म्याग्दीको नवौं जिल्ला सभा सुरु

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको नवौं जिल्ला सभा बिहिबार देखि सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा शुरु भएको सभामा जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा हुदै छ ।

वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले सबै जना जिल्लाको विकास निर्माणमा केन्द्रीत भएर लाग्नु पर्ने बताउनुभयो । आफू सांसद भए देखि अहिलेसम्म आफूले कुनै कार्यालय वा कसैलाई पनि नराम्रो बोली नबोलेको बताउँदै बजेट, नीति र योजना कार्यान्वयन गर्नका लागि कर्मचारी पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले संघीयता अभिशाप नभई बरदान भएको भन्दै दुर्गम तथा पछाडि परेका जिल्लाहरुको विकास निर्माणमा संघीयताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । नेपालमा संघीयताको मोडेल खासगरी प्रदेश तह भएकाले यसलाई सम्बन्धित सबै पक्षबाट पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । म्याग्दीको विकास निर्माणका लागि आफूले प्रदेशमा रहेर सक्दो पहल गरेको उहाँको भनाइ छ ।

संविधानसभा सदस्य गोविन्द पौडेलले तत्कालीन समयमा जनप्रतिनिधिविहिनको अवस्थामा म्याग्दीले सर्वदलीय संयन्त्र निर्माण गरी जिल्लाको विकास निर्माणमा पहल गरिएको र म्याग्दीको सिको केन्द्रसहित देशभर पुगेको स्मरण गर्नुभयो । जिल्ला समन्वय समिति म्याग्दीका पूर्व प्रमुख देवेन्द्रबहादुर केसीले संविधानमा व्यवस्था भएअनुसार जिल्ला समन्वय समितिको गठन भई कामकारवाही अगाडि बढेको अवस्थामा जिल्ला समन्वय समितिका लागि आवश्यक बाँकी ऐन, कानुनहरु बन्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष शेरबहादुर केसीले जिल्लाको विकास निर्माणमा सबै दलहरु एक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमको उद्घाटनसत्र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता, उपप्रमुख डिलकुमारी खत्रीको स्वागत र जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । नवौं जिल्ला सभाको उद्घाटनसत्रपछि जिल्लास्थित संघ, प्रदेशका विषयगत कार्यालय र स्थानीय तहबाट सम्पादित एवं सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुको प्रस्तुतीकरण भैरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *