स्वेच्छाचारी प्रवृत्तिले प्रदुषित व्यवस्था

सम्पादकीय/ समय गतिशील छ । गतिशील समयसँगै यात्रा नगर्ने या गर्न नसक्नेहरु कैयन पछाडि छोडिसकेका छन् । जसमध्ये नेपाल देश पनि हो । एकै स्तरमा रहेका देशहरुले आफूलाई अभुतपूर्व परिवर्तन गरिसक्दा पनि हामी यथास्थितिबाट धेरै माथि उठ्न सकिरहेका छैनौ । नेपालमा राजनीतिक व्यवस्था चामत्कारिक रुपमा बदलिँदो छ । हिजो जे व्यवस्थालाई सम्पूर्ण कमजोरी, बेथितिको दोष दिएर नयाँ व्यवस्था ल्याइयो । त्यो व्यवस्थामा पनि अभिव्यक्ति स्वतन्त्रता बाहेक अरु विषय र प्रवृत्तिमा उति उल्लेख्य परिवर्तन भइरहेको छैन । हिजोको राजतन्त्रात्मक व्यवस्थाका मनोमानी र स्वेच्छाचारी प्रवृत्ति आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि फेरिएको छैन । बरु समयक्रम अनुसार नयाँ नयाँ अवतारमा बेथितिजन्य प्रवृत्तिहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा देखिइरहेका छन् । जसले सरकारलाई मात्र होइन, सिंगो व्यवस्था र समग्र लोकलाई गिज्याइरहेको छ ।

हिजोको एकतन्त्रीय या राजतन्त्रात्मक शासन व्यवस्थामा जे जस्तो प्रवृत्तिमा भ्रष्टाचार थियो, त्यो आज पनि छ । राणा या राजाले बोले कानुन बन्थ्यो, अहिले नेताहरुले जे चाहे त्यो खराब नै किन नहोस्, त्यो भइरहेकै छ । भ्रष्टाचार, अनियमितता, बेथितिजन्य गतिविधिमा सत्ता सञ्चालक राजनीतिक दल, तिनका नेताहरु खुलेआम रुपमा मैदानमा छन् । जसले सिंगो देशको प्रणाली बलियो बनाउन लाग्नुपर्नेमा क्षणिक स्वार्थ र लाभको हिसाबमा अल्झिँदा प्रणाली भत्काएका छन् । ताजा घटनाक्रमलाई लिने हो भने अर्थमन्त्रीको सीसी क्यामेरा फुटेज प्रकरण, राजीनामा र पुर्नवहालीलाई हेर्न सकिन्छ । बजेट बनाउँदा स्वार्थ समूहको प्रतिनिधिको रुपमा अनधिकृत पात्रलाई प्रवेश गराएको आरोप र आलोचना पछि अर्थमन्त्री रहेका जनार्दन शर्माले राजीनामा दिन बाध्य भए । तर, गठबन्धन सरकारले योजनावद्ध ढंगले छानविन समिति गठन गरेर कर्मकाण्ड पुरा गरी मन्त्री शर्मालाई सुनपानी छर्केको छ । र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले पुनः अर्थमन्त्री नियुक्त भएका छन् । यसले तत्कालका लागि गठबन्धन सरकार, माओवादी र स्वयंम् शर्मालाई त लाभ मिल्ला नै । तर, यसको दीर्घकालीन असर क्रमशः देखिने निश्चित छ । यो नजिर देशका लागि गलपासो बन्ने प्रष्ट छ । बागलुङ जिल्ला तहमै हेर्ने हो भने पनि जनप्रतिनिधि, कर्मचारीको मर्यादाबाट च्युत हुँदै गएको देखिन्छ । जैमिनी वडा नम्बर ९ का अध्यक्ष नै अवैध गर्भ बोकाएर आफ्नो जिम्मेवारी र मर्यादाबाट पतित भएका छन् । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीलाई हाजीर नगराई फर्काइदिएका छन् । एक पालिका अध्यक्षको अधिकार क्षेत्र बाहिरको यो अर्को स्वेच्छाचारी प्रवृत्तिको उदाहरण हो ।

देशको विकास हुन व्यवस्था मात्र बदलेर नहुने रहेछ । यो हाम्रो देशका राजनीतिक दल, तिनका प्रवृत्तिजन्य समस्याले यो पुष्टि गरिसक्यो । अब पनि राजनीतिक दल, तीनका नेताहरुलाई यसैगरी लगाम बिनाको घोडा जस्तो जे मन लाग्यो, त्यही गर्ने मनोमानी प्रवृत्तिमा रम्न दिइराख्ने कि यसको संगठित बिरोध, प्रतिरोध गर्ने सोचनीय विषय बनेको छ । गठबन्धन या बहुमत या जीतका नाममा जे पनि गरे हुन्छ भन्ने अतिवादले नयाँ व्यवस्थाको मजबुत बन्नुपर्ने प्रणाली ध्वस्त बन्दै गएको छ । यसले निष्ठावान राजनीतिकर्मीलाई त धक्का पुगेको छ नै, आम नागरिकलाई आक्रोशित तुल्याएको छ । यो आक्रोशको ज्वाला श्रीलंका लगायतका देशहरुमा पोखिएको स्वरुपमा कुन दिन फैलिन्छ ? त्यो अनुमान गर्न हतारो हुन्छ । तर, यी र यस्तै स्वेच्छाचारी प्रवृत्ति कायमै रहने हो भने नागरिक सदैव मौनता साँधेर बस्ने छैनन् । समयमै चेतना भया ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *