आजीवन राजनीतिक लालसा

सम्पादकीय
नेपाली राजनीति लामो समयदेखि विसंगतिले गाँजेको छ । राज्य शक्ति, सत्ता आफ्नो पहुँच या कब्जामा पार्न हर अस्त्र प्रयोग गर्ने र जस्तै अस्वभाविक हर्कत गर्न र गिर्न पनि तयार हुने नेपाली राजनीतिको परम्परा जस्तो बनिरहेको छ । राजनीतिमा या नेता, कार्यकर्तामा हिजो जे जस्ता खराब बिकृति, प्रवृत्ति व्याप्त थियो, त्यो आज पनि बिभिन्न स्वरुप र शैलीमा देखिन थालेका छन् । लामो राजनीतिक संघर्ष, अभियान र आन्दोलनबाट ऐतिहासिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत व्यवस्था त नेपाल र नेपालीले प्राप्त गरेका छन् । तर, व्यवस्था परिवर्तनको असली अनुभूतिबाट भने नागरिक बञ्चित छन् । नयाँ संघीय अभ्यास अनुरुप पहिलो पटक केपी ओली नेतृत्वको सरकार बन्दा अब देशको अस्थिर राजनीतिमा मात्रै सुध्रिने होइन, मुलुकले पनि कायापलटको दिशामा अघि बढ्ने अपेक्षा व्यापक थियो । दुर्भाग्य यो अपेक्षा र बाटोबाट ओली नेतृत्वको सरकार ढल्दै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्दा उही पुरानै बाटोमा नेपाली राजनीति पुगेको छ ।

राजनीतिक या राज्य सत्ता हातमा ल्याउने होडबाजी या प्रतिस्पर्धा हुनु या नेताहरुले चाह राख्नु स्वभाविक कुरा हो । तर, नेपाली राजनीतिमा मूल्य मान्यता भन्ने चिज गुमनाम भएको प्रतित हुन थालेको छ । आफ्नो स्वार्थ अनुकुल भए बिधि विपरित भए पनि सही र स्वार्थ या हीत विपरित भए सही भए पनि गलत भन्ने र बिरोध गर्ने प्रवृत्ति सामान्य नेता, कार्यकर्ता र नागरिकमा होइन, मूल नेतृत्वमै देखिएको छ । यो समस्या कुनै एक पार्टीमा मात्र सीमित छैन । आजको अवस्था हेर्ने हो भने मुलुकको सबै भन्दा ठूलो पार्टी बनेको नेकपा एमाले केपी शर्मा ओली आफ्नै हठमा चल्दा सत्ताबाट बर्हिगमन मात्र हुनुपरेन, सिंगो पार्टी नै विभाजित भयो । कांग्रेस सभापति शेरबहादुर देउवा पनि महाधिवेशनको संघारमा उस्तै जटिलता र अप्ठ्यारोमा छन् । माओवादी अध्यक्ष प्रचण्ड पनि पटक पटकको पार्टी बिभाजन झेल्दैछन् । संघीय समाजवादीले पनि ताजा विभाजनको तितो अनुभव सँगालेको छ भने राजनीतिमा पृथक देखिने गरेको राष्ट्रिय जनमोर्चा पनि यसपटक संसदीय राजनीतिमा पुरै प्रदुषित भएको छ । र पार्टीगत हिसाबमा पनि दुई लाइन संघर्षले विभाजनको बाटोमा देखिन्छ ।

राजनीतिमा कुनै नेताले आफु राज्य सत्ता होस् या पार्टी सत्ता । त्यहाँ पुग्छु र केही गर्छु भन्ने नयाँ र नौलो कुरा भएन । यो स्वभाविक अपेक्षा नै हो । तर, एक पटक मात्र होइन, पटक पटक राज्य सत्ता र पार्टी सत्ताको नेतृत्व गरिसक्दा पनि आजीवन बाचुञ्जेल नेतृत्वमै रहनुपर्छ भन्ने आशक्तिले नेपाली राजनीति आक्रान्त छ । जसका कारण पनि देशले गति लिन सकेको छैन भने राजनीति पनि उही पुरानो ‘फोहोरी खेल’ बाट मुक्त हुन सकेको छैन । यो ‘फोहोरी खेल’लाई सफा बनाउन युवा पुस्ताबाट सार्थक हस्तक्षेप अपरिहार्य छ । तर, दुर्भाग्य नयाँ पुस्ता नै सेताम्य कपाल फुलेका उही बुढ्यौली लागेका नेताहरुको फेरो समातेर जर्बजस्त नेता बनाउन उद्धत हुने प्रवृत्ति व्याप्त छ । उसो त वर्षौ नेतृत्वमा रहिसकेका शीर्ष नेताहरु पनि बेला बेला सक्रिय राजनीति र कार्यकारी भूमिकाबाट विदाई हुने उद्घोष गर्छन् तर छोड्न सक्दैनन् । यो रोगबाट देशलाई मुक्त गरौ । मुल्य मान्यता सहितको नेपाली राजनीति स्थापित गर्न सबैले दृढ संकल्प गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *