिकैको गाउँमा खेत किन्ने गर्दथे । यो क्रम २०४५ सालसम्म थियोभने पोखराबाट बागलुङ गाडि आउने कुरा चलेपछि मात्र रोकिएको थियो । भविश्य कसैले पनि देख्दैन भने जस्तो मालढुङ्गाबाट पहरो फोरेर बजारमा गाडि ल्याउदा बजार नैे पहिरो जान्छ र खेत पनि सवै मासिन्छ भनेर त्यस समयमा व्यापक रुपमा विरोध भएको थियो । जेनतेन गाडी ल्याएपछि त्यसको सवैले फाइदा लिए । त्यसपछि लगातार व्यापार चलिरहयो । २०५२ सालमा शुरु भएको माओवादी शसस्त्र विद्रोहले गर्दा बजारमा बस्नेहरु ओइरिन लागेभने अन्यत्र जस्तो २÷३ वर्षपछि गाडि अगाडि पनि बढेन । त्यसले गर्दापनि संकटकालमा समेत यहाँको व्यापार बढी नै रह्यो । संकटकालमा समेत सवैले कमाउने अवसर पाए । २०६३ सालमा माओवादी विद्रोही र ७ दलको मिलनमा दिल्लीमा १२ बुँदै सम्झौता भएपछि सवै नेपालीमा शान्तिले बाँच्न पाईने र प्रजातन्त्रको पनि उपभोग गर्न पाइने नयाँ आशा पलायो । सवैजना आन्दोलनमा होमिए र अन्ततः संकटकाल पनि हट्यो । माओवादीहरु पनि खुल्ला राजनीतिमा आए र २०६३ मंसिरमा शान्ति सम्झौता भयो ।

नेपालमा संघीयताको स्थापना पछि स्थानीय तहको गठन भएपछि गाउँ–गाउँमा स–साना बजार विस्तार भइरहेकाले यहाँको व्यापारमा कमि भएको बताइन्छ । विश्वव्यापीकरण, गाउँमा बजारिकरण ,यातायातको विस्तार पछि पहिले बागलुङ बजारमा पाइने सबै सामान थोक तथा खुद्रामा अहिले गाउँमा पाइन थालेपछि बजारको व्यापारमा कमि आएको पाइन्छ । गाउँमै आवश्यक सामान पाइने थालेपछि ग्राहकहरु बजारमा आउन छोडेको पाइन्छ ।

अहिले बागलुङमा खास गरी दुई मुख्य नाकाबाट सामान भित्रिने गरेको देखिन्छ । एउटा मालढुङ्गा नाका हो भने अर्को हाँडीखोला नाका रहेको छ । मालढुङ्गा नाकाबाट भित्रिने अधिकांश सामान विरगञ्ज, काठमाडौ, भैरहवा, सुनौली र पोखराबाट आउँछ भने हाँडीखोला नाकाबाट भने बुटवल र सुनौलीबाट सामान भित्रिने गर्दछ । मालढुङ्गादेखि भित्रिने सामान पूर्वी बागलुङमा खपत हुने गर्दछ भने हाँडीखोलाबाट भित्रिने पश्मिच बागलुङ र पूर्वी रुकुममा विभिन्न स्थानमा बढी खपत हुने गरेको छ ।

अहिले गाउँबाट समान किनमेलका लागि मानिस बजार झर्न छोडेपछि बागलुङ बजारमा व्यापार निकै कम भएको हो भन्ने तर्क रहेको छ । गाउँ–गाउँमा मोटरबाटो पुगेपछि बजारमा घट्न थालेको, कोरोना संक्रमणकालपछि झन् बजारको व्यापार सुस्ताएको, यहाँका दुईवटा सहकारीको ठगी, अनलाईन व्यापार, महङ्गी आदि यसका कारणहरु रहेका छन । ती मध्ये पछिल्लो समय आर्थिक मन्दिका कारणले गर्दा व्यापार निकै कम भएको व्यापारीको गुनासो छ । पछिल्लो एक वर्ष यता व्यापार पचास प्रतिशतले कमि भएको उनीहरुको भनाइ छ । व्यापार घट्दै गएपछि बागलुङ बजारमा धमाधम व्यापारीले पसल बन्द गर्न थालेको पाइन्छ ।

कोभिड–१९ ले सुस्ताएको व्यापारमा थप झडका दिने काम आर्थिक मन्दिले गरेको छ । यस कारण व्यापारी झन समस्यामा परेको पाइन्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज, महङ्गो भाडाका कारण व्यापारी पलायन हुने अवस्था आएको पाइन्छ । बागलुङ बजारको पछिल्लो छ महिनाको विश्लेषण गर्दा सटरहरु एकपछि अर्को बन्द गरिदै आएको पसल बन्द भएको देखिन्छ । केही समय अगाडि बागलुङ बजारमा सञ्ंचालित शिव शिखर बहुउद्देश्यीय सहकारी र इमेज सहकारीका संञ्चालकले यहाका व्यापारी तथा सर्वसाधारणको करोडौँ रकम हिनामिना गरे फरार भएपछि आर्थिक चलयमान हुन नसकेको कारण व्यापार व्यवसायमा थप समस्या सिर्जना भएको छ ।

अहिले चाडवर्पको समयमा समेत बजार सुनसान बनेको छ । पहिला–पहिले यस्तो कहिल्यै हुँदैनथ्यो, यो समय निकै चहलपहल हुन्थ्यो, अहिले व्यापारीलाई सामान खरिद गर्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले महिनौँ अगाडि ल्याएर गोदाममा राखेको सामान यतिकै थन्किएका छन । यहँका बुढापाकाको कथन रहेको छ । यसैगरी “व्यापारीलाई पहिले ल्याएर राखेका सामान कटाउनै मुस्किल छ, नयाँ सामान ल्याएर विक्री गर्न सक्ने अवस्था छैन, गाउँपालिका÷नगरपालिका आएपछि घटेको व्यापार अहिले निकै कम भएको छ ।” यसैगरी बागलुङ बजारका पुराना व्यापारीहरुले पछिल्लो समय व्यापार सुस्ताउँदा दैनिकी चलाउन गाह्रो भएको बताउनु हुन्छ । संघीयताको प्रभावले गर्दा ६ वर्ष अगाडि बागलुङ बजारको व्यापार ५० प्रतिशतले घटेको, कोभिडपछि थप ३० प्रतिशत व्यापार कम भएको पाइन्छ । पहिले बागलुङ बजार जिल्ला सदरमुकाम र साविक धौलागिरी अञ्चलको केन्द्र भएको व्यापार अहिले सुस्ताएको छ । अहिले गाउँगाउँसँग व्यापार बाडिएको कारण यो समस्या परेको छ ।

तीस वर्ष अगाडिको तुलनामा अहिले बागलुङ बजारको व्यापार करिव ८० प्रतिशतले कम भएको छ । व्यापार कम हुनुमा पहिलो संघीयताको प्रभाव, त्यसपछि गाउँ–गाउँमा मोटरबाटो पुग्नु, कोरोना र अहिलेको आर्थिक मन्दि मुख्य कारणहरु हुन । अहिले पसल कुरेर वस्नेमात्र हो, सामान विक्री हुँदैन, दिनभरी पसलमा बस्यो, अरु काम गर्नु पनि छैन । अर्को तर्फ बजार क्षेत्रको व्यापार कम भएपनि ग्रामीण क्षेत्रमा व्यापार बढ्दै गएको पाइन्छ । एक दशक अगाडिसम्म सुनसान गाउँमा अहिले व्यापारिक चहलपहल बढ्दै गएको छ । पहिले किनमेलाका लागि घण्टौँ लगाएर बजार आइपुग्ने र घोडा खच्चडमार्फत सामान ढुवानी गरेर बेच्ने गरेकोमा अहिले घरै अगाडि सडक आएको हुँदा सहज भएको छ ।

अहिले गाउँमा विस्तारै विकासले गति लिँदै गए पनि गाउँ छाड्नेहरू रोकिन सकेका छैनन् । विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थालेपछि गाउँ रित्तिँदै छन् । पहिले सुविधा नहुँदा स्थानीय बाध्यताले बजार झर्ने गरेकोमा अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने संस्कृति बन्दै मौलाएको छ ।

गाउँमा युवा भेट्टाउनै मुस्किल छ । गाउँका घरहरु जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्ने कोही छैनन । विदेशमा राम्रो कमाइ हुने हुँदा १० कक्षा पास गरेका युवाहरू विदेशिने र विदेशबाट फर्किएर बसाइँसराइ गर्ने गर्ने गरेका छन । स्थानीय सरकारले गाउँमा गुणस्तरीय सेवा नपु¥याएसम्म बसाइँसराइ रोकिने अबस्था छैन । पछिल्लो केही वर्षयता गाउँ छाड्नेको सख्या दोब्बर÷तेब्बरले बढेको छ । बसाइँसराइले गाउँ रित्तिने र उत्पादनमा कमी आउने, परनिर्भरता बढने गरेको छ । गाउँ खाली भइसक्यो, धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिए, देशमा युवा बस्न रुचाउदैनन । घर सबै करिव बृद्धाश्रम बनेकाले अहिले रमाइलो छैनन, उराठिलो बनेको छन ।

अब पञ्चकोटको विकास, झोलुङे पुल, कालिका मन्दिर, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ, अस्पताल, धौलागिरि प्राविधिक प्रतिष्ठान लगायतका संस्थालाई सवल र सक्षम बनाउन सकेमा स्थानिय उत्पादनलाई जोडदिन र बजारीकरण गर्न सकेमा स्थानीयहरुसँग आत्मीय रुपमा साथ लिएर यहाँको व्यापार र विकास फाइदा उठाउन सकिन्छ । यदि यस समस्याको समाधान गर्न नसकेमा कुनै समयमा देह त्यागका थप घटना नहोलान्, भाडामा बस्नेहरु पनि विस्तारै अन्यत्र नजालान्, निरन्तर रुपमा पुस्तौं पुस्तासम्म फाइदा लिने स्थानीयहरु र उनीहरुका सन्तान निरास बनेर बिदेश पलायन थप बिकराल नहोला । सन्तानले विदेशमा गएर डलर र पाउण्ड कमाएकोमा गर्व गर्ने दिन थपिदै नजालान भन्न सकिदैन । त्यसैले समयमा समस्याको पहिचान र समाधान गर्न सरोकारवाला निकाय सजग बन्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *