जीतको अहंकार त्यागेर काम गर्न एमाले अध्यक्ष ओलीको निर्देशन

आदर्श अनलाइन, पोखरा

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जितेको अहंकार त्यागेर पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न पार्टीको गण्डकी प्रदेश कमिटिलाई निर्देशन दिनु भएको छ ।

आफुले सकेसम्म सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धाका लागि दिएको सुझाव विपरित गण्डकी प्रदेशमा प्यानल बनाएरै निर्वाचन भएको प्रति पनि अध्यक्ष ओलीले असन्तुष्टी व्यक्त गर्नु भयो ।

नवनिर्वाचित गण्डकी प्रदेश कमिटिले सोमबार पोखरामा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य प्रदेशमा भन्दा गण्डकी प्रदेशमा जितको उन्माद देखिएको भन्दै जितको अहंकार त्यागेर काम गर्न निर्देशन दिनु भएको हो ।

एमालेले भर्खरै सबै प्रदेशका अधिवेशन सम्पन्न गरेको छ । प्रदेश अधिवेशन अन्तरगत अन्य प्रदेशमा उन्तत खालको लोकतान्त्रिक अभ्यास भयो, तर गण्डकी प्रदेशमा त्यो अनुरुप हुन सकेन, अध्यक्ष ओलीले भन्नुभयो,–गण्डकी प्रदेश अधिवेशनका बारेमा केही गुनासाहरु छन् । त्यसलाई चिरेर नवनिर्वाचित कमिटिले काम गर्न सक्नु पर्छ ।

एमालेको प्रदेश अधिवेशनको नजिता सार्वजनिक भएपछि पार्टीका जिम्मेवार नेताहरुबाट क्लिन स्वीप गरियो भन्दै स्टाटस सार्वजनिक भएका थिए ।पार्टीको आन्तरिक निर्वाचनमा क्लिन स्वीप गरिएको चर्चाप्रति इंगित गर्दै अध्यक्ष ओलीले अहंकार त्याग्न निर्देशन दिनु भएको हो । पार्टी अध्यक्ष ओलीले आन्तरिक निर्वाचनलाई लिएर अहंकार पाल्ने, घमण्ड देखाउने काम त्यागेर एकता, एकता र एकताको भावनाका साथ अगाडि बढ्न नवनिर्वाचित नेतृत्वलाई निर्देशन दिनुभयो ।

आगामी दिनमा पार्टीका नेताहरुमा घमण्ड हुने छैन भन्दै दिमागमा घमण्ड पस्यो भने अरु केही पस्न नपाउने ओलीको भनाइ थियो । जसको दिमागमा घमण्ड पस्छ, उसमा शालिनता, ज्ञान, मानवता केही पस्न नसक्ने भन्दै ओलीले घमण्डी मान्छेको पतन त्यहीबाट शुरु हुने बताउनु भयो । उहाँले अहंकारले मित्रताको अन्त्य गर्छ, अहंकारी मान्छे कसैको प्रिय हुन सक्दैन, त्यसको भूमिकाले एकतावद्ध बनाउन दिदैन भन्दै अहंकार त्यागेर पार्टीले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउने गरी काम गर्न प्रदेश नेतृत्वलाई सुझाव दिनुभयो ।

२०७२ को संविधानमा समाजवाद उन्मुख शब्द एमालेको दवावमा राखिएको हो, कांग्रेसलाई समाजवादको कुरा सुन्दा नै १ सय ४ डिग्रीको ज्वरो आउछ, तर उसले समाजवादको नारा लगाउन छोड्दैन भन्दै ओलीले एमालेको सम्पूर्ण शक्तिलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि जुट्न आव्हान गर्नु भयो । समाजवाद भनेको समृद्धि, सुशासन, मानवअधिकार, सबैलाई आधुनिक सुविधा उपलब्ध गराउने, भयरहित वातावरणमा सम्मानित भएर बाँच्न पाउने हो र यसका लागि एमालेले अगुवाई गर्नु पर्ने ओलीको भनाइ छ ।

एमाले सिध्याउन देशी विदेशी सबै शक्ति लागेको तर एमालेका नेता कार्यकर्ता, समर्थक सुभेच्छुक र आम जनताको आडमा एमाले जोगाउन सफल भएको भन्दै ओलीले एमाले जोगाउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । राष्ट्रियता, आर्थिक सामाजिक रुपान्तरण र जनताको सम्मानपूर्वक बाँच्न जनताको अधिकार सुरक्षित गर्नका लागि एमालेले लिएको अडान र लक्ष्यलाई परास्त गर्न यतिबेला एमालेका विरुद्ध भएका विभिन्न खालका षडयन्त्र भइरहेको भन्दै ओली गलत अफवाहका विरुद्ध एकतावद्ध भएर लाग्न आग्रह गर्नु भयो ।

गत असोज १५ देखि १८ गतेसम्म सम्पन्न एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवराज शर्माको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित भएको थियो । कार्यक्रममा एमालेका उपाध्यक्ष राम बहादुर थापा (बादल), उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटि सदस्यहरु खगराज अधिकारी र थममाया थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *