पर्यटनमा समृद्ध खोज्दै तमानखोला

डम्मर बुढा मगर, बागलुङ
कतै अग्ला पहाड, कतै होँचा खोँच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रुपमा अलि अप्ठ्यारो तर निकै मनोरम छ । डाँडाकाँडाले घेरिएका बस्ती । पहाडको शिरसम्म ताल तलैया र हिमालको काखमा रहेका बस्तीले पर्यटकलाई पर्खी रहेको छन् । थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि हालसम्म प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमै थिए । तमानखोला गाउँपालिकाले पछिल्लो समय पर्यटन संभावना बोकेका क्षेत्रको विकासमा जुटेको छ । गाउँपालिकाले एक हजारदेखि चार हजार दुई समय मिटरको उचाईसम्म रहेका पर्यटकीय क्षेत्रको विकास गर्न थालेको छ ।

पालिका भित्र रहेकासंभावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्नका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । तमानखोलाले उत्तरमा म्याग्दी जिल्लासँग जोडिएको सोलेडाँडा, दक्षिणमा ढोरपाटनसँग जोडिएको जिल्लाकै सुन्दर बराह ताल, तमान गाउँ, ढोमइथान मन्दिर, सांस्कृतिक पहिचानको रुपमा रहेको सोरठी नाँचको संरक्षणमा गाउँपालिकाले लगानी गरेको छ । नौडल्लेको पहाडलाई समेत प्रचार प्रसार गर्न थालेको छ । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि नजिक रहेको तमानखोलाले पर्यटन सम्बन्धी संरचना निर्माण गरेर पर्यटक भित्राउन गाह्रो छैन । पछिल्लो समय प्रचारप्रसार र भौतिक संरचना निर्माण भएपछि पर्यटकको आगमनसमेत बढि रहेको छ ।

गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्नका र प्रचारप्रसारलाई तीव्रता दिनका लागि समय–समयमा पर्यटन बहससमेत गर्दै आएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पहिलेको तुलनामा अहिले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा पर्यटक बढ्दै गएको बताउनुभयो । आफू निर्वाचित भएर आएर आएदेखि नै पर्यटन विकासमा काम गरि रहेको उहाँको भनाइ छ । पालिकाको सबैभन्दा चर्चित सोलेडाँडामा शहिद स्मृति पार्क, पाहुनाघर, कोसेलीघर, जडीबुटी पार्क, पिकनिक स्पोट निर्माण, खानेपानी, सार्वजनिक शौचालयको व्यवस्थापन गरि सकेको अध्यक्ष बुढा मगरले बताउनुभयो । तमानखोलाका गाउँ गाउँमा पदमार्ग, तमान गाउँको घरहरु एकै प्रकृतिको रंग लगाउने योजनासमेत रहेको भन्दै बराह तालमा करिब करोड हाराहारीमा संचरना निर्माण गरेको उहाँको भनाइ छ ।

“हामी निर्वाचित भएर आएपछि पहिलो कार्यकालदेखि नै पर्यटन क्षेत्रमा लगानी गर्दै आएका छौँ, तमानखोलामा एउटा पर्यटनको जग बसाल्ने काम भएको छ, अब सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा जोड दिएका छौँ” अध्यक्ष बुढा मगरले भन्नुभयो – “यो पालिकाले पर्यटन विकासमार्फत समृद्ध हाँसिल गर्न सक्छ भन्ने हिसाबले काम गरि रहेका छौँ, पहिलेको तुलनामा अहिले धेरै पर्यटक आएका छन्, सोलेडाँडा होस् या बराह ताल, हरेक महिना घुम्न आउने पर्यटक बढि रहेको हामीहरुले महशुस गरेका छौँ, अझै थप लगानी गर्दै जाने तयारीमा छौँ ।”

तमानखोला गाउँपालिका–२ का स्थानीय ओम पुन स्थानीय सरकार आएपछि यहाँको पर्यटन क्षेत्रमा धेरै सुधार आएको बताउनुभयो । गाउँपालिकाले हरेक वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधर निर्माण गर्दै आएपछि पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाइ छ । अघिल्लो वर्षसम्म बराह तालमा सडक नपुग्दा कम पर्यटक आएको भन्दै यस वर्ष एकै दिन हजारौँ पर्यटकले बराह मन्दिरको दर्शन र तालको अवलोकन गरेको उहाँ बताउनुहुन्छ । भौगोलिक विकटताका कारण पछाडि भए पनि गाउँपालिकाले विकासका लागि प्रयास भने गरि रहेको पुनको भनाइ छ ।

उहाँले भन्नुभयो – “वडा नम्बर २ मा बराह ताल पर्छ, म पनि यही ताल भएकै ठाउँको बासिन्दा भएको हुँदा पहिले भन्दा अहिले निकै धेरै पर्यटक आएको पाएका छौँ, अन्य ठाउँमा पनि बेला–बेलामा पर्यटक घुम्न आएको देखिन्छ, तर पहिले घुम्न आउने मान्छे निकै न्यून थिए, अब गाउँपालिकाले पर्यटकलाई लक्षित गरि घरबास (होम–स्टे) बनाउनु पर्छ भने सडक र अन्य पूर्वधार निर्माण जोड दिनु पर्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *