साउदीको सीप, गल्कोटेको कर्म

दिल शिरीष
बागलुङ

गलकोट नगरपालिका ११ रिघाका ५४ बर्षिय जितबहादुर राना । जसले जिवनको उर्जाशिल उमेरको झण्डै आधा बैंश साउदीको चर्को घाममा बिताए । अरु मध्यम परिवारका नेपाली जस्तै पारिवारिक खर्च जोहो गर्ने सपनाले परदेश भासिएका उनी साउदी अरबमा १७ बर्ष काम गरे । यतिका बर्ष नेपालकै सरकारी या कुनै संस्थानमा जागिर गरेको भए पेन्शन आउने समय भएको राना सम्झन्छन् र अलिकति पछुतोको लबजमा बोल्छन् । साउदीमा उनले गाउँघरमा जस्तै खेतबारीमा रोपाई, बालीनालीको काटछाट, रेखदेख र उत्पादित सामग्री प्याकिङको काम गरे । ‘धन कमाउनु पर्ने बाध्यता, रहर र सपनाले साउदी त गए, तर न सोचे जस्तै काम थियो, न पैसा थियो ।,’ रानाले बैदेशिक अनुभव साटे,‘यहाँबाट पैसाको रुखै होला जस्तो सोचिन्थ्यो, परिवारले त्यस्तै सोँच्थे, त्यहाँको दुःख व्यथा, मालिकको बचन सुनाउनै नसकिने हुन्थ्यो ।’ घरमा मन लाग्दा काम गर्ने र नलाग्दा नगर्ने गरेका रानाले बिदेशमा लगातार १० घण्टा चुपचाप काम गर्नु नियमित कर्म थियो । मासिक जम्मा ४ सय रियल (नेपाली रु.२८ हजार)बाट साउदीमा काम शुरु गरेका उनले झण्डै दुई दशकको अवधिमा पारिवारिक खर्च जोहो बाहेक अरु केही गर्न नसकेको दुखेसो सुनाए । लगातार घण्टौ काम, थोरै दाम र मालिकको कठोर बचनले आँफ्नै गाउँघरमा केही गर्ने गरी फर्कन बाध्य बनाएको उनी बताउँछन् ।

तस्विरः गनपा ११ मा रहेको मिलिजुली कृषि फर्ममा काम गर्दै ५४ बर्षिय जितबहादुर राना ।

८ बर्ष अघि उनी गाउँ फिर्दा उही पुरानो परम्परागत खेति प्रणाली थियो । दुःख धेरै, आम्दानी कम । तर, बिदेशमा पाएको दुःख सम्झेर उनले आँफ्नै गाउँमा परिवारसँग काम गरेर खान पाउने सन्तोष भिन्न हुने ठाने । तर उनी सँग शेयर लगानी गर्ने पैसा थिएन । रानाले आँफ्नो समस्या सुनाए पछि फर्म सञ्चालन गर्न तयार युवाले शेयरमा पनि ५० प्रतिशत छुट दिने र बाँकी तलब लगायतबाट मिलाउने गरी प्रस्ताव गरे । यस्तो प्रस्ताव र अनुरोधमा फर्ममा सँगै काम गर्न राजी भए । यस्तो सोच र योजना बन्नुमा साउदीमै बर्षौ बिताएका गाउँले दमाली रामप्रसाद पुनको बिशेष भुमिका छ । स्वदेशमै केही गर्ने योजना बुनेका पुनले गाउँमा कृषि उद्यम त गर्ने र त्यस क्षेत्रमा काम गरिरहेका जितबहादुरको साथ बिना दिगो नहुने निष्कर्षमा पुगे । र परदेश बिर्सिएर शुरु गरे उनीहरुकै शव्दमा गाउँमै ‘आधुनिक कृषि क्रान्तिको यात्रा’ । फर्मको नाम राखियो ‘मिलीजुली कृषि फर्म’ । मिलीजुलीमा उनीहरुलाई साथ दिने अरु पाँच युवा पनि सामेल भए । गलकोट नगरपालिका ११ मा १२ रोपनी जग्गा बार्षिक २५ हजार रुपैयाँमा भाँडामा लिएर काम शुरु गरेको राना सम्झिन्छन् । ‘उत्साही भएर काम शुरु त ग¥यौ, तर पार्टनरसिप लामो समय टिकेन,’ उनले तितो अनुभव भन्दै सुनाए, ‘लगानी गरेको केही समयमै प्रतिफल त सम्भव थिएन, त्यसपछि सामुहिक लगानी गरेका मध्ये चार जनाले शेयर फिर्ता मागे, अहिले तिन जनाले मात्र फर्म चलाइरहेका छौ ।’ अहिले फर्ममा जितबहादुर सहित रामप्रसाद पुन र शेरबहादुर श्रीस छन् ।

अहिले बडिगाड गाउँपालिकाको वडा नम्बर २ खरबाङमा समेत बार्षिक २० हजार भाँडा तिर्ने गरी ६ रोपनी जग्गा भाँडामा लिएर फर्म बिस्तार गरिएको छ । अहिले दुई फर्ममा ५० लाख भन्दा बढी लगानी पुगेको उनीहरु बताउँछन् । जसमा नेपाल सरकारको प्याक्ट परियोजना मार्फत १० लाख सहयोग छ । बाँकी उनीहरु आँफैले लगानी गरेका छन् । फर्मको दैनिक काम राना र उनको परिवारले गर्छन् । स्थानीय तिन जनालाई रोजगार समेत दिइएको छ । फर्ममा गोलभेडा, घिरौला, काक्रा लगायतका तरकारीको व्यवसायिक उत्पादन हुन्छ । ‘उत्पादित कृषि उपजका लागी मध्यपहाडी लोकमार्ग छेउमा भएकाले बागलुङ, गुल्मी र बुटवलमा राम्रो बजार छ,’ उनले थपे, ‘जति धेरै उत्पादन गरे पनि हामीलाई बजारको समस्या छैन, बढी जनशक्ति र रोगव्याधीको समस्या छ ।’ शुरुका पाँच बर्ष स्टुबिया र एलोभेरा खेति गरे पनि बजार नपाए पछि खेति गर्न छोडेको रानाको भनाई छ । रानाले फर्मबाट उत्पादन लागत खर्च कटाएर बार्षिक ५ देखी ७ लाख रुपैयाँ सबै आम्दानी हुने गरेको बताए । ‘कहिले सोँचे भन्दा बढी पनि आम्दानी हुन्छ,’ उनले भने,‘सिजन, बजार मुल्य मिलेन भने घाटा बेहोर्ने अवस्था पनि आउँछ ।’ व्यवसाय गर्नेले यि दुवै बिषयमा आँफुलाई सामना गर्न तयार राख्नुपर्ने उनले बताए ।

‘साउदीको १७ बर्षले सकस र सुर्ता बाहेक केही दिएन,’ राना बिगतबाट बर्तमानमा फर्किन्छन्, ‘स्वदेशका ८ बर्ष आनन्द र सन्तुष्टिमा बिताए, यो मेरो जीवनकै सबै भन्दा महत्वपूर्ण पक्ष हो ।’ आँफ्नै गाउँ ठाउँमा घर परिवारसँग बसेर जीवन व्यतित गर्नु जस्तो आनन्द अरु नहुने रानाको अनुभव छ । आँफ्नै गाउँमा लगानी गरेर काम गर्दा कसैको गुलाम गर्न नपर्ने उनी बताउँछन् । ‘ थोरै कमाई भए पनि अर्काको नोकरी गर्नु भन्दा यसमै आनन्द मानेको छु’, उनले थपे, ‘ अरु युवाहरुलाई पनि सके सम्म आँफ्नो सुन फल्ने उर्वर माटो छोडेर दुःख बेसाउन बिदेश नजान भन्ने गरेको छु ।’ १७ बर्ष पैसाको पछि लाग्दा जीवन र परिवारको खुशी, आनन्द, असली अभिभावकत्व सबै बिर्सिएको उनी बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *