जलाधार संरक्षणमा तीन तहको सहकार्य आवश्यक


आदर्श अनलाइन, बागलुङ

जलाधार संरक्षणमा तीन तहको सहकार्य हुँन आवश्यक रहेको सरोकारवाला निकायहरुले जोड दिएका छन् ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजना, जिल्ला समन्वय समिति बागलुङको समन्वय तथा युएसएआडी जल जंगल परियोजनाको आर्थिक सहयोगमा बागलुङमा आयोजित अन्तरक्रिर्या कार्यक्रमका सरोकारवालाहरुले बजेटको दोहोरोपना आउन नदिन जोड दिएका छन् ।

सरोकारवाला र जनप्रतिनिधिले जथाभावी सडक खन्दा भू तथा जालाधारको अध्ययन गरेर मात्रै सडक निर्माण गर्नुपर्ने बताएका छन् । बस्तीमाथी र बस्ती तलबाट सडक नखन्न सरोकारवालाहरले चासो दिएका थिए ।

तर भू तथा जलाधारको क्षेत्रमा बजेटमा दोहोरोपना आएको र टुक्रे बजेट आएको जनप्रतिनिधिले गुनासो गरेका छन् । अहिले पनि सशर्त लगायतका शिर्षकमा संघ र प्रदेशबाट २ लाख देखि ५० हजार रुपैयाँ सम्मका योजना समेत आउने गरेका छन् । ती योजना संचालनको क्रममा कतिपय स्थानमा दोहोरो पना समेत हुन्छ । काम गर्दापनि प्राथमिकताको आधारमा नभएको गुनासो आइरहन्छ ।

नेताहरुको पहुँचको आधारमा योजना परेको टिकाटिप्पणी र आरोप पनि लाग्ने गरेको छ । ती मध्ये कतिपय योजना अझैपनि सम्पन्न भएका छैनन् । कतिपय योजना हचुवाको भरमा राख्दा सम्पन्न हुन नसकेको स्थानीय तहका जनप्रतिनिधि नै टिप्पणी गर्छन् ।

कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जल, जंगल, जमिन, जनता र जलवायु संरक्षणका योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । पछिल्लो ममय देखिएको जलवायु परिवर्तनको असर न्युनिकरणका योजना पनि चाहिएको उहाँको भनाइ छ ।

“कुन योजना कुन स्थानमा राख्ने भन्ने स्थानीय तहमा समन्वय गर्दा सहज हुन्थ्यो, हचुवाको भरमा आएका योजनाले बिकासमा बाधा पुगेको छ” अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “वातावरण संरक्षण देखि पूर्वाधार निर्माणका योजना बिना सर्भे समेत संचालन भएका छन् ।”

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले त हचुवाका योजना कार्यान्वयनमा प्रश्न उठाएको बताउनुभयो । “जनताको तहबाट आएका योजना सहजै पुरा हुन्छन्, तर अरु थोपरिएका योजना पुरा हुँदैनन्’ गैरेले भन्नुभयो “जनताले अपतन्तव गर्ने योजना बनाउन जरुरी छ ।” भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले आयोजना गरेको जलाधार संरक्षण सम्बन्धी जनप्रतिनिधि र सरोकारवालाको समन्वय कार्यक्रममा उनीहरुले वातावरण मैत्री र दिगो योजनाको आवस्यकता औल्याए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पर्यट, उद्योग, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले पछिल्लो समय बजेट बिनियोजनका तरिका क्षत बिक्षत हुँदा बिकास पनि क्षत बिक्षत भएको बताउनुभयो ।

उहाँले जलाधार बिना हाम्रो अतितत्व संकटमा पर्ने भन्दै स्थानीय तहले जथाभावी डोजर नचलाउन आग्रह गर्नुभयो । उहाँले नेताको हातमा योजना राख्ने अबस्था भएसम्म साना र टुक्रे कार्यक्रम आइरहने बताउदै थापाले वडा तहदेखि योजना छनौट गरेर दिगो बनाउनु पर्ने सुझाव दिनुभयो ।

भुजीखोलाको बाढी, गत बर्षको मनाङ र मुस्ताङको बर्षातपछि भएको क्षति हेर्दा सडककै कारण देखिएको बताउदै उहाँले आगामी बर्ष वातावरण संरक्षणमा काम गर्ने मन्त्रालयको योजना रहेको सुनाउनुभयो ।

बागलुङका सबै पालिकामा कार्यालयले जलाधार क्षेत्रको आधारमा लगानी गरेको छ । उक्त लगानीबाट बाढी पहिरो नियन्त्रण, वातावरण संरक्षण र पानीको उचित सदुपयोग जस्ता का मगर्दै आएको कार्यालय प्रमुख तथा बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले बताउनुभयो । यस्तै युएसएआइडीका प्रतिनिधि सोबित कोइरालाले जल जंगल र जलाधारको संरक्षका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जल र जंगल, वातावरण संरक्षणमा भएका प्रयास, चुनौती र अबसर बारे प्रस्तुतीकरण भएको थियो । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका अधिकृत विवेक तामाङले कार्यक्रममा सहजीकरण समेत गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षता, सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पन्न भएको कार्यक्रममा सहायक प्रजिअ चित्राङगत बरालले सुझाव पेश गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *