सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न तनहुँ र गोर्खाका सहकारीकर्मीहरुको माग

आदर्श अनलाइन, दमौली

सहकारी क्षेत्रमा लगाइदै आएको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न तनहुँ र गोर्खाका सहकारीका प्रवन्धकहरुले माग गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले आइतवार आयोजना गरेको सहकारीको वर्तमान अवस्था विषयक अन्तरक्रियाका सहधागी सहकारीका प्रवन्धक व्यवस्थापकहरुले सन्दर्भ ब्याज परिवर्तनको माग गरेका हुन ।

मौद्रिक नीतिको व्यवस्था, वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव लगायतको अवस्थालाई मध्यनजर गरेर सन्दर्भ ब्याजदर निर्धारण समितिले हाल विद्यमान ब्याजको व्यवस्था परिवर्तन गर्नु पर्दछ, सहभागीहरुको भनाई छ–सन्दर्भ ब्याजदर परिवर्तन नगर्ने हो भने वित्तीय सहकारी सञ्चालन गर्न निकै अप्ठेरो अवस्था सिर्जना हुनेवाला छ ।

सहभागी सहकारीका प्रवन्धक तथा व्यवस्थापकहरुले सहकारी क्षेत्रमा बढाइएको करको दर घटाउनु पर्ने, पालिकाहरुमा सहकारी सम्बन्धी जानकार कर्मचारीको व्यवस्था गरी सहकारीको प्रवद्र्धनमा सहयोग गर्नु पर्ने, सहकारीमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिसंगै रोजगारीको व्यवस्था दिगो बनाउनेतर्फ पहल गर्नु पर्ने, सहकारीलाई प्रविधिमैत्री बनाउन समन्वय गर्नु पर्ने, सहकारीलाई नीति संगत रुपमा सञ्चालनका लागि सञ्चालकहरुको क्षमता अभिवृद्धिका लागि सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको मर्म र भावना अनुसार सदस्य केन्द्रीत व्यवसायका रुपमा काम गर्न सकेमा जस्तो सुकै समस्या पनि समाधान गर्न सकिने भएकाले सहकारीलाई सदस्यमैत्री बनाउन सुझाव दिनुभयो । उहाँले सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्याक्रममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, जिल्ला कृषि सहकारी संघका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, ब्यास नगरपालिका सहकारी शाखाका प्रमुख राजुहरि पण्डित, सहकारी कर्मचारी क्लव तनहुँका अध्यक्ष बाबुराम मिश्र लगायतले सहकारीमा देखिएका समस्या र समाधानका लागि गर्नु पर्ने कामहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

सहभागीहरुका तर्फबाट सपल वचत तथा ऋण सहकारी संस्थाका राजेन्द्र बगाले, हिमचुली वचत तथा ऋण सहकारी संस्था गोर्खाका प्रवन्धक प्रेम कुमार श्रेष्ठ, मनकामना माई सहकारी आवुखैरेनीका प्रवन्धक नारायण तिमिल्सिना लगायतले सहकारीका समस्याहरुका बारेमा जानकारी गराउनु भएको थियो । उहाँहरुले सहकारीको तरलता व्यवस्थापन, सन्दर्भ ब्याजदर परिमार्जन र करको दायरा घटाउने विषयमा सरोकारवालाहरुको तत्काल ध्यान जानु पर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन र कार्यक्रमको उदेश्यका बारेमा बैंकका शाखा प्रमुख उपेन्द्र दाहालले जानकारी गराउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *